भिक्टोरियन नेप्लिज क्रिकेट संघको आयोजनामा सञ्चालित ग्लोबल इन्टरफेस टी टेन क्रिकेट च्याम्पियनसिपको उपाधि एक्सपर्ट सगरमाथा ब्लुजले जितेको छ।
भिक्टोरियाको मेलवर्नमा सम्पन्न प्रतियोगिताको फाइनलमा एक्सर्ट सगरमाथाले फारवेस्ट हन्टरलाई ४२ रनले पराजित गर्दै उपाधि हात पारेको हो।
पहिलो ब्याटिङ गरेको एक्सपर्टले एक विकेटको नोक्सानीमा विष्फोटक ब्याटिङ गर्दै एक सय ८५ रन जोडेको थियो।
प्रतिउत्तरमा फारवेष्ट हन्टर दस ओभरको खेलमा चार विकट गुमाउँदै मात्र एक सय ४३ रनमा सीमित हुन पुगेको थियो।
फाइनलमा एक्सपर्टमा आशिष जिसीले शतकीय पारी र सुमितले अर्धशतक पूरा गरेका थिए।
यता फारवेष्ट हन्टरका ब्याटसम्यानहरूमा बासुले ५६ रन जोडेका थिए।
प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यानमा माभेन क्रिकेट क्लबका मनिष खकुरेल, उत्कृष्ट बलरमा निराजन कार्की घोषित भए भने वेष्ट विकेट किपरमा सुदीप न्यौपाने र म्यान अफ दि सिरिजमा सञ्जय खत्री चुनिएका छन्।
प्रतियोगिताको विजेता एक्सपर्टलाई तीन हजार डलर तथा उपविजेता फरावेष्टलाई पाँच सय डलर नगदसहित प्रमाण प्रदान गरिएको संघका अध्यक्ष सुजित बस्नेतले जानकारी दिए।
विजेता खेलाडीहरूलाई एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष हरि खड्का, ग्लोबल इन्टरफेसका निर्देशक विभूषण जोशी लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए।