अष्ट्रेलियाको राजधानी क्यानबेराको विमानस्थलमा गोली चलेको छ। एक बन्दुकधारीले पाँच राउन्ड गोली प्रहार गरेको बीबीसीले जनाएको छ।
बन्दुकधारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गोली चलेपछि विमानस्थलबाट यात्रुलाई सुरक्षित स्थानमा लगिएको छ। घटनामा कुनै पनि मानवीय क्षति भने भएको छैन। बन्दुकधारीले गोली चलाउनुको उद्देश्य अझै प्रस्ट नभएको बताइएको छ।
घटनाका प्रत्यक्षदर्शी एलिसनलाई उद्दृत गर्दै बीबीसीले लेखेको छ, ‘हामी सुरक्षा जाँच कक्षमा थियौँ। त्यहाँबाट बाहिरिँदा गोली चल्यो। पछाडी फर्केर हेर्दा एक मानिस पेस्तोल सहित थिए। हामी निकै आतंकित बन्यौँ।’
विमानस्थलमा गोली चलेपछि केही उडान स्थगित भएको र केहीको तालिका परिवर्तन भएको बीबीसीले जनाएको छ।