सिड्नीमा आगामी शनिबारदेखि 'पहिलो नेपाल-अष्ट्रेलिया कला र साहित्य महोत्सव' हुने भएको छ।
दुई दिनसम्म चल्ने महोत्सवको पहिलो दिन हर्सभिलस्थित सिभिक थिएटरमा नेपालबाट आएका लेखक तथा पत्रकार नारायण वाग्लेसँगको अन्तक्रिया, कविता- गजल वाचन, गायन, वाद्यवादन र नृत्य समेटिएका छन्। यस्तै महोत्सवको दोस्रो दिन लेखकहरूले साहित्य यात्रा तय गर्नेछन्। उनीहरूले सिड्नीको दक्षिणी तट मध्येको एक कायमामा गएर रचना वाचनसहित महोत्सवको समापन हुने लेखक एवं महोत्सव निर्देशक निष्प्रभ सजीले जानकारी दिए।
निर्देशक सजीका अनुसार महोत्सव केही वर्ष अघिनै गर्ने सोच बने पनि कोरोना महामारीका कारण रोकिएको थियो।
'हरेक वर्ष कला र साहित्यलाई महोत्सवको रूपमा लिएर जाने कुनै समारोह अष्ट्रेलियामा आयोजना हुन नसकेकाले यो कार्यक्रमको परिकल्पना गरिएको हो', उनले भने, 'महोत्सव आउँदा वर्षहरुमा अझै फराकिला र फरक विषयहरुमा बहस गर्ने थलो बन्नेमा हामी आशावादी छौ।'
कार्यक्रमका प्रमुख अतिथि लेखक नारायण वाग्ले सिड्नी आइसकेका छन्।
कार्यक्रम दिउँसो साढे १ बजेबाट बेलुका ५ बजेसम्म हुने निर्देशक सजीले जानकारी दिए।
मण्डला लिगलको मुख्य प्रायोजनमा सम्पन्न हुने महोत्सवलाई इनोभेटिम एसोसिएट्स, हार्बर कलेज, राइट एण्ड एसोसिएट्स र साउदर्न एकेडेमीले प्रायोजन गरेका छन्।