कोभिडका कारण विगतका वर्षमा स्थगित भएको नेपाल महोत्सव यो वर्ष अस्ट्रेलियाका विभिन्न राज्यमा भब्यताका साथ आयोजना भइरहेका छन्।
यसै क्रममा अष्ट्रेलियाको सिड्नीमा आगामी नोभेम्बर १९ मा नेपाल महोत्सव आयोजना हुँदैछ।
नेपाल महोत्सवलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न सिड्नीवासी, आसपासका नेपाली संघसंस्था र सिंगो समुदाय यतिबेला तिव्र तयारीमा जुटेको छ।
विगत केही वर्षदेखि अष्ट्रेलियालाई कर्मथलो बनाएका बिनोद कुँवर अष्ट्रेलिया आएदेखि नै नेपाली भाषा र संस्कृतिको जर्गेना गर्ने काममा आफ्नो हात अगाडि बढाइरहेका छन्।
गैर आवासीय नेपाली संघ (एनएसडब्लु) अष्ट्रेलियाको सचिवसमेत रहेका कुँवरले ‘नेपाल महोत्सव, सिड्नी-२०२२’ केवल पर्यटन प्रवर्द्धनका लागि मात्र नभई, नेपाल र अष्ट्रेलियाबीचको सम्बन्ध, अष्ट्रेलियामा हुर्किरहेको नयाँ पुस्ताका लागि आफ्नो मौलिक परिचय दिलाउने अवसरका रुपमा रहेको बताउँछन्।
विशेष गरि नेपाल महोत्सव सिड्नीको सबैभन्दा ठूलो इभेन्ट भएकाले माहोल एकदमै उत्साहजनक रहेको कुँवरले बताए।
‘आयोजक टिमका तर्फबाट पनि साथीहरूले सबैसँग हातेमालो गर्दै आ–आफ्नो विधामा काम गरिरहेका छन्। यो हातेमालोमा ब्यवसायिक संस्थाको पनि साथ पाएका छौं’, उनले भने, ‘महोत्सवलाई सफल बनाउन जुन तरिकाले सबै साथीहरू सक्रिय रूपमा लाग्नुभएको छ, यसलाई देख्दा साँच्चै नेपालीहरुको ठूलो पर्व आइरहेको छ जस्तो भइरहेको छ।’
यो महोत्सव गर्नुको मुख्य उद्देश्यनै नेपाललाई अस्ट्रेलियामा चिनाउनु र नेपाली कला, संस्कृति तथा नेपाली मौलिकपन दोस्रो पुस्ताहरुमा हस्तान्तरण गर्नु रहेको उनले स्पष्ट पारे।
नेपालीपनलाई माया गर्नेको सहभागिता अघिल्ला वर्षको तुलनामा यो वर्ष धेरै हुने आयोजकले अपेक्षा गरेको छ।
सचिव कुँवरका अनुसार लकडाउन पछिको पहिलो ठूलो कार्यक्रम र चार वर्षको अन्तरालमा हुने महोत्सवले अस्ट्रेलियाको नेपाली समाजलाई जुरूक्कै पारेको छ।
पेशाले आइटी इन्जिनियर कुँवर यसअघि दर्शकका रूपमा सहभागी हुँदा दंग पर्थे तर हाल आएर आयोजकको रूपमा प्रत्यक्ष जोडिन पाउँदा हर्षित छन्।
‘नेपाल महोत्सवमा यसअघि एउटा दर्शक भएर गइरहँदा यसको लोकप्रियता देखेरै दंग पर्थेँ। तर आज आयोजकका रूपमा प्रत्यक्ष संलग्न हुन पाउँदा राष्ट्रप्रति थप जिम्मेवार भएको महसुस भइरहेको छ, उनले भने, ‘महोत्सवमा स्थानीय अजीहरू आएर आफ्नो देश नेपालको बारेमा अवलोकन गर्ने र अझै नेपालप्रति जान्ने उत्सुकता जनाइरहेको देख्दा अत्यन्तै खुसी लाग्छ।’
‘नेपाल महोत्सव सच्चिक्कै नेपाली कला, संस्कृति झल्किने ठूलो पर्व हो। अरू महोत्सवमा पनि नेपाली कलाकारलाई ल्याएर कार्यक्रम त गरिन्छ तर त्यो एउटा म्युजिक कन्सर्टको रूपमा मात्रै सिमित हुन्छ’, उनले अगाडि भने, ‘नेपालको समग्र प्रतिनिधित्व गराउने, भाषा संस्कृति, पहिरन, खाना अनि धार्मिक महत्वका विषयबस्तुले नेपाल महोत्सवलाई विशेष र अलग बनाएको छ।’
उनले नेपाली कला, संस्कृति जोगाउने सबैभन्दा ठूलो र महत्वपूर्ण इभेन्ट्स भनेको नै नेपाल महोत्सव भएको दाबी गर्दै हाम्रो आफ्नो मौलिक परिचय दिन पाउने उत्सबमा अष्ट्रेलियाबासी नेपालीलाई सहभागिताका लागि आग्रह गरेका छन्।