नेपालबाट आएका एक विद्यार्थीले ६ प्याकेट सूर्य चुरोट ल्याए। उनले ल्याएको सुर्तीजन्य पदार्थको बारेमा आगमन फारममा केही पनि भरेनन्। तर उनको ब्यागमा चुरोटको प्याकेट फेला परेपछि उनलाई अध्यागमनले ५०० डलरभन्दा बढी जरीवाना तिरायो।
पढ्न भनेर आएका ती नेपाली विद्यार्थीले निषेधित बस्तु ल्याएपछि विमानस्थलमा जरीवाना भोग्नुपर्यो।
यस्तै एक नेपाली अभिभावक आफ्ना सन्तानलाई भेट्न आउने क्रममा छुर्पी, गुन्द्रुक र सुकुटी बोकेर आउँदा विमानस्थलमा जरीवानासँगै ठूलो सास्ती बेहोर्नुपर्यो।
विमानस्थलमा भइरहने यस्ता घटना नौला होइनन्। अष्ट्रेलियाको अध्यागमनबारे नबुझ्ने जो कोही पनि यस्तो जरीवाना र कारबाहीको भागिदार बन्नुपर्छ।
यस्तै पशुपंक्षीमा देखिने ‘फुट एन्ड माउथ’ संक्रमण फैलिरहेको इन्डोनेसियाबाट अस्ट्रेलिया आएका एक यात्रुलाई, जैविक सुरक्षा नियम उलंघन गरेको भन्दै करीब तीन हजार डलरको जरीवाना तिराएको छ।
आगमन फारम भर्दा आफूले ल्याएको खानेकुराका बारेमा जानकारी नगराएको भन्दै ती अष्ट्रेलियन यात्रुमाथि जरीवाना लागेको हो।
कडा सुरक्षा चेकजाँच गरिने विमानस्थलमा गन्धबाट सामान पत्ता लगाउने तालिमप्राप्त कुकुरलाई बायोसेक्युरीटीका लागि खटाइएको हुन्छ। यिनले यस्ता कुराहरु सहजै पत्ता लगाउने गर्छन्।
बसोबास वा अध्ययन र कामका लागि अस्ट्रेलिया आउनेले के सामान ल्याउन पाइन्छ र के पाइँदैन भन्ने कुराको सामान्य हेक्का राख्नुपर्छ। नभए सानो गल्तीले ठूलो सजायको भागिदार बन्नुपर्ने हुन्छ।
अन्य देशबाट अस्ट्रेलिया भित्रदा अस्ट्रेलियाली कानुनले देश भित्र ल्याउन दिने र नदिने सामाग्रीको बारेमा ज्ञान हुनु आवश्यक हुन्छ। आयात सम्बन्धी नीतिहरू समय समयमा परिवर्तन हुन सक्छन् त्यसैले पनि यससँग अध्यावधिक रहन जरूरी हुन्छ।
अस्ट्रेलियाको जैविक सुरक्षा कानुन (बायोसेक्युरिटी कानुन)ले हानीरहित देखिने तर यहाँको वातावरण र कृषिमा विनासकारी प्रभाव पार्नसक्ने केही वस्तु आयातलाई निषेध गर्छ।
कृषि, पानी र वातावरण विभागले बायोसेक्युरिटी इम्पोर्ट कन्डिसन्स सिस्टम मार्फत देशमा आयात गरिएका उत्पादनको नियमन गर्छ।
ताजा फलफूल र तरकारी, मासुका उत्पादन, चामल, गेडागुडी, अण्डा र ताजा पानीको माछा जस्ता खाद्य सामाग्री अनुमति बिना अस्ट्रेलिया ल्याउन पाइँदैन।
व्यवसायिक अनुमति पाएका प्याकेजका बिउहरू र व्यक्तिगत प्रयोगको लागि डाक्टरको प्रेसक्रिप्सन अनुसारका औषधि ल्याउन पाइन्छ।
यदि कुनै यात्रुसँग जैविक सुरक्षालाई हानी पुग्ने सामाग्री छ र उनले त्यसको जानकारी दिएनन् या त्यसलाई फालेनन् भने ठूलो जरीवाना तिर्नुपर्ने हुन्छ। या मुद्दा चल्नुका साथै देश प्रवेशमा रोकसमेत लाग्न सक्छ।
देशभित्र ल्याउन पाउने र नपाउने सामग्रीको बारेमा जानकारी राख्न र त्यस सम्बन्धी कानुनको पालना गर्ने, यात्रुको जिम्मेवारी हो।
विदेशबाट आउँदा सबै यात्रुले आगमन फाराम अनिवार्य भर्नुपर्छ।
जैविक सुरक्षालाई जोखिममा पर्ने कुनै पनि सामान जस्तै खाद्यपदार्थ, पशु उत्पादन, बोटबिरूवा र काठका सामग्री आफूसँग भएमा उक्त कार्डमा उल्लेख गर्नुपर्ने हुन्छ।
बायोसेक्युरिटी अधिकारीले कार्डमा लेखिएका सामानको निरीक्षण गर्छन् र ती सामानहरू सुरक्षित छन् कि छैनन्, देश भित्र लान दिने कि, फिर्ता पठाउने या नष्ट गर्ने भनेर निर्णय गर्छन्।
अष्ट्रेलियामा धेरै वस्तुलाई ल्याउन अनुमति भए पनि विभागले विशेष आयात अनुमति प्रदान नगरेसम्म हानिकारक किरा र रोगहरू नित्याउने वस्तुलाई निषेध गरिएको छ।
उदाहरणको लागि, केही वर्षअघि क्वीन्सल्यान्डमा ल्याइएको एउटा फलफूलसँग पपाया फ्रुट फ्लाईज आएको थियो, जसले कृषिमा २ करोड डलरको घाटा पुर्याएको थियो।
अस्ट्रेलिया जनावरसँग सम्बन्धित रोगहरूबाट मुक्त छ। जस्तै खुट्टा र मुखका रोग, र अफ्रिकी स्वाइन ज्वरो जस्ता रोगले महामारी सुरू हुन सक्छन्, जसले देशको कृषि अर्थव्यवस्था माथि नकारात्मक प्रभाव पार्दछ।
‘सुकेको मासु या सुँगुरको मासुका उत्पादनसँग अफ्रिकी स्वाइन फिभरजस्ता रोगहरू आउन सक्छन्, जसले आर्थिक रूपमा ठूलो घाटा पुर्याउनसक्छ।
यस्तै, यात्रुले ताजा माछा ल्याउन पाइदैन। माछा ल्याउने हो भने त्यो नुनिलो पानीको हुनुपर्छ र तिनको भित्रका सबै अंगहरू निकालिएको हुनुपर्छ।
दुग्धजन्य पदार्थ, केक, मह, र समुद्री खानालगायत अन्य खाद्य पदार्थको निरीक्षण गरिन्छ। चामल, दाल र बालीको बीउ जस्ता वस्तुहरू सामान्यतया निजी प्रयोगको लागि ल्याउन प्रतिबन्ध छ।
चामल, गेडागुडी, जस्तै बीउ, सिमी, चना, भटमास, दाल, आदिको उत्पादन अस्ट्रेलियामा निकै राम्रो छ। गहुँ, जहुँ, काँचो बदाम जस्ता बीउहरू पनि यही वर्गमा पर्दछन्। विदेशबाट यहीँ सामान अस्ट्रेलिया ल्याएमा तिनमा रोग देखिन सक्छन्।
कुनै वैध आयात अनुमति बिना, अण्डा, जीवित जनावर, बिरुवा, काठका उत्पादन र अन्य जैविक सामग्री ल्याउन पाइन्न।
आफूसँग रहेका कुनै पनि सर-सामानबारे आगमन फराममा जानकारी नदिए जरीवाना तिर्नुपर्छ। यस्ता सामानबारे जानकारी नगराए ४ सय डलरदेखि जरीवाना सुरू हुन्छ।
कुनै पनि फलफूल ल्याएको जानकारी नदिएमा १३३२ डलरबाट जरीवाना तिर्न सुरू गर्नुपर्छ।
यस्तै जैविक सुरक्षा अधिकारीले ठाउँको ठाउँ नै तिराउनसक्ने सबैभन्दा ठूलो जरिवाना रकम भनेको मासुजन्य उत्पादनको लागि हो। यसका लागि उनीहरूले २६०० डलर जरीवाना तिराउँछन्।
जैविक सुरक्षाको लागि हानिकारक हुने सर-सामान कसैले जानकारी बीना भित्र्याउन खोजेमा उक्त यात्रुलाई अस्ट्रेलिया प्रवेशमा रोकसमेत लाग्नसक्छ।
यदि कुनै गैर–अस्ट्रेलियाली व्यक्तिले देशमा ल्याउन नपाउने सामानको बारेमा जानकारी नदिएर भित्र्याउन खोजेमा उनको भिसा समेत खतरामा पर्न सक्छ। यस्तै कारणले केही मानिसको भिसा रद्द भइरहेका छन्।
हतियारजन्य सामाग्रीहरू अनुमति बिना अस्ट्रेलियामा ल्याउन पाइँदैन। त्यसैले, हतियार भित्र्याउन सम्बन्धित राज्य र प्रहरी बलको अनुमति आवश्यक हुन्छ। नेपालबाट उपहार स्वरूप ल्याइने खुकुरी पनि हतियार अन्तर्गत पर्छ।