अस्ट्रेलियाको क्यानबेरास्थित नेपाली राजदूतावासमा दस्तुर बुझाउन नगद मात्र चल्ने प्रथाको अन्त्य भएको छ।
नवनियुक्त अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले सेवाग्राहीको सुविधाको लागि दूतावासमा बैंकिङ प्रविधिमार्फत दस्तूत तिर्ने व्यवस्था मिलाइएको जानकारी दिए।
राजधानी क्यानबेरामा पत्रकारसँग कुरा गर्दै राजदूत पोखरेलले आफू अष्ट्रेलिया आएको २ महिनामै महत्वपूर्ण कुटनीतिक भेटघाट, सचिवस्तरीय दुई देशीय जलस्रोत बैठक गरिसकेको भन्दै गुनासाका रूपमा रहेको बैकिङ दस्तुर सुविधाको सुरूआत गरेको बताए।
समसामयिक विषयमा अन्तर्क्रिया गरेर आएका गुनासालाई आफूले समाधान गरेको जानकारी दिए।
राहदानीलगायतका विभिन्न कामका लागि नगद बोकेर जानुपर्ने झन्झटबाट मुक्त भएपछि लामो समयदेखि यस अभियानमा लागेको महेश प्रसाई दंग छन्।
‘जे जस्तो कारण भए पनि अस्ट्रेलियाजस्तो विकसित देशमा खल्तीमा नगद बोकेरै राजदूतावास जानुपर्ने वाध्यता आफैंमा शोभनीय थिएन’, उनले भने, ‘कम्तीमा नयाँ राजदूतले आफ्नो कार्यकालको दोस्रो महिना नबित्दै एउटा थिति बसाउने काम गर्नुभएको छ। यो प्रशंसनीय छ।’
अर्का नगद दस्तुर विरोधी अभियानका अभियन्ता तिर्थ कार्कीसँग मिलेर प्रसाईले करिब पाँच वर्षदेखि राजदूतावासमा नगद कारोबार बन्द हुनुपर्छ र कार्डमार्फत भुक्तानी लिने व्यवस्था हुनुपर्छ भनेर आवाज उठाउँदै आएका थिए।
सन २००७ मा स्थापना भएको अस्ट्रेलियास्थित नेपाली दूतावासको सिमित स्रोत र साधनका वाबजुद संख्यात्मक रूपमा ह्वात्तै वृद्धि भएको नेपाली समाजलाई आवश्यक सेवा दिन आफू कतै नचुक्ने राजदूत पोखरेलले स्पष्ट पारे।
उनले सन् २००७ मा करिब पाँच-सात हजार नेपाली रहेको अस्ट्रेलियामा हाल करिब ७५ हजार नेपाली विद्यार्थी मात्र रहेको र डेढ लाख भन्दा बढी नेपाली बसोबास गर्दै आएको सन्दर्भमा स्रोत र साधन कमि रहेको बताए।
पछिल्लो समयमा एमआरपी बनाउनेको चाप निकै बढेको कारण राजदूत पोखरेलले पासपोर्टको म्याद सकिनु पाँच, छ महिना अघिनै यसको प्रकृयामा सामेल हुन सबै नेपालीलाई अनुरोध गरेका छन्।
यसबाहेक अस्ट्रेलियाका विभिन्न राज्यमा सहजताको लागि दूतावासले घुम्ती सेवा प्रदान गर्ने योजना रहेको राजदूत पोखरेलले सुनाए।
राजदूत पोखरेलले हुण्डीबाट नेपाल पैसा पठाउने काम गैरकानुनी भएकोले अस्ट्रेलियामा रहेका आम नेपालीलाई बैकिङ च्यानलबाट मात्र पैसा पठाउन आग्रह गरे।
‘उताबाट विद्यार्थी आउँदा डलर लिएर आउने र यताबाट पठाएको डलर अर्कै ठाउँमा पुग्ने भएकोले हुण्डी गैरकानुनी हो’, उनले भने, ‘त्यसैले जिम्मेवार नागरिकको हैसियतले सबैले आफूले पठाएको (पैसा) डलर नेपाल पुग्ने गरी बैकिङ च्यानलबाट मात्र पठाउनुहोला।’
आफू आएदेखि यस विषयमा गम्भीर रहेको भन्दै उनले केही बैंकसँग सहजताका लागि छलफल समेत भएको बताए।
हुण्डीका विषयमा निकै गम्भीर देखिएका राजदूत पोखरेलले प्रारम्भीक रूपमा आग्रह र अनुरोध भएको भन्दै यो नरोकिए आफूहरू अन्य कदम चाल्न पनि तयार रहेको बताए।
राजदूत पोखरेलले नेपालको प्रशासनिक क्षेत्रमा दुई दशक भन्दा बढी समय काम गरेको अनुभव र कुटनीतिक अभ्यासलाई मुलुकको सम्बन्ध बिस्तार र पहिचान उजिल्याउने कार्यमा लागिपर्ने बताए।
‘ओखलढुंगाबाट पढेर काठमाडौं हुँदै अस्ट्रेलिया आइपुगेको छु, प्रशासनिक सेवामा अलग र फरक सोच बोकेर काम गर्दै गर्दा आफूलाई स्थापित गरियो र सेवानिवृत्त भइयो’, उनले भने, ‘अब मुलुकको सेवा गर्ने अवसर मिलेको छ, यसलाई मुलुकको हितमा कसरी अगाडि बढाउन सकिन्छ त्यसैमा रम्ने र रमाउने योजना छ।’