नेपाली कांग्रेसको भातृ संगठनका जनसम्पर्क समिति अष्ट्रेलियामा सुरेश गुरूङको नेतृत्वमा कार्य समिति चयन भएको छ।नव निर्वाचित कार्य समितिको उपाध्यक्षमा राजेश केसी र मनिषा अर्याल तथा महामन्त्रीमा रोहित खड्का र समित केसी छन्।
यस्तै राज्य संयोजकमा सीतल गीरी (न्यु साउथवेल्स), ललीत मल्ल (एसीटी), समिर खतिवडा, टेकनाथ सापकोटा, दिनेश अधिकारी तथा दिलीप खतिवडा छन्।
यस्तै नयाँ कार्यसमितिको सह-महामन्त्रीमा अच्यूत धमला, भुपेन्द्र कँडेल छन्।
केन्द्रीय सदस्यमा रूपराज मैनाली, बसन्त राज भट्ट, विकास कुमार झा, बिशाल पोखरेल, दिपक नेपाल, दिप्सन सापकोटा, क्षीतीज कार्की, मदन धौराली, मन्दीप केसी, निरज गुरुङ, रमेश छत्कुली, सीजन गिरी, श्याम गिरी, तारा डाँगी, थानप्रसाद सुवेदी छन्।
सिड्नीमा आयोजित पद हस्तान्तरण र सपथ कार्यक्रममा निर्वाचन समितिले नव निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र प्रदान गरेको थियो।
कार्यक्रममा नेपाली समुदायका अगुवाले नव निर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना प्रदान गरेका थिए ।
कार्यक्रममा बोल्दै एनआरएनका पूर्वअध्यक्ष गणेश केसीले नव निर्वाचित पदाधिकारी चयनपछि लामो समयदेखि अस्ट्रेलियामा देखिँदै आएको विवादले निकास पाउने विश्वास ब्यक्त गरे।
जनसम्पर्क समितिका संस्थापक दिनेशराज जोशीले ढिलै भए पनि नेतृत्व हस्तान्तरणले अस्ट्रेलियामा छरिएका विभिन्न गुट उपगुटमा विभक्त कांग्रेसीलाई एकतामा बाँध्ने बाटो खुलेको बताए ।
जोशीले प्रवासमा विचारले बाँधिएका एक हुल मनुवाबीचको आपसी मनमुटावले तिक्तता पैदा गर्दा पार्टीलाई समेत घाटा पुगेको विचार ब्यक्त गरे।
एनआरएन अस्ट्रेलियाकोतर्फबाट शुभकामना प्रदान गर्दै कोषाध्यक्ष अनिल पोखरेलले प्रवासमा छरिएका विविध समाजिक संघ संस्थासँग एनआरएनले हातेमालो गरेर अगाडि बढनुपर्ने अहिलेको आवश्यकता रहेको बताए।
कार्यक्रममा सामाजिक अभियन्ता तथा निर्वाचन समितिका सदस्य प्रेम सापकोटाले पार्टीले नयाँ जिम्मेवारी दिएको र मान्यतासमेत प्रदान गरेका कारण सबैलाई गुट उपगुट छाडेर गुरूङ नेतृत्वको कमिटीमा समाहित हुन आग्रह गरे।
शैक्षिक परामर्शको छाता संगठन एकाका अध्यक्ष भुपाल सिटौलाले नयाँ कार्यसमितिका पदाधिकारीलाई नयाँ कार्यकालका लागि सफलताको शुभकामना प्रदान गरे।
एकाका पूर्व अध्यक्ष निरज श्रेष्ठले विचारलाई वैधानिक तबरले अगाडि बढाउन सबैलाई आग्रह गर्दै अबको तीन वर्ष गुरूङलाई सहयोग गर्न आग्रह गरे।
कार्यक्रममा एनआरएनका पूर्व महासचिव ज्ञानेन्द्र रेग्मी, सामाजिक अभियन्ता सन्जिव शर्मा, टीएन अर्याल, सुप्रीम गौतम, ग्रानभिल राइनोजका अध्यक्ष भीम बस्नेतलगायतको उपस्थिति थियो।
कार्यक्रममा निर्वाचन समितिका संयोजक राज कुमार अधिकारीले निर्वाचन सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद प्रदान गरे।
कार्यक्रममा निर्वतमान अध्यक्ष कृष्ण गिरीले नव निर्वाचित अध्यक्ष सुरेश गुरूङलाई कागजपत्र हस्तान्तरण गरेका थिए। अध्यक्ष गुरूङले अस्ट्रेलियामा छरिएर रहेका कांग्रेसिजनलाई एउटै छातामुनी ल्याएर सबैको साझा चौतारी बनाउने आफ्नो अभियान रहेको बताए।