अस्ट्रेलियामा लगातारको अविरल वर्षासँगै आएको बाढीले एनएसडब्लुको लिजमोर क्षेत्र डुबानमा परेको छ।
सिड्नीबाट करिब साढे सात सय किलोमिटर दुरीमा रहेको समुन्द्री तटीय शहर लिजमोरमा गत शनिबारदेखि लगातार वर्षा हुँदा लिजमोर शहरको उत्तरी भाग पुरै डुबानमा परेको हो।
बाढीमा परी आठ जना अस्ट्रेलियनको ज्यान गइसकेको छ। यस्तै तीन दर्जन बढी नेपाली प्रत्यक्ष प्रभावित भएका छन्।
बाढीले नेपाली समुदायका सदस्यको लाखौं डलर बराबरका धनमालमा क्षति पुर्याएको स्थानीय लिजमोर निवासी मेघ गुरूङले बताए।
बजारको उत्तरी क्षेत्र लगातार डुबानमा परेपछि दक्षिणतर्फको स्थानमा ज्यान जोगाउन गएका नेपालीहरू एकै स्थानमा सेल्टर लिएर बसेका थिए।
वर्षा कम भएपछि आ-आफ्नो वासस्थानमा फर्केिए पनि घरमा रहेका सर-समानहरू कामै नलाग्ने भएको गुरूङले जानकारी दिए।
‘मेरो त ल्यापटपदेखि पासपोर्टसम्म सबै गुमाएँ, घरमा कुनै सामान पनि पुनः प्रयोग योग्य छैन। स्थानीयको सहयोगमा हामी टिकीरहेका छौं’, गुरूङले सेतोपाटीसँग दुखेसो पोखे।
सपत्ती खेर गए पनि ज्यान जोगिएको गुरूङले बताए।
‘पानी केही कम भएपछि घरका सर सामानको अवस्थाबारे बुझ्न साथीहरू आ-आफ्नो घर फर्किनुभएको छ। पानी अझै पनि घुँडाघुँडासम्म छ। सम्पती खेर गए पनि ज्यान जोगाउन पायौं, त्यसैमा खुसी छौं’, गुरूङले भने।
गोर्खाकी अस्मीता गुरूङले आफू घरको छतमा बसेर ज्यान जोगाएको बताइन्।
‘पानी बढेर निकै माथि पुगिसकेको रहेछ। हामी सुरक्षीत हुन छतमा गएका थियौं। त्यहीबाट हाम्रो उद्धार भयो,’ अस्मीताले भनिन्।
घरमा कुनै सामान काम नलाग्ने, थुप्रै साथीभाइको नागरिकता र पासपोर्ट पनि पानीले भिजेर नष्ट भएको उनले बताइन्।
साउर्दनक्रस विश्वविद्यालयमा नर्सिङ र फरेस्ट्री पढ्ने तीन दर्जन नेपाली लिजमोरमा बस्दै आएको अस्मीताले सेतोपाटीलाई बताइन्।
बाढी आउँदा दक्षिणतर्फ अग्लो स्थानमा रहेको एक नेपालीको घरमा आश्रय लिएकी उनी अब कसरी समस्यासँग जुध्ने भन्ने पिरमा छन्।
‘हामीलाई एक जना नेपाली दाजुले आश्रय दिनुभयो। पन्ध्र जना एकै ठाउँमा बसेर दुई दिन गुजार्यौं। अहिले बल्ल पानीको सतह केही कम भएको छ। अब कसरी समस्यासँग जुध्ने भन्ने समस्याले पिरोलेको छ’,अस्मीताले सुनाइन्।
लिजमोरका महेन्द्र न्यौपाने, आरती न्यौपाने ,राज भण्डारी, सिमरन थापा, अनिल चन्द ठकुरीलगायतका थुप्रै नेपाली विद्यार्थी तथा विभिन्न भिसामा यहाँ बस्दै आएका तीन दर्जन बढी नेपाली प्रभावित भएको अस्मीताले जानकारी दिइन्।
अस्ट्रेलियामा यसरी बाढीको चपेटामा नेपाली परे पनि यस विषयमा नेपाली राजदूतावास तथा समाजिक संघ संस्थाले अहिलेसम्म केही पहल नगरेको पीडित नेपालीले बताएका छन्।