नेपाली कांग्रेसका नेता तथा पूर्व सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले मुलुकमा पछिल्लो परिदृष्यका रूपमा देखिएको स्वतन्त्र उम्मेदवारको उदय राजनीतिक दलका लागि महत्वपूर्ण चुनौती भएको बताएका छन्।
राजनीतिक दलका उमेदवारलाई पछारेर राजधानी काठमाडौंलगायतका केही महत्वपूर्ण पालिकामा स्वतन्त्र उमेदवारको उदयले दलीय व्यवस्था र नेताप्रतिको तिखो ब्यङ्ग्य गरेको पूर्व स्वास्थ्य मन्त्रीसमेत रहेका बस्नेतले प्रतिक्रिया दिए।
जनसम्पर्क समिति अस्ट्रेलियाले आयोजना गरेको कार्यक्रममा बोल्दै बस्नेतले यस विषयमा राजनीतिक दलहरू गम्भीर नभए आगामी संसदीय चुनावमा अझ बढी स्वतन्त्रको उदय हुन सक्ने बस्नेतले दाबी गरे।
नेपाली कांग्रेसका केन्दीय सदस्यसमेत रहेका बस्नेतले नेपाल दुख्दा जुरूक्कै उठ्ने प्रवासी नेपाली दोहोरो नागरिकताको हकदार बनेको बताउँदै यस विषयमा नेपाली कांग्रेस र सभापति शेर बहादुर देउवासमेत सकारात्मक र समर्थनमा रहेको जानकारी गराए।
‘मुलुक दुख्दा सबैभन्दा अगाडि फ्रन्टलाइनमा देखिने विदेशका नेपाली र उनीहरूको सहयोग अनि सद्भाव महत्वपूर्ण पाटोको रुपमा रहेको छ’, उनले भने, ‘मुलुकको आर्थिक संकटलाई सहज बनाउन पनि प्रवासी नेपालीलाई दोहोरो नागरिकता दिनु आवश्यक छ। यसले मुलुकमा लगानी भित्र्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ।’
बस्नेतले विदेशबाट मुलुकमा पठाइने रेमिट्यान्स पनि सरकारी च्यानलमार्फत नगएर हुन्डीमार्फत गएकोमा राज्यलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा धेरै घाटा भइरहेको बताए
उनले नेपालको प्रशासनिक परिपाटीको सुस्तता र गलत प्रवृतीका कारण हुन्डी लगायतका कयैन महत्वपूर्ण पक्ष ओझेलमा परेको समेत सुनाए।
राजनीतिमा परोपकारी अभियान सबैभन्दा महत्वपूर्ण पक्ष रहेको कारण आफ्नो राजनीति जिल्लाको विकास र उनीहरुको सेवाभावमा समर्पित गर्दै आएको बस्नेतले बताए।
सिडनीका पूर्व आइसीसी सदस्य अरूण ठाकुरको प्रश्नमा बस्नेतले मधेश नेपाली कांग्रेसको लागि भोट बैंक मात्र नभइ ब्लड बैंकसमेत भएको दाबी गरे। ‘कांग्रेसको राजनीतिमा मधेशका धेरै नेताको रगत पसिना बगेको छ, त्यसैले पनि म यसलाई भोट बैंक मात्र हैन ब्लड बैंक भन्न पनि रूचाउँछु’, उनले भने।
जनसम्पर्क समिति अस्ट्रेलियाका सभापति सुरेश गुरूङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै एनआरएन ओसेनिया क्षेत्रका संयोजक दिनेशराज जोशीले राजनीतिमा हुने उतारचढावले मानिसलाई तलमाथि पारे पनि विचार र सिद्धान्त बोकेर हिँड्ने मान्छेलाई यसले कुनै फरक नपार्ने बताए।
जनसम्पर्क समितिका संस्थापकसमेत रहेका दिनेश जोशीले विवाद र आपसी संघर्षका बिच पार्टीले दिएको आधिकारिकता सबैभन्दा महत्वपूर्ण विषय भएकोले अस्ट्रेलियाको सन्दर्भमा सुरेश गुरूङ नेतृत्वमा रहेको समिति एक मात्र आधिकारीक समिति भएको बताए।
कार्यक्रममा एनआरएन आइसीसी सदस्य बुद्धि डल्लाकोटी, एनएडीफका पूर्व अध्यक्ष डिल्ली ढकाल, समितिका संरक्षक कृष्ण गिरी, एनआरएन अस्ट्रेलियाका पूर्व महासचिव ज्ञानेन्द्र रेग्मी, पूर्व आइसीसी सदस्य निरज श्रेष्ठ, युवा व्यवसायी उद्धव भट्ट, भिम बस्नेत लगायतले मन्तब्य ब्यक्त गरेका थिए।
समितिका महामन्त्री रोहित खड्काले सञ्चालन गरेको कार्यक्रममा एनएसडब्लुका संयोजक शितल गिरीले स्वागत मन्तब्य ब्यक्त गरेका थिए।