अप्रिल महिनाको २५ तारिखमा अस्ट्रेलियाका विभिन्न सहर र मुख्य सडकमा विश्वयुद्ध लगायतका लडाइँमा ज्यान गुमाएका तथा मुलुकको रक्षार्थ खटिएका सैनिकहरूको सम्झनामा एन्ज्याक डे परेडको आयोजना हुने गर्दछ।
यो दिनमा अस्ट्रेलियन सरकारले सार्वजनिक बिदा पनि दिने गर्दछ।
इतिहासलाई वर्तमानमा सम्झने र सम्मान गर्ने पर्वका रूपमा मनाइने यस दिवसमा नेपाली राष्ट्रिय झन्डा पनि अस्ट्रेलियन सहरमा फरर फहराउने गर्दछन्।
सन् २०२२ को एन्ज्याक डे परेडमा भूतपूर्व ब्रिटिस गुर्खा सैनिक र उनीहरूका परिवारले सम्मान र सम्झना स्वरूप सिड्नीमा र मेलवर्नमा नेपाली राष्ट्रिय झन्डासहित उत्साहपूर्वक भाग लिएका छन्।
सिड्नी र मेलवर्नमा भएको यस कार्यक्रमका ब्रिटिस गुर्खा परिवारका हाल अस्ट्रेलियामा रहेका नेपालीजनले उत्साहपूर्वक नेपाली राष्ट्रिय झन्डासहित सो परेडमा सहभागिता जनाए।
इतिहासका विभिन्न कालखण्डमा भएका युद्धमा भाग लिएका भूतपूर्व सेना, तिनका आफन्तजन र स्कूले विद्यार्थीहरूले सम्मान स्वरूप विशेष महत्वका साथ परेडमा भाग लिने गरेको यस एन्ज्याक डे परेडमा सहभागी एनआरएनका उपाध्यक्ष तथा पूर्वब्रिटिस आर्मी देव गुरूङले बताए।
गोर्खाली सेना र तिनका परिवारहरू हरेक वर्षझैं ब्रिटिस कमनवेल्थ भेटेरान्स अन्तर्गत ‘द ब्रिगेड अफ गुर्खाज’को नाममा यो परेडमा सहभागिता जनाएका थिए।
सन् १९१५ का अप्रिल २५ मा अस्ट्रेलिया र न्युजिल्यान्डका सेना टर्कीको ग्यालिपोली पुगेका र त्यस युद्धमा मारिएका हजारौं सेनाको सम्झना र सम्मानमा यो परेडको आयोजना गरिँदै आएको हो।
सो युद्धमा ब्रिटिस आर्मीको तर्फबाट गोर्खाहरूले अस्ट्रेलियन र न्युजिल्यान्डको सहयोगमा युद्ध लडिएको कारण पनि गोर्खाहरू यस परेडमा जोडिएको देव गुरूङले सुनाए।
त्यति बेला टर्कीमा समेत गुर्खाहरूले दुस्मनहरूलाई पराजित गरेको र त्यसको सम्झना स्वरूप अहिले पनि त्यस ठाउँको नाम गुर्खा ब्लफ समेत रहेको छ।