कोरोना भाइरसको संक्रमणबाट अस्ट्रेलियामा एकै दिन हालसम्मकै सर्वाधिक ७७ जनाको ज्यान गएको छ।
त्यसमध्ये न्यु साउथ वेल्स, भिक्टोरिया र क्वीन्सल्याण्डका बढी छन्। यो सँगै कोरोनाभाइरस महामारी सुरु भएयता अस्ट्रेलियामा सबैभन्दा धेरै मानिसको मृत्यु भएको रेकर्ड कायम भएको हो।
यसअघि सोमबार अष्ट्रेलियामा ३१ जनाले ज्यान गुमाएका थिए। आइतबार ३५ जनाले ज्यान गुमाएको अष्ट्रेलियामा शनिबार ५५, शुक्रबार ५६ र बिहिबार ५७ जनाले ज्यान गुमाएका थिए।
अघिल्लो वर्षको संक्रमणबाट सबैभन्दा धेरै ५९ जनाको मृत्यु भएको थियो। सेप्टेम्बर ४ सन् २०२० मा यसअघि सबैभन्दा धेरै मृत्यु एकै दिन भएको थियो।
पछिल्लो २४ घन्टामा अष्ट्रेलियाभर ७३ हजार ५ सय ८० जनामा संक्रमण पुष्टि भएको छ।
जसमध्ये न्युसाउथ वेल्स राज्यमा २९ हजार ८ सय ३० जनामा सङ्क्रमण देखिनुका साथै ३६ जनाको मृत्यु भएको छ।
राज्यका अस्पतालमा २,८५० जनाको उपचार भइरहेको छ भने २०९ जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ।
यस्तै भिक्टोरिया राज्यमा २० हजार १ सय ८० जना सङ्क्रमित थपिँदा २२ जनाको मृत्यु भएको छ।
क्वीन्सल्याण्डमा १५ हजार ९ सय ६२ जनामा सङ्क्रमण पुष्टि भएको थियो। यहाँ १६ जनाको मृत्यु भएको छ। यसैबीच क्विन्सल्याण्डका स्वास्थ्य मन्त्री युभेट डियाथले स्वास्थ्य संस्थामा भाइरसको फैलावटलाई कम गर्न अस्पतालमा बिरामी भेट्ने नियममा परिवर्तन भएको बताएकी छन्।
टास्मेनियामा १,३१० जना सङ्क्रमित पछिल्लो २४ घन्टामा थपिएका छन्।
यसैबीच भिक्टोरियाका अस्पतालमा ओमिक्रन लहरले स्वास्थ्य सेवामा असर पार्दा आपतकालिन अवस्था 'कोड ब्राउन' घोषणा गरिएको छ।
भिक्टोरियाका उप प्रिमियर जेम्स मर्लिनोले स्वास्थ्य प्रणालीमा श्रमशत्तिको अभाव रहेको अवस्थामा पुगेको बताएका छन्।
६ वटा रिजनल क्षेत्रका अस्पतालमा पनि लागू हुने 'कोड ब्राउन' आदेशमा छुट्टिमा बसेका कर्मचारी बोलाउन सकिने र अत्यावश्यक बाहेकका हेरचाह स्थगन गर्न सकिने बताइएको छ।
यस्तै तास्मेनियामा आज मध्यरातदेखि पूर्ण खोप लगाएका यात्रुले यात्रा गर्नुअघि यात्रा दर्ता गर्नु नपर्ने भएको छ। कोभिड-१९ परीक्षण गर्नुपर्ने आवश्यकता नभए पनि खोप नलगाएका मानिसमा भने नियममा परिवर्तन नहुने राज्य सरकारले बताएको छ।
हालको अवस्थालाई मध्यनजर गरी क्वीन्सल्याण्डमा नयाँ शैक्षिक सत्र दुई हप्ता ढिला गरी सुरु हुने भएको छ।