अष्ट्रेलियामा कार्यरत नेपाली मूलका पत्रकारको संस्था अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एशोसिएसन (एन्जा) ले आगामी मे ५ मा विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर स्थानीय समूदायसँग अन्तरक्रिया गर्ने भएको छ।
कार्यक्रममा अष्ट्रेलियाको नेपाली समूदायले यहाँका नेपालीमूलका पत्रकारहरुसँग राखेको अपेक्षा, एन्जाको धारणा एवं अहिलेको पत्रकारिताका आयामहरुबारे चर्चा हुन लागेको हो।
कार्यक्रममा अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलसहित साउथवेल्स राज्यमा रही क्रियाशील समूदायका सबै अग्रजलाई निम्ता गरिएको संस्थाका महासचिव नारायण खड्काले जानकारी दिए।
सिड्नीको मेरिल्याण्डस्थित बार्दली फंक्सन सेन्टरमा शुक्रबार साँझ ६ बजेदेखि हुने कार्यक्रमको तयारी तिब्र पारिएको संस्थाका कोषाध्यक्ष खगेन्द्र सत्यालले दिए।
काफ्ले र आचार्यलाई एवार्ड
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमै प्रदान गरिने भनिएको टीका कार्की सक्रिय पत्रकारिता पुरस्कार यस पटक अष्ट्रेलियामा सक्रिय पत्रकारद्वय हेमन्त काफ्ले र ऋषि आचार्यलाई प्रदान गरिने भएको छ।
एक हजार डलर राशीको उक्त पुरस्कार पहिलो पटक एन्जाका पूर्वअध्यक्षहरु हेमन्त काफ्ले र ऋषि आचार्यलाई संयुक्त रुपमा प्रदान गरिन लागेको हो।
अष्ट्रेलियामा रही यहाँको समूदायसँग निकट सम्बन्ध राख्दै पत्रकारिताको लामो अभ्यास गरेका आधारमा उनीहरूलाई सम्मानस्वरूप पुरस्कार दिन लागिएको एन्जाका सचिव सरल गुरूङले जानकारी दिए।
हिमालय रेडियोमा विगत दुई दशकदेखि क्रियाशील पत्रकार टीका कार्कीको स्मृतिमा पुरस्कार स्थापना गरिएको हो। हरेक दुई वर्षमा क्रियाशील पत्रकारलाई अवार्ड र नगदसहित सम्मान गर्ने गरिन्छ ।
वर्षभरि पत्रकारले समूदाय र समाजका लागि क्रियाशील रहने भएकाले कम्तिमा वर्षमा एक दिन समूदायले पत्रकारका लागि समय दिनुपर्ने एन्जा अष्ट्रेलियाका अध्यक्ष चिरञ्जीवी देवकोटाले बताए।
‘विश्व प्रेस स्वतन्त्रता दिवसमा हामीले गर्दै आएको पत्रकारिता कर्म र यसलाई समूदायले कसरी लिएको छ भन्ने एउटा समिक्षात्मक बसाई हुनेछ भन्ने अपेक्षा गरेका छौ’, अध्यक्ष देवकोटाले भने।
अष्ट्रेलियामा रही नेपाली सामूदायिक पत्रकारिता गर्ने २० भन्दा बढी संस्थाहरु छन् भने ५० भन्दा बढी पत्रकारले यी संस्थामा आबद्धता जनाएका छन्।
यस्तै नेपालबाट प्रकाशित पत्रपत्रिका, टेलिभिजन र अनलाईनहरुको अष्ट्रेलिया प्रतिनिधिका रुपमा समेत केही पत्रकार क्रियाशील छन्।