विगतका वर्षमाझैं यो वर्षको सगरमाथा दिवस आगामी मे २८ देखि ३१ तारिखसम्म न्युजिल्यान्डका विभिन्न ६ शहरमा हुने भएको छ।
नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका एडमण्ड हिलारीले ६९ वर्ष अघि सन् १९५३ मे २९ का दिन सगरमाथाको सफल आरोहण गरी संसारको सर्वोच्च शिखरमा पाइला टेकेर विश्व कीर्तिमान स्थापित गरेको अवसरलाई स्मरण गर्दै उक्त अवसरमा न्युजिल्यान्डमा रहेका सगरमाथा आरोहीको सम्मानसहित विविध कार्यक्रम रहेको आयोजक गैर आवासीय नेपाली संघ न्युजिल्यान्डले जानकारी दिएको छ।
सर एडमण्ड हिलारीले सगरमाथा क्षेत्रमा शिक्षा, स्वास्थ्य, पर्यावरण विषयमा उत्थान गर्ने हेतुले स्थापना गरेको संस्था हिमालयन ट्रस्ट र न्युजिल्यान्डका नेपाली संघ संस्थाहरुको यो दिवसको आयोजनामा सहकार्य गर्नेछन्।
न्युजिल्यान्डमा सन् २०१४ देखि मनाउन सुरू गरिएको सगरमाथा दिवस यो वर्ष न्युजिल्यान्डका विभिन्न ६ शहरमध्ये इन्भरकारगिलमा २८ मे का दिन, अक्ल्यांड, बे अफ प्लेनटी, हेमिलटन र क्राइस्टचर्चमा २९ मे का दिन र वेलिंगटनमा ३१ मे का दिन सम्पन्न हुँदैछन्।
विभिन्न समयमा हिमाल आरोहण गर्ने आरोहीको उपस्थिति हुने यो कार्यक्रममा नेपालप्रति र हिमाल आरोहणमा चाख राख्ने व्यक्ति तथा न्युजिल्याण्डमा रहेका नेपालीलाई सहभागिताको लागि अनुरोध गरिएको गैर आवासीय नेपाली संघ न्युजिल्यान्डले भनेको छ।
कार्यक्रममा सर एडमण्ड हिलारीको हस्ताक्षर भएको पाँच डलर नोट र हिलारी र तेञ्जिङ भएको कलाकृतिको लिलाम बढाबढ गरिने र प्राप्त रकम हिमालयन ट्रस्टलाई हस्तान्तरण गरिनेछ।
यस दिवसको आयोजनाबाट नेपाल र न्युजिल्याण्डको सम्बन्ध प्रगाढ बनाउन मद्दत गर्नुको साथै नेपालको पर्यटनमा सघाउ पुग्ने पनि आसा गरिएको छ।