नेपाल र अस्ट्रेलियाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको आज ६२ वर्ष पुरा भएको छ।
विपी कोइराला नेतृत्वको पहिलो जननिर्वाचित सरकारले वैदेशिक सम्बन्ध अगाडि बढाउने क्रममा १५ फेब्रुअरी १९६० मा नेपाल र अस्ट्रेलियाबीच औपचारिक सम्बन्ध स्थापना गरेको थियो।
६ दशक लामो कुटनीतिक सम्बन्धले दुई देशबीच आपसी ब्यापार र सहयोगमा फड्को मार्न सकेको छैन।
नेपाली विद्यार्थीका लागि उच्च अध्ययनको उत्कृष्ट गन्तब्य अष्ट्रेलियामा शैक्षिक उद्योगमार्फत अर्बौं नेपाली रूपैया भित्रिरहेको छ।
यता अस्ट्रेलिया सरकारले पनि ‘अस एड’ अन्तर्गत वर्षेनी २२ लाख डलर रकम नेपाललाई खर्च गर्दै आएको छ।
अष्ट्रेलियामा आवासीय दूतावास स्थापना भएको पनि १५ वर्ष नाघिसक्यो। यस अवधिमा दुई देशबीच कुनै पनि उच्चस्तरीय वार्ता भएको छैन। साना तिना भेटघाटमै सिमित कुटनीति विगतको जति गर्बिलो बन्न सकेको छैन।
हिजोका दिनमा राजा महेन्द्रको राजकीय भ्रमणपछि दुई वटा हवाइजहाज सहयोग पाएको नेपालले अहिले अष्ट्रेलियालाई अरबौंको आर्थिक श्रोतका रुपमा विद्यार्थी पठाइरहेको छ। अष्ट्रेलियामा तेस्रो ठूलो संख्यामा अन्तर्राष्ट्रिय विद्यार्थी नेपालबाटै आइरहेका छन्।
तर २० औं वर्षदेखि नेपालले भने ‘अस एड’ को करीब दुई मिलियन डलर सहयोगकै आसपासमा बसेको छ।
पछिल्लो समय संख्यात्मक रूपमा बलियो बन्दै गएको नेपाली समाज र कुटनीतिक सम्बन्धलाई जोडेर आपसी सहयोगलाई गर्विलो र मलिलो बनाउने बेला आएको कुटनीतिक क्षेत्रका पण्डितहरू बताउँछन्।
पछिल्लो समय दूतावास छ, महावाणिज्यदूतहरू छन्। तर राजदूत छैनन्। राजदूत नियुक्त नभएका पनि होइनन्। तर कोही घरझगडामा तानिए त केही दल झगडाको शिकार भए।
सम्वन्धका आयामहरू बढ्दै जानुपर्नेमा घटदै गइरहेको छ।
सम्वन्ध सुधारका कयौं सम्भावना र मुलुक जोड्ने थुप्रै योजना यतिबेला फाइलमै सिमित छन्।
लाखौं कमाइ हुने कृषि कामदार अस्ट्रेलियाले खोजेको खोजै छ। तर हामीले पूर्वी एसियाको घेरा तोडेर अगाडि बढ्न सकेका छैनौं।
दूतावास फोन नउठेका गुनासा, पासपोर्ट र घरायसी कागजताकामै सिमित छ। दूतावासमा अझै बैंक कार्ड चल्दैन। नगदमै कारोबार हुन्छ।
हुन्डीको स्वर्ग बनेको छ अस्ट्रेलिया। दिनहुँ करौडौं रकम अवैध बाटोबाट नेपाल गइरहेको छ। अस्ट्रेलियामा खुलेआम विज्ञापन गर्छन्। त्यसलाई रोक्ने काम त कता हो कता पाएसम्म पश्रय दिन्छन दूतहरू।
लाखौं नेपालीको बसोबास रहेको अस्ट्रेलियाबाट नेपाल सिधा उडान गर्ने योजना कोरोनाको दुई आकस्मिक उडानसँगै सकिएको छ।
तथ्यांकका आधारमा करिब ७० हजार नेपाली विद्यार्थी अध्ययन गर्ने र लाखौं नेपाली बसोबास गर्ने अस्ट्रेलिया नेपाल र नेपालीको लागि महत्वको विषय बनेको छ।
यसरी इतिहासमा भन्दा बर्तमानमा महत्वपूर्ण नाता गाँसिएको नेपाल र अस्ट्रेलिया बिचको कुटनीतिक सम्बन्ध झन झन कमजोर हुँदै गएको छ। आपसी सहयोगभन्दा राजनीतिक खिचातानिमै अलमलिएको छ।
हाम्रो कुटनीति यतिसम्म कमजोर छ कि, नियुक्त भएका राजदूत पनि दलीय भागबण्डाका कारण बिचमै फिर्ता हुनुपरेको छ।
सन् १९१५ मा प्रथम विश्वयुद्वको समयमा बेलायती सेनाको गोर्खा रेजिमेन्टमार्फत टर्कीको गलीपोलीमा गोर्खाली सिपाहीले अस्ट्रेलिया र न्युजिल्यान्डका पक्षमा युद्व लडेका थिए। दुई देशबीचको आपसी सम्वन्धको साइनोको त्यतिबेलादेखि जोडिएको हो।
अहिले पनि गलीपोली युद्वको सम्झनामा अस्ट्रेलियाभर मनाइने परेडमा गोर्खा सैनिकलाई विशेष महत्व दिँदै आएको छ।
तर नेपालले विगतलाई समेत सम्हालेर अगाडि बढाउन सकिरहेको छैन।
औपचारिक सम्बन्ध स्थापना नहुँदै सन् १९५४ यता अस्ट्रेलियाले नेपाललाई कोलम्बो प्लानअन्तर्गत नेपाली विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको थियो।
विभिन्न विधाका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएर तालिम तथा पढ्ने अवसर दिएको अष्ट्रेलियाले नेपालको जनशक्ति विकासमा त्यतिबेलादेखिनै सहयोग गर्दै आएको थियो। तर पछिल्लो समय कुटनीतिक कारणले नै उक्त सहयोगले निरन्तरता पाएको छैन।
अस्ट्रेलियाले नेपालमा तत्कालै राजदूत खटाए पनि नेपालले त्यसको ६ वर्षपछि मात्र गैरआवासीय राजदूत खटायो।
सन् १९६५ को जुलाईमा नेपालले जापानमा दूतावास स्थापना गरेर १९६६ वाट जापानकै राजदूतले अस्ट्रेलियामासमेत हेर्ने गरि जिम्मा दियो।
सन् १९६६ मार्च १६ मा अस्ट्रेलियाका तत्कालीन विदेशमन्त्री पल ह्याजलकले अस्ट्रेलियाका लागि नेपालले पहिलो राजदूतमा भरतराज राजभण्डारीलाई नियुक्त गरेको जानकारी गराए।
३० मार्च १९६६ मा राजभण्डारीले अस्ट्रेलियाका तत्कालीन गभर्नर जनरल रिचर्डसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका थिए।
सन् १९७१ को अप्रिलमा राजा महेन्द्रले अस्ट्रेलियाको राजकीय भ्रमण गरेर दुई देश बिचको सम्वन्धलाई थप प्रगाढ बनाउने काम गरे। त्यतिबेला अस्ट्रेलियाले दुई वटा बिमान नेपाललाई सहयोग गरेको थियो।
त्यसपछि सन् १९८५ सेप्टेम्बर पहिलो साता राजा वीरेन्द्रले अस्ट्रेलियाको राजकीय भ्रमण गर्दै सम्बन्धलाई थप विस्तार गरे।
ठूलो दलबल र ध्वजाबाहक विमानमा आएका उनले अस्ट्रेलियामा रहँदा क्यानबेरा, ब्रिस्बेन र मेलबर्नलगायतका क्षेत्रको भ्रमणसमेत गरेका थिए।
राजधानी क्यानबेरामा सन् २००७ मार्चमा नेपाली दूतावास स्थापना भयो र अस्ट्रेलियाका लागि पहिलो नेपाली आवासीय राजदूतमा योगेन्द्र ढकाल नियुक्त भए।
सन् २०१६ नोभेम्बरमा नेपालका तत्कालीन परराष्ट्रमन्त्री प्रकाशशरण महतले अस्ट्रेलिया भ्रमण गरेका थिए। सोही भ्रमणका क्रममा उनका समकक्षी अस्ट्रेलियन परराष्ट्रमन्त्रीसँग भेटवार्ता गरेका थिए। यो भ्रमण निजीस्तरमै भएको थियो।
औपचारिक सम्बन्ध स्थापनाको ६२ वर्षे ईतिहासमा दुवै मुलुकबाट हालसम्म औपचारिक, मन्त्रीस्तरीय तथा प्रधानमन्त्रीस्तरीय भ्रमणसमेत हुन सकेको छैन।
दुई लाखको हाराहारीमा नेपाली बसोबास गर्दै आएका नेपालीहरुको आन र शानसँग जोडिएको नेपाल अस्ट्रेलिया कुटनीतिक सम्बन्ध विद्यार्थीको ओइरो र रजनीतिक रोइलोमा अल्झिएको छ।
सम्भावनाका हजार पाटाबीच कुटनीतिक क्षेत्रमा विश्वासको वातावरण बनाउन नसकेको नेपालले आफ्नो परराष्ट्र नीतिलाई बलियो बनाउन अझै महत्वपूर्ण थिति बसाउन जरूरी छ।