अस्ट्रेलियाको संघीय संसदीय निर्वाचनमा एक नेपाली युवा केन्द्रीय सांसदमा निर्वाचन लड्ने भएका छन्।
आगामी मे महिनामा हुने चुनावका लागि चितवन स्थायी घर भइ हाल अस्ट्रेलिया बस्दै आएका नेपाली मुलका विनोद पौडेल सत्तारूढ दल लिबरल पार्टीबाट माकार्थर क्षेत्रमा सांसदको उमेदवार भएका हुन्।
अस्ट्रेलियाको इतिहासमै नेपाली मुलका व्यक्तिले संघीय संसदको निर्वाचनमा सांसदको टिकट पाएको दोस्रो पटक हो। यसअघि पिजे श्रेष्ठले लिबरल पार्टीबाटै सांसदको टिकट पाएर चुनाव लडेका थिए। तर उनी स्थापीत आदिवासी नेतृ लिन्डा बर्नीसँग पराजित भएका थिए।
प्रवासी नेपालीले हालसम्म कुनै पनि विदेशी राष्ट्रको संघीय सांसदमा नेपाली मुलका ब्यक्तिले अहिलेसम्म जित्न सकेका छैनन्।
१५ वर्ष अगाडि विद्यार्थीका रूपमा अस्ट्रेलिया आएका पौडेल सत्तारूढ दलबाट चुनाव लड्दै यस पटक इतिहास रच्ने बताउँछन्।
यसअघि पनि माकार्थरबाट संसदीय निर्वाचनमा लेबरल पार्टीकै उमेदवारले चुनाव जितेका थिए। नेपाली मुलको बाहुल्यता रहेको माकार्थरलाई आफू विजयी हुनेमा ढुक्क छन्।
यसअघि उनले लिबरल पार्टीबाटै काउन्सिलरको चुनाव लडेका थिए। विगत १० वर्षदेखि पार्टीमा आवद्ध रहेर उनी सामाजि काममा सक्रिय रहँदै आएका छन्।
‘मे महिना भित्र हुने संघीय निर्वाचनमा नेपाली समाजको तर्फबाट मैले एउटा महत्वपूर्ण अवसर पाएको छु। यसलाई हामी सबै मिलेर एउटा निर्णयमा पुर्याउनुपर्छ भन्ने मेरो अनुरोध हो’, टिकटको आधिकारिक घोषणापछि आइतबार पौडेलले सेतोपाटीसँग भने।
उनले आफूले चुनाव उठेको क्षेत्रमा आप्रवासीको बाहुल्यता रहेको भन्दै सबैलाई सहयोग गर्न आग्रहसमेत गरेका छन्।
‘यस क्षेत्रमा आप्रवासीको बाहुल्यता छ। म पनि आप्रवासी (नेपाली मुलको ब्यक्ति) भएकोले सबैले आ-आफ्नो ठाउँबाट सहयोग गरिदिनुहुने विश्वास लिएको छु’, पौडेलले भने।
उनले यो जित र हार विनोद पौडेलको मात्र नभइ सिंगो नेपाली समाजकोसमेत भएको स्पष्ट पारे। ‘मैले जिते भने अस्ट्रेलियाको केन्द्रिय संसदमा एउटा नेपालीको प्रतिनिधित्व हुनेछ र नेपाली समुदायको आवाज पनि बन्ने छ’, उनले भने, ‘त्यसैले पनि यस पटक हामी सबै मिलेर हातेमालो गर्दै इतिहाँस कोर्ने बाटोमा अघि बढ्न सबैलाई आब्हान गर्छु।’
माकार्थर क्षेत्रमा लिबरल पार्टीले लगातार जितिरहेको अवस्थामा बिनोदलाई विश्वास गर्नु आफैंमा पनि नेपाली समुदायको लागि महत्वपूर्ण विषय हो।
हरेक तीन वर्षमा हुने संघीय निर्वाचनका क्रममा लिबरल पार्टीले विज्ञप्ती जारी गर्दै बिनोद बहुसांस्कृतिक समाजको प्रतिनिधित्व गर्ने एक जुझारू युवा भएकोले त्यस क्षेत्रको बलियो अर्थतन्त्र र विकासका लागि महत्वपूर्ण प्रतिनिधि भएको जिकिर गरेको छ।
यस पटक लिबरल पार्टीको यो निर्णयपछि अस्ट्रेलियाको राजनीतिक दलमा पनि नेपाली समुदायको प्रभाव राम्रो रहेको प्रमाणित भएको छ।
हाल करिब दुई लाख नपाली अस्ट्रेलियामा बसोबास गर्दै आएका छन्। जसमा ७५ हजार विद्यार्थी छन्।