बाग्लुङ-अस्ट्रेलिया समाजको आयोजनामा सञ्चालित प्रथम टीका कार्की स्मृती भलिबल प्रतियोगिताको उपाधि छन्त्याल परिवार अस्ट्रेलियाले जितेको छ।
सिड्नीका करिब एक दर्जन टिम सहभागि भएको प्रतियोगितामा बाग्लुङको छन्त्याल परिवारले गुर्खा भलिबल टिमलाई ३-२ सेटमा हराउँदै उपाधि जितेको हो।
छन्त्यालले उपाधिसहित २ हजार डलर र ट्रफी हात पारेको हो। दोस्रो हुने गुर्खा टिमले १२ सय डलरसहित उपविजेताको ट्रफी हात पार्यो।
अत्यन्तै प्रतिस्पर्धात्मक फाइनलमा छन्त्याल परिवारले २५-१९ २५-१९ २१-२५ १७-२५ र १८-१६ ले तीन सेट जित्दै वेष्ट अफ फाइभको खेलमा बाजी मार्यो।
लिडकमस्थित बास्केटबल कर्भड हलमा सञ्चालित फाइनलमा छन्त्याल समूहले लगातार दुई सेट जित्दै खेलमा अग्रता लिए पनि गुर्खाले तेस्रो र चौथो सेट जितेपछि खेल पाँचौ सेटमा निर्णायक बन्न पुगेको थियो।
सेट टिम भए पनि फाइनलमा छन्त्यालको सर्भीस पक्ष निकै फितलो देखिएको थियो। उनीहरूले कुल खेलमा १५ अंक सर्भिस आउट हानेर बिपक्षीलाई बलियो बनाएका थिए। जितका लागि मुस्कील देखिएको अन्तिम घडीमा अनुभवले प्रतिद्वन्द्वीलाई पछि पार्दै छन्त्यालले उपाधि हात पारेको थियो।
यता पहिलो सेटमै आफ्ना बलिया स्पाइकरलाई चोटका कारण गुमाएको गुर्खाले टिममा आपसी तालमेल मिलाउन नसक्दा लगातार पहिलो दुई सेटमा हार बेहोरेको थियो।
तेस्रो र चौथो सेटमा लयमा फर्किएको गुर्खाका लागि वेस्ट स्पाइकर विजय लामाको उत्कृष्ट पर्दशन लोभलाग्दो रह्यो। पाँचौं सेटमा समेत अग्रता लिइसकेको गुर्खाले अन्तिम समयमा पुन आपसी तालमेल मिलाउन सकेन र उपाधिवाट बन्चित हुनुपर्यो।
प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि तिलक छन्त्यालले हात पारेका थिए। वेष्ट डिफेन्डर गणेश छन्त्याल, वेष्ट सेटरमा गुर्खाका प्रकाश मगर र वेष्ट स्पाइकरमा विजय लामा भए।
कार्यक्रममा स्वर्गिय टिका कार्कीको योगदान र सम्झनामा बोल्दै एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष देव गुरूङ, रूपन्देही समाजका संस्थापक अध्यक्ष राज खनाललगायतले उनको निधनले अस्ट्रेलियाको नेपाली समाजमा ठूलो क्षति पुगेको बताए।
विजेता टिमलाई एनआरएनका उपाध्यक्ष देब गुरूङ, बागलुङ समाजका कार्यकारी अध्यक्ष विकास सापकोटा, समाजका अभियन्ताहरू गोपाल श्रेष्ठ, कृष्ण सुनार, थमन कुँवर, दिपक अधिकारी, सुदिन केसी, सुमन बिष्ट तथा प्रयोजककातर्फबाट मेट्रो होम्सका अनुराग हुमागाँइ र आरके बिष्टले खेलाडीलाई पदक ट्रफी तथा प्रमाणपत्र बितरण गरेका थिए।
समाजको संस्थापक र अस्ट्रेलियाको नेपाली समाजमा भलिबल खेललाई सुरू गर्ने पत्रकार स्वर्गिय टीका कार्कीको स्मृतीमा समाजले यो प्रतियोगिताको थालनी गरेको समाजका कार्यवाहक अध्यक्ष विकास सापकोटाले बताए।