अष्ट्रेलियाको होर्वाटमा आगामी नोभेम्बर ६ मा नेपाल महोत्सव आयोजना हुने भएको छ।
नेपाल महोत्सवकोलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न एनआरएन तास्मानिया र आसपासमा रहेका नेपाली संघसंस्था र सिंगो समुदाय तीव्र तयारीमा जुटेको छ।
होर्वाटको केन्द्रबिन्दु पार्लियामेन्ट्री लन सालामांकामा आयोजना हुने महोत्सवसँगै नेपाली पहिचान र भेषभुषासहित शहरमा परेडको समेत आयोजनासमेत गरिने भएको छ।
नेपाल महोत्सव केवल पर्यटन प्रवर्द्धनका लागि मात्र नभई, नेपाल र अष्ट्रेलियाबीचको आपसी सम्बन्ध, नयाँ पुस्ताका लागि आफ्नो मौलिक पहिचान दिलाउने महत्वपूर्ण अवसरका रूपमा रहेको गैर आवासीय नेपाली संघ तास्मानिया राज्य समितिका संयोजक राकेश शाक्यले बताए।
विशेष गरी तास्मानियामा पहिलो पटक आयोजना हुने महोत्सव यस क्षेत्रका नेपालीको ठूलो इभेन्ट भएकाले माहोल उत्साहजनक रहेको संयोजक शाक्यले दाबी गरे।
‘आयोजक टिमका तर्फबाट पनि साथीहरूले सबैसँग हातेमालो गर्दै आ–आफ्नो विधामा काम गरिरहेका छन्’, उनले भने, ‘यो हातेमालोमा केबीए ग्लोबल र आरजीआइटी लगायत विभिन्न व्यवसायीक संघ संस्थाको पनि साथ पाएका छौं।’
नेपाली समुदायको अगुवालगायत एनआरएनका साथीहरुको मिहिनेत र परिश्रमले पहिलो नेपाल महोत्सव तास्मानियाका लागि अवीष्मरणीय रहने संयोजक शाक्यले आशा गरे।
‘साच्चै नेपालीको ठूलो पर्व आइरहेको छ जस्तो लागिरहेको छ, जोडतोडका साथ तयारी भइरहेको हुँदा यो महोत्सव भब्य र सभ्य हुनेछ’, एनआरएन तास्मानियाका उपसंयोजक जगदिश खड्काले भने।
यो महोत्सवले लाखौं तास्मानियावासी अस्ट्रेलियनले नेपाल चिन्ने मौका पाउने उनले बताए। ‘यो महोत्सव गर्नुको मुख्य उद्देश्य भनेकोनै नेपाललाई अस्ट्रेलियामा चिनाउनु र नेपाली कला, संस्कृति तथा नेपाली मौलिकपन दोस्रो पुस्ताहरुमा हस्तान्तरण गर्नु हो’, उपसंयोजक खड्काले भने।
पहिलो पटकको आयोजना र महोत्सवको तयारी एवं प्रचार प्रसारले पाँच हजार भन्दा बढी नेपालीले यस पटक महोत्सवमा सहभागिता जनाउने एनआरएन तास्मानियाका सचिव लोकेन्द्र बिष्टले बताए।
‘पहिलो ठूलो कार्यक्रमका रूपमा तास्मानियामा हुन लागेको नेपाल महोत्सवले यहाँको नेपाली समाजलाई एकताको सुत्रमा बाँध्नुका साथै मुलुकको पहिचानको नयाँ ढोका खोल्ने तयारीका रूपमा पनि लिएका छौ’, सचिव बिष्टले भने।
जनसम्पर्क समिति तास्मानियाका युवा अभियन्ता रमेश श्रेष्ठ महोत्सवमा स्थानीय अजीहरू आएर आफ्नो देश नेपालको बारेमा अवलोकन गर्ने मौका पाउने र यसले नेपालप्रति जान्ने उत्सुकता समेत बढने बताए।
नेपाल महोत्सव नेपाली कला, संस्कृति झल्किने ठूलो पर्व भएकाले यसलाई भब्य र सभ्य बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको श्रेष्ठले बताए।
कार्यक्रममा नेपालबाट आउने रिदम ब्यान्ड र दिपक बज्राचार्यलगायतका कलाकारले भरपुर मनोरन्जन प्रदान गर्नेछन्। महोत्सवको आकर्षकको रूपमा नेपाल हाउस समेत रहनेछ।