विदेशमा गएर पनि आफ्नै भाषामा चिकित्सा सेवा लिन पाउनु आफैंमा गर्वको विषय हो।
चिकित्सा विज्ञानको कयौं पाटामा भाषा पनि एउटा सहजताको माध्यम हो र यसले कतिपय सवालमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ।
आफूले भन्न खोजेको समस्यालाई स्पष्ट रूपमा बताउन नसक्दा कयौं जटिलता पनि थपिन सक्छन्। पढेका र गुनेकाले पनि कतिपय स्वास्थका समस्यालाई राम्रोसँग ब्याख्या गर्न नसकेका कयौं उदाहरण छन् र त्यसले स्वास्थमा समस्या थपिदिएका पनि छन्।
यसै सन्दर्भमा व्यवसायीकताको बदलिदो परिस्थितिमा अस्ट्रेलियाको सिड्नीलाई आधारभूमि बनाएर चिकित्सा सेवामा लागिपरेका डाक्टरहरुले एसफिल्डमा रियल हेल्थ मेडिकल सेन्टर खोलेका छन्।
अस्ट्रेलियाको नेपाली समुदायमा चिरपरिचित नेपाली डाक्टरहरू प्रविण पाठक, सुरेन्द्र खनाल, डा.बाबुराम बस्ताकोटी र डाक्टर सृजना शर्माको संयुक्त पहलमा एसफील्डमा नया रियल हेल्थ मेडिकल सेन्टर सुरू भएको हो।
‘चिकित्सा सेवा एउटा समुदाय र वर्गलाई लक्षित गरेर सञ्चालित हुँदैन, यो सबैलाई सेवा दिने उद्धेश्यका साथ खोलिएको हुन्छ। तर पनि नेपालीका लागि भने भाषागत सहज हुने विश्वास हामीले लिएका छौ’, डाक्टर प्रबिण पाठकले सेतोपाटीसँग भने।
यसको सफलता नेपाली समुदायसँग जोडिने भएकाले नेपाली अभिभावक र विद्यार्थीको स्वास्थ बिमालाई आधार बनाएर सेवा दिने सेन्टरको उद्धेश्य रहेको पाठकले भने।
‘विद्याथी र अभिभावकले स्वास्थ्य बिमा भए पनि त्यसबाहेक पनि केहि रकम तिनुपर्ने र बिमासँग रिफन्डका झन्झट बेहोर्नु नपर्ने वातावरण बनाएका छौ’, डा पाठकले भने।
यसअघि डाक्टर प्रविण र सुरेन्द्र मिलेर मेरिल्यान्डमा रेल्वे टेरेस मेडिकल सेन्टर सञ्चालन गरेका थिए। जुन सम्भवत नेपाली डाक्टरको अस्ट्रेलियामा पहिलो आफ्नै स्वामित्वको क्लिनिक हो।
‘हामी सिड्नीका नेपाली चिकित्सक मिलेर सेवा दिने कुरामा एकताबद्ध हुने र समाजलाई सहयोग गर्ने कुरामा सबै हात एकै साथ हुने सोचका साथ नयाँ प्रयासको थालनी गरेका हौं, डा सुरेन्द्र खनालले भने, ‘भोलिका दिनमा अन्य पेशागत दक्षता हासिल गरेका साथीभाइलाई पनि यसले सकारात्मक शन्देश दिने विश्वास हामीले लिएका छौ’, डा खनालले भने।
नेपाली समुदायको बढोत्तरी हुँदैगर्दा विभिन्न पेशागत विषयमा नेपालीको प्रगति हुनु हाम्रो लागि गौरवको विषय बनेको सञ्चारकर्मी डिल्ली ढकालले बताए। सुरूका दिन सम्झदै ढकाल भन्छन्,‘त्यतिबेला नेपाली बोल्ने मान्छे पाउन मुश्किल हुन्थ्यो, अहिले आफ्नै भाषामा चिकित्सा सेवा र अन्य पेशागत सुविधा पाउन थालिएको छ, यो भन्दा शानको कुरा के हुन्छ र?’
अर्का नेपाली चिकित्सक बाबुराम बस्ताकोटी यसलाई समुदायको बिस्तारसँगैको व्यवसायिक सफलता भन्न रूचाउँछन्।
हिजो नेपाली डाक्टरहरू विभिन्न हस्पिटल र कार्यक्षेत्रमा हुनुहुन्थ्यो भने अहिले व्यवसायीक रूपमा निजी सेवामा पनि एकताबद्ध भएर अगाडि आएका छौ, यो सुखद विषय हो,’ बस्ताकोटीले भने।
एसफील्डमा रहेको सो स्वास्थ क्लिनिक करिब ७० बर्ष पुरानो हो। सो स्वास्थ्य केन्द्रमा करिब चालिस वर्षदेखि भारतीय मुलका चिकित्सक कृष्ण बालाले सेवा दिँदै आएका छन्।
सबै एउटै पेशामा रहेका नेपाली मुलका चिकित्सकबिच सेवा प्रदान गर्ने कुरामा सहजै सहमति जुटेको र नयाँ योजना अनुरूप संयुक्त प्रयासमा क्लिनीक सुरू भएको डा. सृजना शर्माले जानकारी दिइन्।
‘स्वास्थ सेवा सबैलाई आवश्यक रहेको र त्यसमाथि नेपाली समुदायलाई सहजताको लागि यो महत्वपूर्ण पक्ष हो भन्ने मलाइ लाग्छ’, शर्माले भनिन्, ‘त्यसमाथि नेपाली विद्यार्थी भाइ बहिनीलाई स्वास्थ्य बिमामार्फत सिधैं सेवा प्रदान गर्ने हाम्रो लक्ष्य रहेको छ।’
बरउड क्षेत्रमा पछिल्लो पाँच वर्षदेखि चिकित्सा सेवा दिँदै आएकी डा सृजनाले कतिपय विद्यार्थीलाई यसरी स्वास्थ बिमावाट निःशुल्क सेवा प्राप्त गर्न सकिने कुराको जानकारी समेत नभएको उनले बताइन्।
क्लिनिकमा रहेका नेपाली चिकित्सकले नेपाली, अंग्रेजी, रसियन, मान्डारिन, हिन्दी लगायतको भाषामा सञ्चार गर्न सकिने छ।