अष्ट्रेलियाको मेनबर्न शनिबार नेपालमय बनेको छ।
नेपाली भाषा, कला, संस्कृति, पर्यटन र नेपालीपनलाई अस्ट्रेलियाका विभिन्न समुदायबीच प्रवर्द्धन गर्ने उद्धेश्यले आयोजित नेपाल महोत्सवमा मेलवर्न नेपालमय भएको हो।
हरेक दुई वर्षमा आयोजना हुँदै आएको ‘नेपाल फेस्टीभल’ यसपालि पनि मेलबर्नस्थित फेडरेसन स्क्वायरमा विभिन्न सांस्कृतिक कार्यक्रमसहित भब्य रूपमा मनायो।
अस्ट्रेलिया र नेपाल बीचको सांस्कृतिक सम्बन्धलाई जोड्ने र पर्यटन प्रवर्द्धन गर्न एनआरएन अस्ट्रेलियाको भिक्टोरिया राज्य समितिद्धारा आयोजना हुँदै आएको महोत्सवलाई नेपाल चिनाउने प्रतिबिम्बको रूपमा हेरिदै आएको छ।
महोत्सवमा करिब २० हजार मानिसको सहभागिता भएको एनआरएनए भिक्टोरियाका संयोजक हरि खड्काले बताए। महोत्सवलाई सफल बनाउन समुदाएका सबै संघ संस्थाले सहयोग गरेका थिए।
नेपाली पहिचानलाई विश्वमाझ पुर्याउनुका साथै नेपालको पर्यटन प्रर्वद्धनमा महोत्सवले सहयोग गरेको अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले बताए।
‘नेपाली एकता तथा सद्भावको सन्देशलाई विश्वमाझ पुर्याउनु, नेपाली भाषा, कला, संस्कृति, परम्परा, खानालगायत नेपाली मौलिकताको प्रवर्द्धन गर्नु र नयाँ पुस्तालाई नेपालको माटोसँग जोड्न यस्ता महोत्सवले महत्वपूर्ण भुमिका खेल्छ’, राजदूत पोखरेलले भने।
हरेक दुई वर्षमा मेलवर्नमा आयोजना हुने नेपाल महोत्सव आफैंमा एउटा महत्वपूर्ण चाड बनेको र यसमा अस्ट्रेलियाका विभिन्न राज्यबाटसमेत प्रतिनिधित्व रहेको भिक्टोरियाका महावाणिज्यदूत चन्द्र योन्जनले बताए।
फेडरेसन स्क्वायरमा नेपाल महोत्सव आयोजना हुँदै गर्दा सडकमा फहरिएका रातो र चन्द्र सूर्य अंकित झन्डाले कता कता नेपालको सम्झना गराएको क्यानबेरावाट महोत्सवमा सहभागि हुन आएका सञ्चारकर्मी प्रदिप तिमल्सीनाले बताए।
महोत्सव सफल पार्न नेपाली अवैतनिक महावाणिज्यदूतका कार्यालय, क्यानबेरास्थित नेपाली राजदूतावास, बहुसांस्कृतिक समुदाय तथा बहुसांस्कृतिक विभाग लगायत नेपाली संघसंस्थाले सहकार्य गरेका थिए।
महोत्सव र मेला आफैंमा मुलुक चिनाउने माध्यम भए पनि नेपाल महोत्सव भने विशेष गरि एनआरएनको सिग्नेचर कार्यक्रमका रूपमा रहदै आएको आयोजक एनआरएनका सचिव सन्ध्या शाहले बताइन्।
महोत्सवलाई ब्लुबेरी रियल स्टेटसहित एक्सपर्ट एजुकेशन, कँडेल कन्सलटेन्सी, तास कलेज, आरजीआइटी, ग्रेस इन्टरनेशनल र अस्ट्रेलियन एन्सिच्यूट अफ आइएर एजुकेशनले सहयोग गरेका थिए।
कोरोनाको प्रभावपछि एकताको सन्देश र आपसी भाइचारा साट्ने थलोको रूपमा समेत महोत्सवलाई लिइएको र त्यो अत्यन्तै उत्साहवर्द्धक रूपमा सम्पन्न भएको जनसम्पर्कका नेता देवेन्द्र बस्नेतले सुनाए।
कार्यक्रममा नेपालबाट आएका लोक गायक बद्री पंगेनी, एलिना चौहान र कबवेव ब्यान्ड लगायत स्थानीय कलाकारले मेलवर्न तताएका थिए।
कार्यक्रममा एनआरएन ग्लोबलका उपाध्यक्ष दुर्गा आचार्य, उप महासचिव नारायण काफ्ले, क्षेत्रीय संयोजक दिनेशराज जोशी लगायतले मन्तब्य राखेका थिए।
कार्यक्रममा नेपालका विविध परिचयसहित जानकारी गराउने उद्धेश्यले राखिएको नेपाल हाउस लगायत विविध कला संस्कृति झल्काउने स्टलहरुको व्यवस्था गरिएको थियो।
महोत्सवमा आफ्नो व्यवसाय प्रवर्द्धन गर्न विविध शैक्षीक निकाय तथा परामर्श केन्द्रले स्टल राखेका थिए।
सिड्नीबाट एक्स्ट्राटेकको व्यवसाय विस्तारका लागि मेलवर्न महोत्सवमा पुगेका निर्देशक विनोद कुँवरले नेपाल र नेपालीका लागि मात्र नभएर अस्ट्रेलियनलाई नेपालको चिनारीका लागि पनि यस्ता महोत्सव महत्वपूर्ण रहेको बताए।