आगामी शनिबार सिड्नीमा राष्ट्रिय उद्यमी सम्मेलन आयोजना हुने भएको छ। प्रवासमा बसेर व्यवासयमा जमेका र व्यवसाय गर्न इच्छुक नवप्रवेशीबीच अन्तर्क्रियात्मक कार्यक्रम आयोजना हुन लागेको हो।
सम्मेलनमा अष्ट्रेलियामा स्थापित व्यवसायी, अष्ट्रेलियाका राजनीतिक दलका नेता, अष्ट्रेलियाको व्यवसायमा जमेका आप्रवासी व्यवसायी, विभिन्न कुटनीतिक निकायका प्रमुखसहित २०० भन्दा बढीको सहभागीता हुनेछ।
कार्यक्रमले व्यवसायमा लगानी गर्न चाहने र नेपालमासमेत लगानी गर्न इच्छुकलाई लगानीको सुरक्षाका बारेमा सुझावसमेत दिनेछ।
यस्तै प्रवासमा बसेर सफल व्यवसायी बनेका उद्यमीलाई यहाँको स्थानीय र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन विभिन्न व्यवसायीबीच सुझाव आदनप्रदान गरिनेछ।
विचार र ज्ञान एक आपसमा सेयर हुनुका साथै लगानीका लागि नेटवर्क बढाउन यो कार्यक्रमले प्रमुख काम गर्ने एनआरएन अष्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेलले जानकारी दिए।
‘हरेक दुई वर्षमा आयोजना हुने यो एनआरएन अष्ट्रेलियाको नियमित कार्यक्रम हो। जसले यसअघिनै स्थापित भइसकेका उद्यमी र नयाँ उद्यमीहरू एउटै स्थानमा भेला हुने, विचार तथा अनुभवहरू आदन प्रदान गर्ने र उनीहरूबीचको नेटवर्किङलाई बढाउने सहयोग गर्छ’, उनले भने।
अस्ट्रेलियामा छरिएर रहेका नेपाली उद्यमी तथा बुद्धिजीवीहरूलाई समेटेर समसामयिक विषयमा व्यवसायको विकास र विस्तारसँगै सिकेको ज्ञान र अनुभवलाई आपसमा साटासाट गर्ने यस सम्मेलनको मूल उद्देश्य रहेको पोखरेलले बताए
कार्यक्रममा अष्ट्रेलियाका विभिन्न राज्यका सफल युवा व्यवसायीको सफलताको कथा प्रस्तुत हुनेछ। ताकि उनीहरूको सफलताबाट नवप्रवेशीले केही ज्ञान पाउनेछन्।
सम्मेलनमा विभिन्न विधाका युवा उद्यमीहरूले सम्भावना र यसको प्रभावका बारेमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
सम्मेलनलाई थोरै तर प्रभावकारी विषयमा छलफल गरेर उपलब्धीमूलक बनाउने अभियानमा जुटेको तयारी समितिका संयोजकसमेत रहेका पोखरेलले बताए।
‘धेरै खाले विषयको छलफल र अनेकन कार्यपत्रले सम्मेलनलाई लामो मात्र होइन यसबाट निक्लने निचोडलाई पनि प्रभावकारी बनाउन सक्दैन, त्यसैले यस पटक थोरै तर महत्वपूर्ण विषय र वक्ताहरूको छनोट गरिएको हो’, पोखरेलले भने।