लगाव भनेको मानिसको स्वभावसँंग पनि मेल खाने गर्छ। सात समुन्द्र पारी विदेशमा बसेर पनि मातृभूमीको माया अगाल्ने फुटकरै भेटिन्छन्। तर अस्ट्रेलियाको एडिलेड शहरमा उच्च अध्ययनको उंमगमा रमेकी नेपाली चेली आश्मा केसी भने यतिखेर नेपालमा निकट भविष्यमा आयोजना हुने मिस युनिभर्स सुन्दरी प्रतियोगितामा प्रपतस्पर्धाको अन्तिम तयारी गर्दैछिन्।
मिस युनिभर्स नेपाल काठमाडौंमा अगष्ट १९ मा हुँदैछ। केसीले हाल नेपालबाट पठाइएका यसका प्रकृयाहरू एडिलेडमै बसेर पुरा गरिरहेकी छिन्। अगष्ट २ मा सेमिफाइनलका लागि छनोट भएका प्रतियोगीको नामावली सार्वजनिक भएपछि अगष्टको ८ बाट बन्द शिविर शुरू हुने आयोजकले जनाएको छ।
यसअघि पनि नेपालको सुन्दरी प्रतियोगितामा सफल सहभागिका रूपमा प्रस्तुत भएकी आश्माले मिस नेपाल २०१६ प्रतियोगितामा शीर्ष १० मा पुग्दै र दुई उपाधि मिस एथलेटिक र यामाहा फेस अफ फेसिनो उपाधि जित्न सफल भएकी थिइन्।
अहिले मिस युनिभर्स नेपाल २०२२ मा आफ्नो यात्राको प्रतिक्षामा रहेकी आश्मा नेपाल सरकारको पर्यटन तथा होटल व्यवस्थापनको शिक्षालय नाथमबाट हस्पिटालिटी एडमिनिस्ट्रेशनमा प्रथम श्रेणीको बिएचएम डिग्री लिएर विश्वव्यापी स्तरमा आतिथ्यताको सम्भावनालाई नयाँ आयाम दिने अभियानमा जुटेकी छिन्।
एडिलेडको इन्टरनेशनल कलेज अफ होटल म्यानेजमेन्ट (आईसीएचएम) मा अध्ययन गरेकी उनले पछिल्ला तीन वर्ष पर्यटन तथा होटल म्यानेजमेन्ट क्षेत्रमा काम गर्दै अनुभवहरू संगाल्दै आएकी छिन्। सामाजिक सेवाभावमा विशेष चाख राख्ने आश्मा सहयोगी हातहरु मार्फत आफ्नो अभियान र सुन्दरी प्रतियोगितालाई सँंगसँंगै अगाडि बढाउने सोचमा छिन्।
हाल उनी विभिन्न सामाजिक संघ संस्थामा क्रियाशील छन्। आफ्नो अध्ययन र कामकाजी समयसँंगै आफ्नो अभियानलाई जीवित राख्न मोडलिङ र फेसनमा समय खर्चने उनको दिनचर्या बनिसकेको छ।
मिस युनिभर्स नेपाल २०२२ को क्वाटर फाईनलमा पुगिसकेकी केसी दिन दुःखी मानिसहरूको आवाज बन्नुका साथै समावेशी र महिलाहरुको आवाजको लागि आफूले यो मन्च उपयोग गर्ने बताउँछिन्।
केसीको जीवनको लक्ष्य अष्ट्रेलियाको अध्ययन सकेर नेपालमै फर्किएर मानसिक समस्यामा रहेका मानिसको सहयोगमा काम गर्ने रहेको छ।