आगामी शनिबार सिड्नीमा अन्तर्राष्ट्रिय विद्यार्थीलाई अष्ट्रेलियाको बारेमा जानकारी दिने कार्यक्रम राखिएको छ।
करिब ७० हजारभन्दा बढी नेपाली विद्यार्थी रहेको अष्ट्रेलियामा यसै वर्ष मात्र ४ हजारभन्दा बढी विद्यार्थी भित्रिएका छन्।
सिड्नीको सिभिक थियटरमा आयोजना हुने कार्यक्रममा नेपालबाट अस्ट्रेलिया उच्च अध्यनका लागि आएका नेपाली विध्यार्थीलाई यहाँको अवस्था र अध्ययन अध्यापन तथा दूतावास र एनआरएनको भूमिकाका विषयमा जानकारी गराइने कार्यक्रमका संयोजक तथा एनआरएनका उपाध्यक्ष देव गुरूङले बताए।
अष्ट्रेलिया आएका विद्यार्थीहरू कतिपय जानकारी र सही सूचनाको अभावमा रूमल्लीरहेको हुनसक्ने भन्दै दूतावाससँग समन्वय गरेर कार्यक्रम आयोजना गरिएको आयोजक एनआरएन एनएसडब्लुका सचिव बिनोद कुँवरले जानकारी दिए।
कार्यक्रममा नेपाली दूतावासको तर्फबाट कार्यबाहक राजदूत द्रूपदा सापकोटा, एनआरएनका पदाधिकारी, शैक्षिक परामर्शका अनुभवी तथा माइग्रेशन एजेन्टहरुको सहभागिता रहने विनोदले बताए।
यस्ता कार्यक्रमहरु विशेषत नयाँ विद्यार्थीलाई निकै महत्वपूर्ण हुने भएकाले सहभागिताको लागि कुँवरले आब्हान समेत गरे।
बिदेशमा नजानेर गरेको सानो गल्तीले पनि ठूलो समस्या आउनसक्ने भन्दै उनले विशेष गरी नयाँ व्यक्तिले यस्ता कार्यक्रम छुटाउन नहुने उनको तर्क थियो।
कार्यक्रममा अस्ट्रेलियन फेडरल पुलिसका पदाधिकारीको सहभागिता रहने र उनीहरूले यहाँको कानुनी र गैर कानुनी काम कारबाहीका बारेमा विद्यार्थीलाई जानकारी गराउने कुँवरले बताए।
पछिल्ला दिनमा नेपाली विद्यार्थी छिट्टै पैसा कमाउने प्रलोभनमा परेर कयौं गैरकानुनी काममा सामेल भएको र कारबाहीमा परेकाले यस्ता कार्यक्रम निकै महत्वपूर्ण हुने एनआरएन अस्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेलले बताए।
‘नेपालबाट आएका विद्यार्थीले यहाँको बस्तुस्थिति थाहा नपाएर हात हाल्दा होस्, श्रीमान श्रीमतीबीच सानातिना विवादमा पनि कयौं विद्यार्थीले दुःख पाएको मैले देखेको छु, यसै कारण पनि यस्ता कार्यक्रम निकै महत्वपूर्ण हुन्छन्’, पोखरेलले भने।