कामका दौरान अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित नेपाली दूतावास पुग्न जो कोही नेपालीले प्रश्न गर्छन्- ‘किन दस्तुरमा नगद मात्र?’
पासपोर्ट लगायतका विभिन्न कामका लागि नेपाली दूतावास पुग्ने जो कोही नगदका लागि पुनः फर्केर एटिएम छिर्नुपर्ने हुन्छ। किनकि, दूतावासले नगदबाहेक अन्य कारोबार गर्दैन। सेवाग्राहीले अनिवार्य नगदमै दस्तुर बुझाउनुपर्छ।
अस्ट्रेलिया र न्युजिल्यान्डका हजारौं नेपालीको लागि यो एउटा समस्या मात्र होइन जिज्ञासा र गुनासोसमेत बनिसकेको छ।
केही समयअघि लक्की शेर्पा राजदूत हुँदा सिड्नीका भीएफएम लगायतका विद्यार्थी संगठनले यो विषयलाई मुद्दा बनाएर आन्दोलन गरेका थिए। पछि शेर्पा राजदूतबाट हटेसागै यो विषय पनि सेलाएर गयो।
विदेशमा अधिकांशले नगद नबोक्ने भएकाले दूतावासमा सेवा लिन जाने जो कोही समस्यामा पर्ने एक नेपाली विद्यार्थी राजन शर्माले गुनासो गरे।
‘यो पटक्कै उचित र ब्यवहारिक होइन, विदेशमा कसैले पनि नगद बोक्दैनन्। तर दूतावास जस्तो स्थानमा भने नगदै बुझाउनुपर्ने झन्झट बुझिनसक्नुछ’, भर्खरै पासपोर्टका लागि दूतावास पुगेका शर्माले भने, ‘यो सरासर गलत हो एक्काइसौं शताब्दीमा पनि नगद बोकेर हिँड्नुपर्ने र अधिकांश सेवाग्राही दूतावास पुगेर पुनः एटीएम खोज्दै हिँड्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ।’
यस विषयमा आफूहरूले लामो समयदेखि आवाज उठाउँदै आए पनि सम्बन्धित निकायले चासो नदिएको भिएफएमका संरक्षक महेश प्रसाईले गुनासो गरे।
‘हामीले दुई वर्ष अगाडिनै यसलाई ठूलो समस्याका रूपमा पहिचान गरेर आन्दोलनसमेत गरेका थियौं। तर अहिलेसम्म यो समस्याको समाधान न दूतावासले गर्यो न त नेपाल सरकारलेनै गरेको छ’, प्रसाईले सेतोपाटीसँग भने।
अष्ट्रेलियाको दूतावास जस्तो ठाउँमा हुने नगद कारोबारमा कार्ड नचल्नु दुःखद विषय भएको प्रतिक्रिया दिए।
‘दूतावास जस्तो ठाउँमा कार्ड नचल्नु साच्चीकै दुःखको विषय हो। किनकि, दूतावास पुगेको मान्छे कार्ड नचल्ने भएपछि खिन्न हुँदै हिँड्नुपर्छ’, उनले भने, ‘यो लाजमर्दो विषय हो।’
यसै अभियानका अर्का युवा अभियन्ता तिर्थ कार्कीले यो विषयमा खुलेर विरोध गर्दै तत्काल सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताउँछन्।
‘हामीले पछिल्लो तीन वर्षदेखि नगद लिने कुरा बन्द गरेर कार्डमार्फत भुक्तानीको व्यवस्था गरिनुपर्दछ भन्दै आएका छौं, तर अझसम्म सुनुवाइ हुन नसक्नु अष्ट्रेलियावासी नेपालीको लागि दुर्भाग्य हो’, उनले भने,‘ यसबारे सम्बन्धित निकायको चाडै ध्यान जाओस्।’
एनआरएन अस्ट्रेलियाका कोषाध्यक्ष तथा चार्टड एकाउन्टेट अनिल पोखरेल संसारकै प्रचलित अडिट प्रकृयामा समेत नगदको प्रचलनलाई सहि नमान्ने बताउदै परराष्ट्रले तत्कालै सहजीकरण गरेर कार्डमार्फत भुक्तानी लिने व्यवस्था मिलाउन आग्रह गरे।
‘एनआरएनमा यस विषयमा पनि सयौं गुनासा आएका छन् तर हामीले यसलाई राज्यको व्यवस्थापन बिस्तारै चुस्त र दुरूस्त हुने विश्वासमा मुद्दा बनाएका छैनौं’, उनले भने, ‘कार्डमार्फत राजश्व संकलन अहिले सबैभन्दा विश्वासिलो र सहज प्रकृया हो यसमा ढिलाइ गर्नु हुँदैन।’
अस्ट्रेलियास्थित नेपाली राजदूतावासमा लामो अनुभव सम्हालेका पूर्व कार्यबाहक राजदूत राजेन्द्र पाण्डे यो ठूलो विषय नभएको बताउँछन्। ‘राजश्वलाई कार्डमार्फत लिदाँ केहि सानो अंश बैंकलाई दस्तुर बुझाउनुपर्ने भएकोले यसै समस्याले जेलिएर अझसम्म दूतावासमा कार्डबाट भुक्तानी नलिइएको हो’, उनले भने, ‘तर ग्राहक वा विदेशमा रहेका नेपालीलाई यो विषयमा स्पष्ट पारेर बैंकको दस्तुर सहितको राजश्व लिए कसैको गुनासो हुन्न।’
अस्ट्रेलियास्थित नेपाली दूतावासका कार्यबाहक राजदूत कुल बहादुर मगरले यो विषयमा आफूहरूले गम्भीर रूपमा लिएको भन्दै आवश्यक प्रक्रिया सुरू भइसकेको जानकारी दिए।
‘यो विषयलाई आफूहरूले गम्भीर रूपमा लिएका छौ। गुनासाहरू पनि प्रसस्तै आएका छन्। त्यसैले हामीले परराष्ट्रमा यसको अनुमतिका लागि पहल गरिसकेका छौ’, उनले भने, ‘हामी परराष्ट्रको निर्णय पर्खेर बसेका छौ, आउने बित्तिकै यो समस्यालाई तुरून्तै सम्बोधन गर्नेछौ।’
यस विषयमा परराष्ट्रले आवश्यक पहल लिनुपर्ने मगरले बताए।
राजदूत अर्को साता आउँदै , २५ तारिखमा ओहदाको प्रमाणपत्र बुझाउने
अस्ट्रेलियाका लागि नवनियुक्त राजदूत कैलाश पोखरेल अर्को साता अस्ट्रेलिया आउने भएका छन्।
आउँदो जुलाइ २५ तारिखमा उनले ओहदाको प्रमाणपत्र बुझाउने कार्यक्रम रहेको दूतावास स्रोतले जानकारी दिएको छ।
राजनीतिक भागवण्डामा उनी नेकपा एकीकृत समाजवादीको तर्फबाट नियुक्त भएका राजदूत हुन्।
उनी यसअघि अमेरिकाका लागि नेपालको राजदूतावास वासिङ्टन डीसीमा पहिलो इकोनोमिक काउन्सिलर भएर गएका थिए।