लगानी र पढाइसँगै उत्कृष्ट शिक्षा र त्यसबाट प्राप्त हुने दिक्षा अहिलेको प्रतिस्पर्धी बजारका महत्वपूर्ण पाटा हुन्।
‘वैदेशिक शिक्षामा लाखौंको लगानी, भविष्यका कर्णधारका लागि खरानी’ नबनोस् भन्ने सबैको चाह हुन्छ। वैदेशिक शिक्षाका नाममा हाजिर गराउने र कलेज भराउने काम मात्र आफैंमा सही होइन। शैक्षिक क्षेत्र भनेको सेवामुलक व्यवसाय हो।
व्यवसायका नाममा शैक्षिक क्षेत्रकै मूल मर्म बिर्सनु गलत प्रवृत्ति हो।
अहिले अस्ट्रेलियाको शैक्षिक उद्योगमा गलत होडबाजी चल्दा विद्यार्थीहरू मारमा परेका छन्। साथै स्तरीय शिक्षाबाट बञ्चित हुनुपरेको गुनासो बढ्न थालेको छ।
नेपालका शैक्षिक परामर्शदाताले ठूलो कमिसनको जालोमा विद्यार्थीलाई भेट कलेज पठाउन बल गर्ने र कलेजवालाले जथाभावी कमिसन दिएर स्तरीय शिक्षाभन्दा अन्धाधुन्ध कलेज भर्ना गर्ने काम गरेको स्वयं शैक्षिक परामर्शदाता बताउँछन्।
पछिल्ला दिनमा अस्ट्रेलियाका कयौं कलेजले आफ्ना एजेन्ट र बजार प्रतिनिधि नेपालमा राखेका छन्। उनीहरू मनपरी मोलमोलाई अनि कमिसनको बार्गेनिङ गरेर विद्यार्थी पठाउँछन्।
हुन पनि अस्ट्रेलियाका भेट कलेजका लागि तीस- पैतीस प्रतिशत कमिसन कुनै ठूलो कुरा रहेन। पछिल्ला दिनमा कलेज भर्ने नाममा पैतीस प्रतिशत कमिसन र प्रत्येक विद्यार्थी दिएवापत थप १ देखि २ हजार बोनसको अफरसमेत आएको पुतलीसडकका एक शैक्षिक परामर्शदाताले सेतोपाटीसँग भने।
यसरी कलेजले विद्यार्थी तान्ने निहुँमा स्तरीय शिक्षाभन्दा कमिसनको चक्करमा रूमलिएको स्पष्ट देखिन्छ।
दुई वर्षपछि बोर्डर खोलेको अस्ट्रेलियामा जनवरीपछि मात्रै लगभग पाँच हजार विद्यार्थी भित्रिइसकेका छन्। त्यसमध्ये ६५ प्रतिशत भेट कलेजमा पढ्न आएका छन्।
नेपालबाट उच्च शिक्षा अध्ययनका लागि छोराछोरी विदेश पठाउने अभिभावकले आफ्ना सन्तानले पढ्ने कलेज र विषयवस्तुका बारेमा राम्रो ज्ञान हुनु जरूरी हुने किंगस्टन कलेजका प्राचार्य दिपक खनालले बताए।
‘कस्तो शिक्षालय, कुन विषय र पठन पाठन तथा त्यसको उपयोगिताको बारेमा सबैभन्दा पहिले अभिभावकले बुझ्न जरूरी हुन्छ’, खनालले सेतोपाटीसँग भने।
उनले आफू पढ्न जान लागेको कलेजमा सुविधा के के छन्, लोकेशन कस्तो के छ भन्ने विषय विद्यार्थीको पहिलो प्राथमिकता हुनुपर्ने औल्याए।
उनीहरू विदेश पढ्न जाने नाममा हचुवाका आधारमा हिँडे भबिष्यमा त्यसले निकै असर पार्ने प्राचार्य खनालले सचेत गराउँछन्।
अहिलेको आवश्यकतानै स्तरीय शिक्षा भएकोले हरेक कलेजको पहिलो प्राथमिकतामा गुणस्तरीय शिक्षालाई राख्नुपर्ने सिड्नीका कानुनविद शमशेरसिंह थापाले बताए।
‘नेपालबाट केका लागि अस्ट्रेलिया आउने हो त्यो विषय क्लीयर हुनु जरूरी छ। पढ्ने हो भने विद्यार्थीको पहिलो प्राथमिकता पढाइ हुनुपर्छ। नेपालका शैक्षिक परामर्शदाताले पनि विद्यार्थीलाई सही र सत्य जानकारी दिनुपर्छ’, उनले भने, ‘विद्यार्थी र अभिभावकलाई हरेक कुरा छर्लङ्ग पार्नुपर्छ।’
शिक्षालय भनेको ज्ञान बाढ्ने केन्द्र भएकोले यसलाई सबैले रोज्ने र खोज्ने बनाउनुपर्ने थापाले तर्क गरे।
‘लगानी गरेपछि मुनाफा कमाउने त्यसको ध्येय पक्कै हो। तर मुख्य उद्धेश्यलाई बिचलित बनाएर पैसा मात्रै कमाउने पनि राम्रो होइन’, उनले भने।
शिक्षाका नाममा ब्यापार सही माध्यम नहुने भन्दै नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष प्रकाश पाण्डेले यसको मुल उद्धेश्य गुणस्तरीय स्तरीय शिक्षा नै हुनुपर्ने बताए।
यस्तो गम्भीर विषयमा शैक्षिक परामर्शदाता र सरोकारवाला कलेज जिम्मेवार हुनुपर्ने उनले बताए।
‘नेपाली युवाको भविष्य निमार्णको सवालमा महत्वपूर्ण भूमिका खेल्ने यो सवाल सबै नेपालीको सरोकारको विषय भएकोले यसमा जिम्मेवार पक्षका रूपमा शैक्षिक परामर्श सेवा नीतिगत रूपमा जिम्मेवार र सजग बन्नुपर्ने पाण्डेले बताए।
हामीले विद्यार्थी पढाउन विदेश पठाउने भएकोले परामर्शदाताको पहिलो प्राथमिकता कमिसन नभइ स्तरीय शिक्षा हुनुपर्ने पाण्डेले बताए।
‘परामर्शदाता गुणस्तरीय शिक्षामा केन्द्रित हुनुपर्ने अहिलेका आवश्यकता हो। भेट शिक्षा पनि महत्वपूर्ण विषय भएकोले टेफलगायतका विद्यालयमा यसको अलग पहिचान छ’, उनले भने।
उनले आफूहरूले केहि दिनअघि मात्र नेपाल र अस्ट्रेलियाका कलेज प्रतिनिधि र तथा एजेन्टलाई बोलाएर यसबारे गम्भीर बहस गरिसकेको बताए।
‘मुल मुद्दा गुणस्तरीय शिक्षानै भएकोले सम्वन्धीत कलेजले कमिसनको होडबाजीभन्दा गुणस्तरमा ध्यान दिनुपर्छ’, उनले भने, ‘पढाइका नाममा कमिसनको होडबाजी गरेर कमसल शिक्षा दिनु उचित हुँदैन। यस विषयमा हामी गम्भीर छौं।’
पाण्डेले एटेन्डेन्स नभएर स्कील र नलेजनै अहिलेको आवश्यकता भएको दोहोर्याए। ‘दुई वर्षपछि अस्ट्रेलिया खोलेकाले बढी कमिसन दिएर धेरै विद्यार्थी भित्र्याउने काम भइरहेको हामीले अनुभव गरेका छौं’, उनले भने, ‘त्यसलाई स्तरीय शैक्षिक पाटोमा रूपान्तरण गर्ने हाम्रो प्रयास जारी छ।’
अहिले अस्ट्रेलियामा नेपाली मुलका व्यक्तिले थुप्रै कलेज खोलेको सुनाउँदै उनले यो आफेंमा शुभ समाचार भएकाले गुणस्तरमा ध्यान दिन आग्रह गरे।