सत्ता गठबन्धनले आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि टिकट भागबण्डाका लागि समिति बनाएर काम सुरू गरिसकेको छ।
नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले यो गठबन्धन चुनावसम्म कायम रहने र त्यसपछि सबैले आफ्नो बाटो रोज्न पाउने बताएका छन्।
अष्ट्रेलियाको सिड्नीमा आयोजित जनसम्पर्क समितिको कार्यक्रममा बोल्दै गुरूङले यतिबेला गठवन्धन नामक हवाइ जहाजले टेकअफ गरेर आकाशमा उडान भरिरहेको भन्दै यसको उचित ल्यान्डीङ मंसीरमा हुने र त्यसपछि सबैले आफ्नो बाटो रोज्न पाउने बताएका हुन्।
उपसभापति गुरूङले आकासमा उडिरहेको प्लेनमा झगडा गर्न उचित नहुने भन्दै यसलो ठूलो दुर्घटना हुनसक्ने बताए।
‘यतिबेला गठवन्धन नामक हवाइ जहाजले टेकअफ गरेर आकाशमा उडान भरिरहेको छ। यसको उचित ल्यान्डीङ मंसीरमा हुन्छ र त्यसपछि सबैले आफ्नो बाटो रोज्न पाउँछन्’, उनले भने,‘उडिरहेको प्लेनमा झगडा गर्नु भनेको दुर्घटना निम्त्याउनु मात्र हो।’
नेता गुरूङले यतिबेला मुलुकमा व्यवस्था नभइ जनताको अवस्था परिवर्तन गर्नुपर्ने बेला आएको बताए। उनले लोकतन्त्र र संविधानका लागि लडनुपर्ने समय नभएको भन्दै जनताको अवस्था परिवर्तनका लागि सबैले एक जुट हुनुपर्ने बताए।
डेमोक्रयाटिक फोरमको निम्ता मान्न अष्ट्रेलिया आएका उपसभापति गुरूङले पार्टीभित्रका नेताहरू स्वार्थमा बेरिएकाले सोचे अनुरूपको विकास गर्न नसकेको स्वीकारे।
‘अस्ट्रेलियाजस्तो विकसित देशको पूर्व प्रधानमन्त्री र मन्त्रीलाई सुरक्षाको कुनै मतलब नहुने तर हाम्रा नेतालाई भने राज्यले भत्ता ख्वाएर सुरक्षाकर्मी र सेवा सुविधा उपलब्ध गराउनुपर्ने यो कस्तो उल्का अचम्म हो’, उनले प्रश्न गरे, ‘दिउँसो दिउँसो राज्यको विदेशी मुद्रा सन्चिती सकियो, देश टाट पल्टिन लाग्यो भन्दै भट्याउने बेलुका भएपछि विदेशी रक्सीमा मात्नुपर्ने?’
पार्टीको भातृ निकायमा देखिएको लामो समयदेखिको विवादलाई आफूले सल्टाएको गुरूङले दाबी गरे।
‘म मा कुनै स्वार्थ थिएन, आग्रह गरेँ, अनुरोध गरेँ, कतिपय बेला निर्देशन पनि दिएँ। साथीहरुले त्यसलाई बुझिदिनुभयो’, उनले भने, ‘सबैभन्दा ठूलो कुरो नेपालमा रहेका नेताले विदेशमा बस्ने साथीभाइलाई हात समातेर स्वार्थमा बोक्ने परम्पराले यो बिवाद र बिग्रह जन्मेको हो।’
उपसभापति गुरूङले प्रवासी नेपालीका लागि सामाजिक र आर्थिक अधिकार सहितको दोहोरो नागरिकता संसदबाट अनुमोदन भइ स्वीकृतको लागि राष्ट्रपतिका गएको भन्दै त्यो चाडैनै स्वीकृत हुने बताए।
कार्यक्रममा बोल्दै पार्टीका वरिष्ट नेता चन्द्र भण्डारीले नेपालीको बलियो र बाक्लो उपस्थिति भएको अस्ट्रेलियामा विचार र सदस्यतालाई छेक्नु र रोक्नु भनेको चन्द्रमालाई हातले छेकेझै हुने बताए।
‘हरेक वर्ष तीसौं हजार नेपाली अस्ट्रेलियामा थपिदै छन्, यसलाई उपयोग गरेर हामीले मुलुकसँगको सम्वन्ध बिस्तारमा विकासको बाटो खोज्नुपर्छ’, उनले भने।
जनसम्पर्क समितिद्धारा आयोजित विचार गोष्ठी कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले पार्टीका प्रवासी संगठनमा सहमति र एकताको वातावरण बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता औल्याए।
पाण्डेले केही दिनको प्रयासपछि अस्ट्रेलियाका साथीबीचको आपसी सहमती र सहकार्य अरू देशका लागि पनि उदाहरण बन्ने बताए।
सह महामन्त्री पाण्डेले राज्यले बिदेशवाट पैसा पठाउने र स्वदेशवाट पैसा ल्याउने वैद्यानिक बाटो नखोलिदिँदा हुन्डी तथा अन्य माध्यमले यसको गलत फाइदा उठाउँदै आएको बताए।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरूङले मुलुकको अर्थतन्त्र र ब्यापार घाटाको अवस्था हेर्दा हरेक वर्ष ऋणको भारी बोक्न बाध्य भइरहेको अवस्थामा बिदेशमा रहेका नेपालीलाई स्वदेश फर्कन र लगानी गर्न आग्रह गर्नुपर्ने बेला आएको बताए।
कार्यक्रममा प्रदेश नम्बर एकका सभापति उद्धव थापाले दोहोरो नागरिकता विधेयक संसदबाट पारीत भएर राष्ट्रपतिका गएको अवस्थामा यो तुरून्तै स्वीकृत हुने बताए। ‘यो बिदेशमा बस्ने नेपालीलाई मात्र नभइ मुलुकका लागि पनि ठूलो उपलब्धी हो’, थापाले भने।
जनसम्पर्क समितिका अध्यक्ष सुरेशराज गुरूङको सभापतीत्वमा सम्पन्न कार्यक्रममा कांग्रेस नेता निर्मल रिजाल, एनआरएन आइसीसीका उप महासचिव गणेश केसी, आइसीसीका पूर्व उपाध्यक्ष मन केसी, ओसेनिया क्षेत्रीय संयोजक दिनेश राज जोशी, एनएडीएफका निर्वतमान सभापती डिल्ली ढकाल, जनसम्पर्क समितिका संरक्षक कृष्ण गिरि , एकाका पूर्व अध्यक्ष निरज श्रेष्ठ, एनएडीएफका अध्यक्ष भिष्म भण्डारी लगायतले सम्बोधन गरेका थिए।
यस्तै एनएसडब्लु राज्य संयोजक सितल खाँड गिरि, जनसम्पर्कका भिक्टोरिया राज्य संयोजक विनित राज शर्मा, महामन्त्री रोहित खड्काले कार्यक्रमबारे प्रकाश पारेका थिए।