अस्ट्रेलियाको राजधानी क्यानबेरामा सम्पन्न चार दिने नेशनल लिडरसिप फोरममा अस्ट्रेलियाका केही युवा व्यवसायी र वक्ताका रूपमा नेपालका बैंकर अनिल शाहको सहभागिता निकै महत्वपूर्ण रह्यो।
क्यानबेरास्थित संघीय संसदको अभिन्न अंगका रूपमा रहेको नेशनल लिडरसिप फोरम अस्ट्रेलियाका युवालाई नेतृत्वदायी भूमिकाका लागि अभ्यास गराउने थलोको रूपमा रहेको छ।
सन् १९९७ मा स्थापना भएको नेशनल लिडरसिप फोरममा अस्ट्रेलियन राजनीतिको मूल्य र मान्यता तथा आगामी युवा नेतृत्वको विकास मुख्य विषय भएको संस्थाका कार्य समितिका सदस्य तथा नेपाली युवा व्यवसायी सागर लोहनीले बताए।
उक्त फोरममा इन्टरनेशनल इन्सिच्युट अफ एजुकेसनको सहयोगी भूमिका समेत रहेको थियो।
लोहनी सन् २०१४ मा पहिलो पटक फोरममा नेपाली युवाका रूपमा सहभागि भएका थिए।
यस पटक कार्यसमिति सदस्य लोहनीकै पहलमा उक्त महत्वपूर्ण फोरममा वक्ताका रूपमा नेपाली युवा अभियन्ता तथा बैंकर अनिल शाहको सहभागिता रहेको थियो।
विशेष प्रस्तुतिका रूपमा शाहको नेतृत्व विकास सम्वन्धी गोष्ठी निकै रोचक र प्रशंसनीय रहेको फोरममा सहभागि विकास भण्डारीले बताए।
नेपाली वक्ता आएर अस्ट्रेलियन राजधानी क्यानबेरामा यस्तो महत्वपूर्ण फोरममा यस किसिमको प्रभावकारी छाप छोडनु हामी सबै नेपाली र मुलुकको लागि पनि गर्विलो विषय हो।
चार दिनसम्म चलेको फोरममा विभिन्न समुदाय र मुलुकका प्रतिनिधि तथा सयौ अस्ट्रेलियन युवाको सहभागिता थियो।
कार्यक्रममा बिभिन्न राजनीतिक दलका नेता तथा सांसदहरुले अनुभव र अनुभूतिका साथै राजनीतिक मूल्य र मान्यताका विषयमा प्रवचन दिएका थिए।
उक्त फोरमा नेपाली युवा अभियन्ताहरू करूणा रावत र सुरज भट्टको पनि उपस्थिति थियो।