म यतिखेर युक्रेन र पोल्यान्डको सिमानास्थित मेडिकामा छु। नेपाल-भारतको सीमा झैं युक्रेन-पोल्यान्डको बजार जोडिएको यो सहर यतिखेर एउटा ठूलो शरणार्थी शिविर जस्तै देखिन्छ।
लगातार पाँच दिनको युद्धका कारण ज्यान जोगाउन भागेर पोल्यान्ड प्रवेश गर्नेको भीड निकै लामो छ।
गैर आवासीय नेपाली संघको केन्द्रिय अध्यक्षको हैसियतले म युद्धको चपेटामा परेका नेपालीको ज्यान जोगाउने र सुरक्षित स्थानमा पुर्याउने अभियानमा सहभागी हुन हिजो बिहानै यो सहरमा आइपुगेको हुँ।
यकिनका साथ पोल्यान्डमा यतिनै नेपाली छन् भन्न निकै कठिन छ। तर पनि उताबाट फर्किने र एनआरएनको तथ्यांक मान्ने हो भने युक्रेनमा एक हजार हाराहारीमा नेपाली रहेको अनुमान लगाउन सकिन्छ।
युक्रेनबाट फर्किएका नेपालीलाई सोध्दा संख्या यकिन गर्न कठिन भएको बताए। मंगलबार बिहान सम्म ९० जना नेपाली दाजुभाइ मेडिकाको युक्रेनी बोर्डर पार गरेर पोल्यान्ड आइसकेका छन्।
उनीहरू थकित मात्र होइन मानसिक रूपमा निकै तनावमा छन्। उनीहरूलाई एनआरएन पोल्यान्डको सहयोगमा वार्सा पुर्याउने काम भइसकेको छ।
केही साथीहरू तीन दिन हिँडेर आइपुगे भेट्यौं। मुस्किलले ट्रेन र बसमा आइपुगेका रहेछन्।
मेडिकाको यो सीमा क्षेत्र अहिले निकै तनावग्रस्त छ।
मौकाको फाइदा उठाउनेले सीमामा पैसा दिनेलाई अग्रस्थानमा राखेर पार गराउने काम भइरहेको रहेछ। अझै २५० नेपाली युक्रेनी बोर्डरमा पोल्यान्ड भित्रिने लाइनमा छन्।
त्यहाँ पनि सरकार र हाम्रोभन्दा पोलिस सरकारको चाहना बमोजिम काम हुने भएकाले पोलिस भाषा बोल्ने र बुझ्ने एनआरएन पोल्यान्डका साथीहरू लागिरहेका छन्।
यतिमात्र होइन एनआरएन रोमानिया, हंगेरी र स्लोभाकिया तथा मल्दोभाका साथीहरू पनि स्थानीय तहबाटै लागिरहेका छन्।
मेडिकामा आइपुगेका नेपाली साथीभाइको अवस्था बुझ्दा गाह्रो छ। त्यहाँ विद्यार्थी भएर आउने कयौं नेपाली युरोप छिर्ने उद्देश्यले आएको पायौं।
कतिले दलाललाई युक्रेन हुँदै युरोप छिर्ने आशमा चालिस लाख सम्म पनि बुझाएका रहेछन्।
सरकारले विद्यार्थी वा अन्य भिसामा युक्रेन पठाउने त्यस्ता एजेन्सीलाई कारबाही गर्नुपर्छ।
यहाँ आइपुगेका कयौं साथीलाई उद्धार गर्न आएका हौं भन्दा ‘हामीलाई नेपाल पठाउने तँ होइन’ भन्दै तर्सिएको र पर सरेको समेत देख्यौं।
नेपालीहरूले युरोप छिर्न दलाललाई लाखौं तिरेको तर पनि युक्रेनमै अड्किने थुप्रै रहेको एक जना साथीले मलाई जानकारी दिएका छन्।
युद्धमा खर्चेको पैसा युरोप छिरेपछि कमाउने योजना उनीहरूले बनाएको पाएका छौं। यसबारे नेपाल सरकारको ध्यानाकर्षण गराउने छौं।
हिजो-आजभन्दा भोलि युद्ध झन् चर्किने अवस्थामा युक्रेनी सीमामा फसेका नेपालीको उद्धार गर्न सक्यौं भने हाम्रो उद्देश्य पूरा हुन्छ।
गैरआवासीय नेपाली संघ पोल्यान्डका अध्यक्ष जीवन केसी, स्वास्थ्य समितिका संयोजक डा. बोधराज सुवेदीलगायतले यस क्षेत्रमा निकै सहयोग पुर्याइरहेका छन्।
जर्मन दूतावासले अहिलेसम्म युक्रेनबाट विस्थापित ३४ जना नेपालीलाई यात्रा अनुमतिपत्र जारी गरेको छ।
युक्रेनी सीमा हुँदै हिजो १२ जना नेपालीहरू सुरक्षित रूपमा रोमानिया पुगेका छन्। केही नेपालीहरू रोमानियाबाट हंगेरी गैरकानुनी रूपमा छिर्न खोजेको समेत खबर आएको छ।
कूटनीतिक सहयोगका लागि जर्मनीका राजदूत रामकाजी खड्कासँग सहकार्य भइरहेको छ।
युद्ध चर्किरहेको अवस्थामा सीमावर्ती क्षेत्रमा चाप बढेको छ। यसै कारण युक्रेनी साइडमा फसिरहेका सबै नेपालीलाई सुरक्षित साथ पोल्यान्ड ल्याउने हाम्रो कोसिस जारी छ।
युक्रेन-पोल्यान्ड सीमा मेडिकामा रहेर नेपालीको उद्धारमा खटिएका गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तसँग सेतोपाटीका अस्ट्रेलिया संयोजक हेमन्त काफ्लेले गरेको कुराकानीमा आधारित।