नेपाली राजपरिवारका तीन सदस्य पूर्व युवराज्ञी हिमानी शाह, पूर्व अधिराजकुमारीहरू शिताष्मा र दिलाशा शाह परोपकारी कार्यक्रमका लागि भन्दै अष्ट्रेलिया आइपुगेका छन्।
नेपालको बालबालिकाका लागि स्वच्छ पानीको पहुँच कार्यक्रम ‘एक्सेस टु क्लिन ड्रिकिङ वाटर प्रोजेक्ट’ का लागि सहयोग जुटाउन पूर्व युवराज्ञी हिमानीलगायतको टोली सिड्नी आएको हिमानी कोष अष्ट्रेलियाकी अध्यक्ष अन्जना बस्नेत कार्कीले बताइन्।
सिड्नी आइपुगेकी पुर्व युवराज्ञी शाहको टोलीको सम्मानमा सिड्नीको संसद भवनमा रात्री भोजको कार्यक्रमको आयोजनासमेत गरिएको थियो।
कार्यक्रममा बोल्दै पूर्व युवराज्ञी शाहले नेपाल र अस्ट्रेलियाबीचको दौत्य सम्वन्ध स्थापनामा राजपरिवारको महत्वपूर्ण भूमिका रहेको स्मरण गरिन्।
राजा महेन्द्र र वीरेन्द्रको अस्ट्रेलिया भ्रमण र दुई देशबीचको आपसी सहयोगले पनि त्यो कुरा प्रष्ट हुने हिमानीले बताइन्। उनले आफ्नो परोपकारी अभियानमा जोडिएका सबै नेपाली मनलाई धन्यवाद ज्ञापन गरेकी थिइन्।
कार्यक्रममा एनएसडब्लु राज्यका बहुसांस्कृतिक मन्त्री मार्क कुरी, महावाणिज्यदूत दिपक खड्कालगायतले हिमानी कोषको परोपकारी कार्यको प्रशंसा गरेका थिए।