अष्ट्रेलियाको तास्मानिया आइतबार नेपालमय भएको छ।
पहिलो पटक आयोजना भएको नेपाल महोत्सवमा तास्मानियामा नेपाली राष्ट्रिय झण्डा, राष्ट्रिय पोशाक र बाजागाजा तथा कला संस्कृतिले धपक्कै ढाकिएको थियो।
नेपाली कला र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले गैर आवसीय नेपाली संघ (एनआरएन) ले पहिलो पटक तास्मानियामा नेपाल महोत्सवको आयोजना गरेको हो।
महोत्सवमा तास्मानियामा रहेका नेपालीले आफ्नो मौलिक भेषभुषामा सजिएर परेडमा सहभागी भएका थिए।
होर्वाटको केन्द्रबिन्दु पार्लियामेन्ट्री लन सालामांकामा आयोजना भएको महोत्सवमा नेपाली पहिचान र भेषभुषासहित शहरमा विभिन्न भागबाट झाकीसहितको र्याली निकालिएको थियो।
र्यालीमा मौलिक बाजाका साथ नाचगान गर्दै सहभागीहरु रमाउँदा स्थानीय अष्ट्रेलियन नागरिकले चासोका साथ हेरेका थिए।
नेपाल महोत्सव केवल पर्यटन प्रवर्द्धनका लागि मात्र नभई, नेपाल र अष्ट्रेलियाबीचको आपसी सम्बन्ध, नयाँ पुस्ताका लागि आफ्नो मौलिक पहिचान दिलाउने महत्वपूर्ण अवसरका रूपमा रहेको गैर आवासीय नेपाली संघ तास्मानिया राज्य समितिका संयोजक राकेश शाक्यले बताए।
तास्मानियामा पहिलो पटक आयोजना भएको महोत्सव यस क्षेत्रका नेपालीको ठूलो इभेन्ट भएकाले माहोल उत्साहजनक भएको संयोजक शाक्यले दाबी गरे।
नेपाली समुदायको अगुवालगायत एनआरएनका साथीहरुको मिहिनेत र परिश्रमले पहिलो नेपाल महोत्सव तास्मानियाका लागि अवीष्मरणीय रहेको संयोजक शाक्यले बताए।
यो महोत्सवले लाखौं तास्मानियावासी अस्ट्रेलियनले नेपाल चिन्ने मौका पाएको उनले बताए। ‘यो महोत्सव गर्नुको मुख्य उद्देश्य भनेकोनै नेपाललाई अस्ट्रेलियामा चिनाउनु र नेपाली कला, संस्कृति तथा नेपाली मौलिकपन दोस्रो पुस्ताहरुमा हस्तान्तरण गर्नु हो’, उपसंयोजक जगदीश खड्काले भने।
महोत्सवमा अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलको विशेष उपस्थिति थीयो। बिहानै होबार्टको पर्यटकीय केन्द्र सालामांकामा आयोजित र्यालीमा समेत राजदूत पोखरेलले सहभागिता जनाएका थिए।
महोत्सवमा तास्मानीया राज्य सरकारका मन्त्री तथा राजनीतीक दलका प्रतिनिधिको उपस्थिति थीयो।
पाँच हजार भन्दा बढी नेपालीले महोत्सवमा सहभागिता जनाएका थिए।
कार्यक्रममा नेपालबाट आएको रिदम ब्यान्ड र दिपक बज्राचार्यलगायतका कलाकारले भरपुर मनोरन्जन प्रदान गरेका थिए। महोत्सवको आकर्षकको रूपमा नेपाल हाउस समेत थियो।
हेर्नुहोस् तस्बिरहरू