बहुसांस्कृतिक मुलुक अस्ट्रेलियामा कुल जनसंख्याको २० प्रतिशतभन्दा बढी मानिसले अंग्रेजीबाहेक अरू भाषा बोल्ने गरेको तथ्याकंले देखाएको छ।
विभिन्न मुलुकबाट अध्ययन र शिपसँगै बसाइ सरेर आप्रवासीका रूपमा अस्ट्रेलिया आउने संख्या बढेसँगै सरकारी काम काजबाहेक अन्य ठाउँमा आ-आफ्ना भाषा बोल्ने क्रम बढेको हो।
अभिभावकले आफ्ना छोराछोरीलाई एकभन्दा बढी भाषा सिकाउने चाह अनुरूप नयाँ पिँढीमा अन्य भाषाको प्रयोग बढेको हो।
विभिन्न मुलुकबाट बसाइ सरेका मानिसको मातृभाषा अर्को पुस्तामा हस्तान्तरण हुँदै गए पछि अन्य भाषाको प्रयोग बढेको हो।
बहुसांस्कृतिक मुलक भएकाले राज्यको नीति समेत सहयोगी हुँदा अन्य भाषाको प्रवर्द्धनमा टेवा पुगेको जानकारहरू बताउँछन्। एकभन्दा बढी भाषाको ज्ञान भएका नयाँ पिँढीलाई यसबाट फाइदा पनि थुप्रै हुने अनुसन्धानले देखाएको छ ।
घर होस या विद्यालयमा अंग्रेजीबाहेक अन्य भाषा सिक्न थाल्दा बच्चालाई सुरूमा अलिक गाह्रो हुनसक्छ। तर परिवारमा एउटाभन्दा बढी भाषा सुन्दै र बोल्दै आएकालाई यो कुनै नौलो पहिचान नहुने र उनीहरूको बलियो सांस्कृतिक पहिचान निर्माण गर्न मद्दत पुग्ने सिड्नीका कानुनविद् शमशेरसिंह थापाले बताए।
नेपाली मुलका अस्ट्रेलियन थापाको भनाइ मान्ने हो भने भाषा र संस्कृतिको महत्व हरेक समुदायमा फरक–फरक हुने गर्छ।
‘नेपाली समुदायमा यसले निकै महत्वपूर्ण अर्थ राख्छ’, थापाले भने, ‘दोभाषे हुनाले बच्चाको व्यक्तित्व विकासमा मद्दत पुर्याउँछ।’
अस्ट्रेलियाले विभिन्न स्कुलमा चिनियाँ, ग्रीक, रसियनलगायतका भाषालाई प्राथमिकता दिएर पठनपाठन गराउँदै आएको छ। अष्ट्रेलियाले सूचनाको सहज पहुँचको लागि विभिन्न भाषामा सेवामुलक जानकारीसमेत दिँदै आएको सन्चारकर्मी डिल्ली ढकालले बताए।
अस्ट्रेलिया आउने नयाँ आप्रवासीलाई विद्यालय बाहिर समुदायमा पनि यस्ता दोभाषे सिकाउने कार्यक्रम गरिँदै आएको छ। भाषा पाठशाला जस्ता समुदायले सञ्चालन गरेका साप्ताहिक कक्षाले निकै महत्वपूर्ण भूमिका खेलेको नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियाकी अध्यक्ष सुजाता बस्नेतले बताइन्।
आफ्नो संस्थाले पनि नेपाली गीत संगीतको कक्षा सञ्चालन गरिरहेको जानकारी गराउँदै बस्नेतले त्यसबाट थुप्रै नेपाली बालबालिका आकर्षित भएको बताइन्।
अभिभावकले बालबालिकालाई यसरी एउटाभन्दा बढी भाषा सिकाउँदा उनीहरूको क्षमता अनुसार मात्र अगाडि बढाउनुपर्ने एनआरएनका कोषाध्यक्ष अनिल पोखरेल बताउँछन्। ‘भाषा र संस्कृतिलाई बच्चाको जीवनको सामान्य पाटोको रूपमा लिएर गए उनीहरूमा त्यसको भार पर्दैन। घरमा बाबु आमाले नेपाली भाषा बोल्ने परिवारको बच्चाले बिस्तारै नेपाली सिक्छन र चाख पनि बढ्दै जान्छ’, उनले भने, ‘भाषा भनेको मुलुकसँग जोडिएको एउटा महत्वपूर्ण अंग भएकोले जहाँ भए पनि नयाँ पुस्तामा यसको हस्तान्तरण जरूरी छ।’
वैरागी काईलाको शब्द सापटी लिने हो भने ‘भाषा मर्दा एउटा जाति मर्छ, जातिसँग सम्पदा मर्छ’ भनेझै प्रवासमा हाम्रो भाषा मर्यो भने नयाँ पुस्ताले नेपालसँग जोडिने धेरै कुरा गुमाउने पक्का छ। भाषा मर्दा सम्पदा पनि मर्ने हुनाले सम्पदा भित्र रहने भाषा, साहित्य अनि संस्कृति पनि मर्ने गर्छ।
‘भाषा हाम्रो सभ्यता हो, भाषा हाम्रो संस्कृति हो। यसैले पनि भाषा संकटमा पर्यो भने यसले वहन गरेर ल्याएको सबैखाले सभ्यता र संस्कृति पनि लोप हुन्छ’, अभियन्ता शम्भु पोखरेलले भने।
पहिलो विश्वयुद्वअघि अंग्रेजसँग फिजी पुगेका नेपालीको उदाहरणका हेरे पुग्ने भन्दै पोखरेलले उनीहरू आफूलाई नेपाली भन्छन् तर भाषा जात र मातृभाषाबारे स्वंय अनभिज्ञ रहेको स्मरण गराए।
‘एउटा जातिको सभ्यता र संस्कृति समाप्त हुँदा पहिचाननै मेटिएको प्रमाण पनि हो यो’, उनले भने।
अस्ट्रेलियाको नेपाली समुदायमा खोलिएको करिब एक सय भन्दा बढी संघ संस्था पनि यस अभियानमा जोडिनुपर्ने बेला भइसकेको छ। पहिचान जोगाउने कुरामा अस्ट्रेलियामा खुलेका सामाजिक तथा भेगीय संस्था लाग्न ढिला भइसक्यो। मेला र महोत्सव अनि भेला र खेलाले मात्र हाम्रो भाषा जागिदैन त्यसैले सबै मिलेर नेपालीपन जोगाउन एउटा अभियानको थालनी गर्नुपर्ने बेला आएको छ।
हो हामी नेपालभन्दा धेरै पर अस्ट्रेलियन भूमिमा छौ र यहाँ अंग्रेजी बोल्न अनिवार्य छ। सँगसँगै नेपाली भाषालाई पनि अगाडि बढाउन सकियो भने सुनमा सुगन्ध हुने पक्का छ।