झापाकी सीमा राई सन् २०२१ मा नर्सिङ पढ्न अस्ट्रेलिया आइन्। कोरोना माहामारी र त्यसको प्रभावले उनलाई पढाइसँगै करियर अगाडि बढाउन निकै गाह्रो भयो।
खर्च धान्न गाह्रो भएपछि साथीहरूले उनलाई सिड्नीको एक कन्सलटेन्सीमा जान सुझाए। त्यहाँ उनलाई कुकरीमा डिप्लोमा पढ्न सल्लाह दिइयो र त्यसका लागि अफर लेटर समेत आयो।
आर्थिक रूपमा केही हल्का हुने र स्थायीत्वका लागि सहयोगी हुने भनिएकाले उनी कुकरी पढ्न राजी भइन्।
उनीसँग तीन वर्षको भिसा थियो। अकस्मात घर जानुपर्ने भयो, नयाँ पढाइ र कामको बिचमा घर पुगेर आइहाल्छु भनेर उनी नेपाल गइन्।
अप्रिल २१ मा उनको अष्ट्रेलिया फर्कने टिकट थियो। अस्ट्रेलियाका लागि तयारी गर्दै थिइन्। अचानक १९ तारिख राती अस्ट्रेलियन अध्यागमन विभागबाट उनलाई इमेल आयो।
इमेल खोलेर हेर्दा उनी छाँगाबाट खसेजस्तै भइन्। त्यसमा लेखिएको थियो-तिम्रो भिसा रद्द गरिएको छ।
ब्याचलर अफ नर्सिङ पढ्न आएकी सीमाले डिप्लोमा भर्ना गरेपछि अध्यागमनले उनको भिसा रद्द गरेको रहेछ।
एउटा शैक्षिक परामर्शदाताको गलत सल्लाहले विद्यार्थीको भविष्यनै बिग्रन सक्छ भन्ने यो ज्वलन्त प्रमाण हो यो।
सुनौलो भविष्यको खोजीमा अस्ट्रेलिया आइपुगेका नेपाली विद्यार्थी गलत सुझाव र सल्लाहको शिकार भएका कयौं वास्तविकता छरपष्ट छन्।
‘जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बिड’ भनझैं यो पेशामा सम्मानित र बेइमानीका बहुरूपी प्रशस्त देखिन्छन्।
शहर र गल्लीमा च्याउझैं उम्रिएका केही शैक्षिक परामर्श केन्द्रमा आधिकारीक माइग्रेशन एजेन्ट बिनै आफ्ना काम अगाडि बढाएका छन्। शैक्षिक परामर्शको एउटा प्रमाणपत्र झुण्ड्याएर अध्यागमनको सल्लाह दिनेले विद्यार्थीलाई अझ धेरै डुबाएका छन्।
पछिल्लो समय कोभिड प्रभावले थलिएको सिड्नीमा थुप्रै अन्तर्राष्ट्रिय विद्यार्थीले राहत र पढाइलाई निरन्तरता दिन लामो ब्रेक पाएका थिए। तर यसै भिडमा हराएकी सीमाले आर्थिक समस्या र महंगो फिसलाई निरन्तरता दिन नसक्दा ब्याचलर अफ नर्सिङलाई अगाडि बढाउन सकिनन्।
यसैबीच काम र व्यवस्थापन सम्हाल्दै अगाडि बढ्दा उनलाई एक जना सँगै काम गर्ने सहपाठीले सहज हुन्छ भन्दै सिड्नीको एजुकेशन कन्सलटेन्सी लगिदिएका थिए।
अस्ट्रेलियामा आफन्त र चिनजान नभएको सीमाले साथीकै सल्लाहमा त्यहाँका एजेन्टसँग कुरा गरिन्। उनलाई पढाइ परिवर्तन गर्दा केही नहुने र पछिको लागि पनि सहज हुने भनि नयाँ सिओई मगाइदिए। पारामाटामा भारतीय मूलका सञ्चालक रहेको कलेजबाट सिओई आएपछि सीमा ढुक्क भइन्।
‘मलाई यस्ता अध्यागमनका कुरा केही थाहा थिएन, पहिलो पढाइ पुरा गर्न नसक्दा समस्या आएको थियो, त्यसैमा रूमल्लिरहेको थिएँ। त्यहाँ गएपछि नयाँ सोओई मगाइदिन्छु भन्नुभयो र भर्ना भएँ’, झापामा रहेकी उनले सेतोपाटीसँग भनिन्, ‘भिसा २०२३ अप्रिलसम्मको थियो। काम विशेषले केही दिन नेपाल आएकी थिएँ। फर्कने एक दिन अगाडि भिसा रद्द भएको इमेल पाएँ। घरमा भनेको छैन, डर लागिरहेको छ।’
सन् २०२१ मा अस्ट्रेलिया आएकी सीमा यतिखेर अन्यौलमा परेकी छिन्। नेपालबाट उनको गुनासो कसले सुनिदिने र यसका लागि यताको शैक्षिक परामर्शदाताको पनि अत्तोपत्तो छैन।
यसैबीच आफ्नो समस्या खुलस्त पारेर हालसम्म भएका सबै वास्तविक तथ्य राखेर अस्ट्रेलियाको दिल्लीस्थित हाइकमिसनमा पुन भिसा प्राप्तिको लागि आवेदन दिन सक्ने सिड्नीका कानुनविद शमशेर सिंह थापाले सुझाए।
‘अस्ट्रेलिया भित्र रहेको अवस्थामा अध्यागमन विभागले सिधै भिसा रद्द गर्दैन र उनीहरूले किन भिसा रद्द नगर्ने भन्ने पत्राचार गर्छन् तर अस्ट्रेलिया बाहिर भएको अवस्थामा सोझै भिसा रद्द गरेर त्यसको कारण सोधिन्छ’, कानुनविद् थापाले भने।
यस्तो आपतकालिन समस्या परेका नेपाली विद्यार्थीलाई आफूले आवश्यक सहयोग गर्दै आएको समेत थापाले बताए।
ब्याचलर पढन आएर डिप्लोमामा चेन्ज गर्नु/गराउनु आफैंमा गलत निर्णय भएको भन्दै शमशेर थापा एण्ड एशोसियट्सका आधिकारीक माइग्रेसन एजेन्ट कोमल खतिवडाले यस्ता सामान्य कुरा विद्यार्थी आफैंले बुझ्नुपर्ने बताए।
‘यो सरासर गलत सल्लाह हो। किनभने ब्याचलर पढ्न आएको विद्यार्थीलाई जान्दा जान्दै तल झारेर डिप्लोमामा भर्ना गरिदिनु हुँदैनथ्यो’, खतिवडाले भने, ‘यस्ता कुरा त विद्यार्थीले जान्नु र बुझ्नुपर्ने हो।’
यस्तो संवेदनशील विषयमा धारणा बनाउँदा र निर्णय गर्दा उपयुक्त स्थान र ब्यक्तिको चयन गर्नुपर्ने खतिवडाले सुझाव दिए।
अस्ट्रेलियाको शैक्षिक निकायमा अन्तर्राष्ट्रिय विद्यार्थीको सवालमा माथिल्लो तहबाट तल झरेर अध्ययन गर्नुपर्दा कतिपय कठोर नियमनको झन्झट बहोर्नुपर्छ।
काठमाडौं र अस्ट्रेलियामा बग्रेल्ती खुलेका शैक्षिक परामर्शका अफिस र आवश्यक योग्यता र दक्षताको प्रमाणपत्र नबोकेका एजेन्टले हरेक दिन विद्यार्थीको जीवनमाथि खेलवाड गरिरहेका छन्।
शैक्षिक परामर्शको प्रमाणपत्र बोकेर माइग्रेशन एजेन्टको काम गरिदिन्छु भन्ने एजेन्टबाटै कयौं विद्यार्थी ठगिइरहेका छन्।
सिड्नीका केही बदनाम शैक्षिक परामर्शदाताले कयौं विद्यार्थीबाट पैसा लिने अनि नाम फेरेर अर्कै नामबाट पुनःधन्दा चलाउने गरेको एक माइग्रेशन एजेन्टले बताए।
अस्ट्रेलियाको कानुनका लचिलो पाटोको फाइदा उठाउँदै केही शैक्षिक परामर्शवालाले विद्यार्थीलाई बहकाउमा पारेर धमाधम अध्यागमनको कामसमेत गरिरहेका छन्।
आफूकहाँ माइग्रेशन एजेन्ट नभए पनि अरू कुनै माध्यमबाट त्यो काम गराउने र कमिसन खाने शैक्षिक परामर्शदाताले कयौं विद्यार्थीलाई ठगिरहेका छन्।
कोरोनाका कारण लामो समय बन्द रहेको सिमा खुलेसँगै नयाँ विद्यार्थीको ओइरो लाग्ने भएकाले यस्ता शैक्षिक परामर्शदाता कम्पनीले अपाच्य विज्ञापन गरेर विद्यार्थी तान्ने काम गरिरहेका छन्।
अस्ट्रेलियामा शैक्षिक परामर्शको बोर्ड टाँगेर अध्यागमनको काम गर्ने केही बेइमानीको पनि कमि छैन। राज्यको लचिलो नीतिको फाइदा लुट्दै अन्य कुनै शैक्षिक परामर्शदाताबाट काम गराउने र आफैं कार्यालयमा बसेर सल्लाह दिनेको बिगबिगी नै छ यहाँ। यसरी आर्थिक प्रलोभनमा परेर विद्यार्थीको भविष्यमाथि खेलवाड गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्छ।
अस्ट्रेलियाको कानुन अनुसार पनि एजुकेशन एजेन्टले माइग्रेशनको काम गर्न पाउँदैन। गरेको भेटिएमा दन्ड जरीवाना र सजायसमेत हुने व्यवस्था छ।
विद्यार्थीलाई कुनै समस्या परेको छ भने सिधै कारबाही गर्ने निकायमा उजुरी दिन सकिने प्रावधान रहेको छ। माइग्रेशन एजेन्ट दर्तावाल हुन वा होइनन् भनेर थाहा पाउन सबैभन्दा सजिलो र भरपर्दो उपाय भनेको ओमाराको वेबसाइट चेक गर्नुनै हो।
कुनै पनि एजेन्टकोमा जानुभन्दा पहिला उनीहरूको आधिकारिकता, उनीहरूको कर्मचारीहरूको अध्यागमन एजेन्ट दर्ता भएको वा मारा नम्बर छ कि छैन त्यो संस्थामा भन्ने कुरा जाँच गर्नुपर्छ।