नेपाली राजनीतिमा प्रवासी नेपालीको भूमिका महत्वपूर्ण बन्दै गएको वक्ताहरूले बताएका छन्।
प्रवासमा नेपाली संख्या बढेसँगै नेपालको राजनीतिमा विदेशका नेपालीको दबाव बढ्न थालेकाले विदेशका नेपालीलाई सुसूचित गर्ने जिम्मेवारी बढेको सिड्नीमा आयोजित एक कार्यक्रममा वक्ताहरूले बताएका हुन्।
वरिष्ठ पत्रकार नारायण वाग्लेले नेपालको पछिल्लो स्थानीय तह निर्वाचनमा देखिएको परिणाममा प्रवासी नेपालीको भूमिका महत्वपूर्ण बन्दै गएकाले अबका दिनमा प्रवासी पत्रकारिताको महत्व र जिम्मेवारी बढ्ने बताए।
सिड्नीमा आयोजित नेपाल न्युज अस्ट्रेलियाको वार्षिकोत्सव समारोहमा सहभागी हुन आएका वाग्लेले अब नेपाली राजनीति र त्यसको प्रभावकारितामा प्रवासी नेपालीको भूमिका महत्वपूर्ण बन्ने जिकिर गरे।
स्थानीय निर्वाचनमा बालेन शाहको जित र स्वतन्त्र उमेदवारको उदयको कथा सुनाउँदै वाग्लेले त्यसमा संसारभर छरिएका नेपालीको अलग सोचको परिणाम भएको बताए।
नेपाली पत्रकारिताको पछिल्लो अवस्था र सम्पादकीय स्वतन्त्रताको विषयमा उठाइएको प्रश्नको जवाफमा वाग्लेले पत्रकारिताको प्रश्न आज सम्पादकीय शक्ति स्थापित गर्नु भएको बताए।
सम्पादकीय प्रकृया बाहिरको सूचनाले पहिलै आम जन–मानसलाई सूचित वा गलत सूचित गर्ने मुख्य समस्या बन्दै आएको बताए।
‘हिजो समाचारको विषयलाई गम्भीरताका साथ लिइने गरेको र एउटा पत्रकारले खोजी गरेको समाचार पस्कँदासम्म डेस्क, इडिटर अनि प्राथमिकताका आधारमा पब्लीकसम्म पुग्दा त्यसको महत्व र विश्वनियता कायम थियो’, उनले भने, ‘तर पछिल्ला दिनमा पस्कने कतिपय समाचारमा एउटै ब्यक्तिको तजबिज र निर्णय हुने भएकोले यसमा आम पाठकको औंला उठ्न थालेको हो।’
कार्यक्रममा बोल्दै अस्ट्रेलियाका कार्यवाहक राजदूत कुल बहादुर मगरले प्रवासमा नेपाली पत्रकारीताको महत्व बढ्दै गएको बताए।
मगरले नेपाली समाजको बढोत्तरी हुँदै गर्दा समाजलाई सुसूचित गर्ने माध्यमको पनि आवश्यकता भएकाले प्रवासी पत्रकारिताको भूमिका थप महत्वपूर्ण बन्ने बताए।
एनएसडब्लुका महाबाणिज्यदूत दिपक खड्काले पत्रकारिता समाजको ऐना भएकोले यसको महत्व संसारभर रहँदै आएको र अस्ट्रेलियामा पनि नेपाली समाजलाई जोड्ने र यसका गतिविधिलाई सबैमाझ पुर्याउन मिडियाको महत्वपूर्ण भूमिका रहँदै आएको बताए।
कार्यक्रममा बोल्दै एनआएरएनका केन्द्रिय उपाध्यक्ष धर्मराज अधिकारीले प्रवासी नेपालीको हक र अधिकारको लडाईँमा समेत प्रवासी मिडियाको भूमिका महत्वपूर्ण रहँदै आएको जिकिर गरे।
‘एक पटकको नेपाली सधैको नेपाली’ अभियान होस् या दोहोरो नागरिकता र मतदानको अधिकारको सवालमा एनआरएनले खेल्दै आएको भूमिकाका बारेमा उनले प्रष्ट पारे।
समारोहमा शुभकामना दिँदै एनआरएन ओसेनिया संयोजक दिनेश जोशीले सञ्चारकर्म आफैंमा महत्वपूर्ण र जिम्मेवार पेशा भएकोले प्रवासमा नेपाली मन र तनलाई एकताको सूत्रमा बाँध्न यसको भूमिका महत्वपूर्ण रहेको जिकिर गरे।
कार्यक्रममा नेपालबाट आएका अतिथि सञ्चारकर्मी सुरेन्द्र पौडेलले अस्ट्रेलियामा समेत सञ्चारकर्म गरेर समाजलाई सुसूचित गर्ने काममा लागेका पत्रकारको भूमिका सशक्त र महत्वपूर्ण रहेको बताए।
कार्यक्रममा मुख्य प्रायोजक मेट्रो होम्सका कार्यकारी ज्ञानेन्द्र कार्कीले समाजलाई सुसूचित गराउने सञ्चारकर्म र नेपाल न्युज अस्ट्रेलियालाई सहयोग गर्न पाएकोमा खुसी प्रकट गरे।
‘अस्ट्रेलियामा तिब्र विस्तारको क्रममा रहेको नेपाली समाजलाई जोड्ने र यसका सफलताका कथाहरू बोल्ने महत्वपूर्ण मिडियाको अझै खाँचो छ’, उनले भने।
कार्यक्रममा कानुनविद शम्सेरसिंह थापा, पत्रकार सुवास ढकाल, समाजिक अभियन्ता भवानी ओली, जनसम्पर्क समितिका अध्यक्ष शुरेश गुरूङ, एनआरएनका कोषाध्यक्ष अनिल पोखरेल, एनआरएनका पूर्व उपाध्यक्ष मन केसी, एनआरएन अस्ट्रेलियाका पूर्व अध्यक्ष गोवा कटवाल, सुरेन्द्र सिग्देल, पूर्व महासचिव ज्ञानेन्द्र रेग्मी, रेडियो नेपालका सन्चारकर्मी अजय बम, एनएडीएफका पूर्व अध्यक्ष बालचन्द्र भट्टराई, प्रवासी नेपाली मन्चका रमेश पाण्डे, एनआरएनका उपाध्यष देव गुरुङ, कोषाध्यक्ष सन्ध्या शाह, आईसीसी सदस्य बुद्धि डल्लाकोटीलगायतले पत्रिकाको सफलताको लागि शुभकामना प्रदान गरेका थिए।
नेपाल न्युज अस्ट्रेलियाका प्रधान सम्पादक माधव गैरेले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै कार्यक्रमलाई निरन्तरता दिने बताए।
कार्यक्रममा मेट्रो होम्स एन्ड पार्टनर्स, भिसा पार्टनर राइट एन्ड एशोसियट्सलगायत विभिन्न सहयोगी संस्थालाई सम्मान पत्र वितरण गरिएको थियो।
कार्यक्रममा नेपाली समाजका चर्चित कलाकारहरू रमन रेग्मी, नरेश रेग्मी, जेनिसा गौतमको प्रस्तूती समेत समेटिएको थियो।