नेपालको दुर्गम गाउँमा रहेको एक विद्यालयलाई सहयोग गर्न अस्ट्रेलियाकी एक युवती राजधानी क्यानबेरादेखि सिड्नीसम्मको तीन सय तीस किलोमिटर दौडने भएकी छिन्।
साहसिक खेलुकदमा लगाव राख्ने स्टेफनी होले नेपालको धादिङ जिल्लाको बसेरीस्थित श्री महालक्ष्मी बिद्यालयलाई सहयोग गर्ने उद्धेश्यले सात दिन लगाएर क्यानबेरादेखि सिड्नीसम्म ३३० किलोमिटरको दुरी दौडने भएकी हुन्।
आफ्नो फेसबुक पेजमार्फत स्टेफेनीले दौडबाट तीस हजार डलर उठाउने लक्ष्य राखेको र सो रकमवाट स्कुलमा विज्ञान प्रयोगशाला निमार्ण र कम्प्युटर खरिद गर्ने योजना रहेको बताइन्।
यो अभियानमा सहयोगी मनलाई हात बढाउन उनले आब्हान गरेकी छिन्। सन् २०१९ मा सगरमाथा आधार शिवीर पुग्ने चाहनाका साथ नेपाल पुगेकी स्टेफनीले त्यसपछि आफ्नो सहयोगीमार्फत सो स्कुलमा स्वयंसेवी शिक्षीकाका रूपमा काम गरेकी थिइन्।
त्यसपछि केही महिना सोही स्कुलमा अंग्रेजी शिक्षकको रुपमा काम गरेर उनी अस्ट्रेलिया फर्केकी थिइन्।
सानो उमेरदेखि साहसिक खेलुकदमा रूचि राखेकी स्टेफेनीले आफ्नो व्यक्तिगत रूचिलाई सामाजिक कार्यको रूपमा अगाडि बढाएकी हुन्।
नेपालको दुर्गम स्थानमा रहेका विद्यालयमा स्रोत र साधनको अभाव देखेपछि केही गरौं भन्ने सोच आएको उनले बताइन्।
यसअघि पनि होले लेक बर्ली ग्रीफीनमा ४ घन्टा ३२ मिनेट पौडेर पार गरेकी थिइन्।
स्रोत र साधनको अभावमा नेपालको ग्रामिण भेगका विद्यार्थीले आवश्यक ज्ञान समेत लिन नपाएको देखेपछि स्टेफनीलाई त्यसका लागि केहि गरौं भन्ने भावना जागृत भएको उनले बताइन्।
आफूले पढाउँदै गर्दा विद्यार्थी निकै खुसी भएको र आफ्नो पनि लगाव बढदै गए पछि नेपालको सहयोगमा जुटेको स्टेफनीले बताएकी छन्।
उनी क्यानबेरावाट सिड्नी दौडने क्रममा हरेक दिन ४२ किलोमिटर अर्थात म्याराथनको दुरी दौडने भएकी छन्। एक्लै दौडने क्रममा शारीरिक अस्वस्थता हुन सक्छ त्यसैले खानपीनमा ध्यान दिने गरेको उनी बताउँछिन्।