नेपालबाट हराएका र चोरी भएका बहुमुल्य कलाकृतिमध्ये एउटा अस्ट्रेलियाको न्यु साउथ वेल्स आर्ट ग्यालरीमा बीस वर्षदेखि रहेको तथ्य सार्वजनिक भएको छ।
नेपालबाट सन् १९७० र ८० को दशकमा सयौंको संख्यामा हराएको सांस्कृतिक सम्पदा र कलाकृतिमध्ये पाटनको सुलिमास्थित रत्नेश्वर मन्दिरको एउटा काठको टुँडाल ग्यालरीमा फेला परेको हो।
ग्यालरीमा उक्त टुँडाल रहेको थाहा पाएपछि अष्ट्रेलियास्थित नेपाली दूतावास र महावाणिज्यदूतको कार्यालय मिलेर त्यसलाई नेपाल फर्काउन पहल सुरू गरेका छन्।
करिब सात सय वर्ष पुरानो टुँडाल न्यु साउथवेल्स राज्यको ‘आर्ट ग्यालरी अफ न्युसाउथवेल्स’ मा रहेको थाहा पाएपछि अस्ट्रेलियास्थित नेपाली दूतावासले चासो देखाएको हो।
दूतावासकी कार्यबाहक राजदूत द्रुपदा सापकोटा र एनएसडब्लुका महाबाणिज्यदूत दिपक खड्कासहितको टोलीले ग्यालरीका पदाधिकारीसँग यस विषयमा छलफल गरेका छन्।
नेपालको उक्त ऐतिहासिक टुँडाल सन् २००० मा एलेक्स बियानकार्डी भन्ने अभियन्ताले न्यु साउथवेल्स लाइब्रेरीलाई हस्तान्तरण गरेको आर्ट ग्यालरी अफ न्युसाउथवेल्सले जनाएको छ।
उक्त ऐतिहासिक कलाकृति नेपाललाई फिर्ता गराउन ग्यालरी तयार भएको कार्यवाहक नेपाली राजदूत सापकोटाले सेतोपाटीलाई जानकारी दिइन्।
‘ग्यालरीले पाटनको सुलिमाको मन्दिरको टुँडाल भनेर लेखिदिएकोले त्यसलाई सजिलै चिनियो। हामीले लाइब्रेरीका सम्वन्धीत पक्षलाई यसबारे जानकारी गराउदाँ उहाँहरू हाम्रो सम्पदा फिर्ता गर्न तयार देखिनुभएको छ’, सापकोटाले भनिन्, ‘ग्यालरीले त्यो कलाकृति नेपालको भएको स्वीकार्दै त्यसलाई नेपाल फर्काउने बारे सकारात्मक छ। हामी अब आधिकारीक प्रमाणिकरणका लागि पुरातत्व विभागलाई तत्काल पत्राचार गर्नेछौं।’
ऐतिहासिक टुँडालबाहेक अरू केही सम्पदा पनि उक्त ग्यालरीमा रहेको भन्दै सापकोटाले सुरूमा यसलाई फर्काउन सके अन्य कुराको पनि खोजबिन सुरू गर्ने बताइन्।
‘यसबाहेक पनि अरू केही नेपाली सम्पदा यो लाइब्रेरीमा छन्’, उनले भनिन्,‘सुरूमा हामीले यी सम्पदा फिर्ता गर्न सके अन्यको विषयमा सहज हुने थियो।’
पछिल्लो २० वर्षदेखि न्युसाउथवेल्स आर्ट ग्यालरीमा रहेको यो काठको टुँडालबारे अस्ट्रेलियन पत्रकारले एक पत्रिकामा लेख छापेपछि यसप्रति चासो बढेको हो।
नेपालबाट ल्याइएका यस्ता ऐतिहासिक कलाहरु हामीले स्वदेश फर्काउन सके भोलिका दिनमा हाम्रो सम्पदा संरक्षणमा पनि सबैको चासो बढने र यसको महत्व रहने न्युसाउथवेल्सका महावाणिज्यदूत दिपक खड्काले बताए।
‘हाम्रो औपचारिक भेटमा उहाँहरूले निकै सकारात्मक भूमिका देखाउनु भएको छ, निकट भविष्यमा यो सम्पदा स्वदेश फर्किने कुरामा हामी विश्वस्त छौं’, खड्काले सेतोपाटीसँग भने।
रत्नेश्वर मन्दिरको काठको टुँडाल सन् १९७५ मा चोरी भएको इतिहासविदले उल्लेख गरेका छन्।
सन् १९७० मा युनेस्को सम्मेलनमा गरिएको महासन्धि अनुसार नेपालले पनि अन्य १४१ सदस्य मुलुक झैँ आफ्नो अधिकार प्रयोग गरेर आफ्नो देशबाट हराएर अर्को मुलुकमा भेटिएको आफ्नो सांस्कृतिक सम्पदालाई फिर्ता ल्याउन सक्छ। अन्तर्राष्ट्रिय सम्झौताहरू अनुसार यसरी चोरिएका सम्पदा मूल देशले आफ्नो हो भन्ने प्रमाण दिन सक्नुपर्छ।
न्यु साउथवेल्स ग्यालरीको आधिकारीक पेज हेर्ने हो भने नेपालबाट ल्याइएका १३ औं शताब्दीको पदामापनी, १४ औ शताबब्दीको बुद्ध मूर्ति, खोपिएको टुँडाल, १७ औं शताब्दीको तारा मूर्ति र बज्रसत्भाको मूर्ति, १८ औं शताब्दीमा बनेको भुपतिन्द्र मल्ल र रानीको ढलोटको मूर्तीलगायतका सामाग्री देखिन्छन्।
तर यी सामाग्री कसरी र कुन माध्यमबाट अष्ट्रेलिया आइपुगे भन्ने विषय गौण छ। यी सबै सम्पदा कति लाइब्रेरीले उपहारका रूपमा प्राप्त गरेको र केही खरिद गरेको आधिकारीक पेजमा उल्लेख गरिएको छ।
सन् १९६० देखि १०८० को दशकमा नेपालबाट हराएका हजारौंको संख्यामा सांस्कृतिक सम्पदा तथा कलाकृतिलाई नेपाल सरकारले स्वदेश फर्काउने पहल सुरू गरेको छ।
यसअघि सन् १९८० को दशकमा पाटनको पट्कोबाट चोरी भएको लक्ष्मी नारायणको मूर्ति अमेरिकाबाट नेपाल फिर्ता ल्याइएर पुनर्स्थापित गरिएसँगै अरू त्यस्ता कलाकृतिका बारेमा पनि चासो बढेको छ।
पाटनको पट्को टोलमा रहेको लक्ष्मी नारायणको मूर्ति अभियन्ताहरू र नेपाल सरकारको प्रयासपछि अमेरिकाबाट गत मार्चमा फिर्ता ल्याइएको थियो।