संसारभर छरिएर रहेका नेपाली मुलका युवा उद्यमीलाई एउटै छातामुनी राखेर मुलुकको हितमा जोड्ने अभियान सुरू भएको छ।
अन्तर्राष्ट्रिय युवा उद्यमी महासंघको अस्ट्रेलिया (एनएसडब्लु च्याप्टर) ले आइतबार सिड्नीमा अस्ट्रेलियाका लागि नेपाली राजदुत कैलाशराज पोखरेलको स्वागतमा गरेको अन्तरक्रिया कार्यक्रममा यसबारे जानकारी गराएको हो।
कार्यक्रममा बोल्दै राजदूत पोखरेलले नेपाली दूतावास अस्ट्रेलियामा बस्ने नेपालीको अभिभावकत्व ग्रहण गर्ने निकाय भएकोले सबैखाले सकारात्मक अभियानमा हातेमालो गर्न तयार रहेको बताए।
नवनियुक्त राजदूत पोखरेलले सिमित स्रोत र साधनले कतिपय अवस्थामा आशा र अपेक्षा अनुरूप काम नभए पनि सबैखाले सेवा र सुविधा पुरा गर्ने सवालमा दूतावास द्रूत गतिमा लागिपरेको बताए।
अस्ट्रेलियाको राजनीतिक भेटघाटमासमेत नेपाली समुदायको विस्तार र कामको प्रशंसा हुने गरेको प्रसंग कोट्याउँदै राजदूत पोखरेलले अस्ट्रेलियाका कतिपय सांस्कृतिक मुद्दा नेपालसँग मिल्दाजुल्दा रहेकोले यसलाई जोडेर अगाडि बढ्नुपर्ने बताए।
युवा उद्यमशिलताको सवालमा अध्ययन र अनुसन्धान गरेर महत्वपूर्ण विषयमा निचोड निकालि अगाडि बढ्न सके त्यसले परिणाम दिने राजदूत पोखरेलले जिकिर गरे।
‘यहाँबाट नेपालको माटो सुहाउँदो विकासको ढाँचा बुन्नुपर्छ र त्यसमा लगानी गर्न सकेमात्र मुलुकलाई फाइदा पुग्छ’, राजदुत पोखरेलले भने, ‘चुनौतीसँग जुध्नसक्ने र मेहनत गर्ने पहिचान बनाएको नेपाली बिदेशमा आएर पनि विभिन्न पेशा र उद्योगमा सफल हुनु आफैंमा महत्वपूर्ण उपलब्धि हो।’
कार्यक्रममा बोल्दै एनएसडब्लुका महाबाणिज्यदूत दिपक खड्काले युवालाई उद्योग व्यवसायमा लाग्न प्रेरणा दिने यो अभियान आफैंमा महत्वपूर्ण भएको जिकिर गरे।
अस्ट्रेलियामा एउटा सफल व्यवसायीका रूपमा समेत परिचय बनाएका महावाणिज्यदूत खड्काले शैक्षिक मात्र नभइ आर्थिक उन्नतीका लागि पनि अस्ट्रेलिया आउने नेपाली विद्यार्थीलाई सकारात्मक अभियानमा जोड्न सके सुनमा सुगन्ध हुने बताए।
अन्तर्राष्ट्रिय युवा उद्यमी महासंघका केन्द्रिय अध्यक्ष स्वतन्त्र प्रताप शाहले प्रवासमा विभिन्न व्यवसाय र उद्यममा लागेका युवा नेपालीलाई समेटेर मुलुकसँग जोड्ने संस्थाको मुल उद्देस्य रहेको प्रष्टाए।
‘सबैको चाहना छ मुलुकमा केही गरौं भन्ने तर त्यसमा सामुहिकता र माध्यमको अभाव थियो हामीले त्यसैलाई पुरा गर्न यो संस्था निमार्ण गरेका हौ,’ केन्द्रिय अध्यक्ष शाहले भने।
कार्यक्रममा आयोजक एनएसडब्लु राज्यका संयोजक लक्ष्मण सापकोटाले उद्यमी बन्दै गर्दा हौसला दिने अभिभावकहरू महत्वपूर्ण पाटा भएको जिकिर गरे।
लगानी र आम्दानी भन्दा पनि धैर्यता अनि लगनशिलता आवश्यक हुने यस पेशामा भोगेका अनुभव सुनाउँदै सापकोटाले भने, ‘अनुभव र सिकाइ यसका महत्वपूर्ण पाटा रहेछन्।’
कार्यक्रममा युवा उद्यमी संघ अस्ट्रेलियाका अध्यक्ष दिक्पालदेव पगेंनीले यहाँ छरिएका युवा उद्यमीलाई समेटर नेपालमा लगानीको सोच बनाउने अभियानमा आफूहरु जुटेका बताए।
न्यु साउथवेल्स कमिटीका सचिव दिपक ज्ञवाली, एनआरएनका अभियन्ता दिनेश पोखरेल ,युवा उद्यमी किरण थापा, सागर लोहनी, झापाली समाजका अध्यक्ष निरन्जन प्रसाइ, नेपाल अस्ट्रेलिया पत्रकार संघका अध्यक्ष ऋषी आचार्यलगायतले आ-आफ्ना विचार राखेका थिए।
कार्यक्रममा संस्थाका युवा अभियन्ता अमृत पौडेलले नेपालको भौगोलिक आधारमा पर्यटन प्रवर्द्धनका लागि अतिथि सत्कार परियोजनाको परिकल्पना प्रस्तुत गरेका थिए।