एनआरएनका पूर्वअध्यक्ष भवन भट्टले पछिल्ला दिनमा गैर आवासीय नेपाली संघ भित्र देखिएको रोइलो र भाडभैलोले आफूलाई पिरोलेको बताएका छन्।
‘सबै हात एकै साथ’ भन्ने नारा बोकेर एनआरएन अभियानमा होमिएका भट्टले पछिल्लो समय तेरो र मेरा अनि स्वार्थको ओइरोले संस्थालाई पिरोलेको बताउँछन्।
जापानमा रहेका आफ्नो व्यवसायमा कम र नेपालमा बढी देखिने भट्ट प्राय गेरू बस्त्रमा ओसो तपोवन त केहिले हिमाल र पहाडका फेदीमा ध्यानमग्न हुन थालेका छन्।
परिवर्तनशील जीवनमा आइपर्ने चुनौतीलाई प्रसादका रूपमा ग्रहण गर्दै ओशो सन्यासीका रूपमा आनन्दको सागरमा डुब्न पाएको भट्ट बताउँछन्।
एनआरएनको अभियानमा डेढ दशकको लामो यात्रा तय गरेका भट्ट यतिखेर परोपकारी अभियानमाथिनै संकट आइपरेको बताउँछन्।
सुरूमै एनआरएनको विधि र विधान परिवर्तन गर्नुपर्ने आफूले माग गर्दा त्यतिबेला नमान्दा अहिले संस्थाको हैसियत र प्रतिष्ठामा गम्भीर चोट लागेको बताउँछन्।
उनले एक देश, एक भोट र राष्ट्रिय समन्वय परिषदका सदस्य कार्यकारी सदस्य रहनेगरी संघलाई परिवर्तनशील र सहजीकरण गर्नुपर्ने आवाज उठाएका थिए।
अहिले आएर गर्विलो इतिहास बोकेको यो सामाजिक संस्था विविध व्यक्तिको स्वार्थ र पक्ष अनि बिपक्षमा विभक्त हुनु आम गैर आवासीय नेपालीका लागि चिन्ताको विषय भएको भट्टले बताए।
सकारात्मक स्वभावका भट्ट सामाजिक र परोपकारी अभियानमा पक्ष र बिपक्षी नहुने दाबी गर्छन्। आफ्नो कार्यकालमा लाप्राक नमुना बस्ती, शंखमुल पार्क र एनआरएनको आफ्नै भवनजस्ता योजनालाई सफल बनाएको स्मरण गर्दै उनले यतिखेर संस्थामा आइपरेको संकटले आम सदस्य र अभियन्तालाई चिन्ता थपेको बताए।
आफू जीवन जगत बुझ्न निस्केको एउटा सन्यासी भएकोले यस्ता नकारात्मक विषयमा पछि नलाग्ने बताए। ‘आजको व्यस्त जीवनमा केही समय निकालेर प्रकृति अनि ध्यानमा रमाउनुको मज्जा नै बेग्लै हुन्छ। जसमा मानिसलाई शान्ति मिल्छ’, उनले भने, ‘शारीरिक र आर्थिक रूपमा बलियो ठान्नेहरू पनि मानसिक रुपमा निकै कमजोर भएकै कारण यस्ता प्रतिष्ठा र व्यक्तित्वको लडाइ हुने गरेको छ।’
भट्ट अहिले शरीरलाई उर्जावान बनाउन, खुसी हुने कला सिकाउन, मनका आयामहरुको खोजी गर्न राष्ट्रका लागि तवोवन कार्यक्रम सन्चालन गरिरहेका छन्।
पछिल्लो समय एनआरएनमा देखिएको विवादका विषयमा पूर्व अध्यक्षको हैसियतले भट्ट भन्छन्, ‘संस्थामा राजनीतिको प्रवेशसँगै यो समस्या आउँछ भन्ने कुरा मैले पाँच वर्षअघिनै भनिसकेको थिएँ। नभन्दै आज त्यस्तै भयो’, उनले अगाडि भने, ‘यसलाई नयाँ मोडल अर्थात राजनीतिक प्रभाव र स्वार्थको लडाईँबाट बचाउन विधानलाई सहज र सरल बनाएर एक देश एक भोटको अवधारणा मैले अगाडि सारेको थिएँ। सबै संघहरुको अध्यक्ष कार्यकारी सदस्य हुने र त्यसबाट निर्वाचन गरेर पदाधिकारी चयन गर्ने भएको भए आज यो समस्या आउँदैनथ्यो।’
केही साथीले त्यतिबेला मान्नुभएको भए आजको परिणाम नआउने उनले दाबी गरे। अहिले राजनीति र स्वार्थको लडाईँले संस्थामाथिनै संकट मडारिए उनले बताए।
संरक्षक परिषदलाई दिने भनिएको जिम्मेवारीमा पनि त्यस्तो खासै चासो नदेखाएका भट्टले विवाद र समाधानको निचोड खोज्न सबैले स्वार्थ र तेरो अनि मेरो भन्ने भावना त्यागेर आउनुपर्ने बताउँछन्। ‘संस्था जहिले पनि बलियो बन्नुपर्छ, व्यक्ति भनेको गौण हुन्छ, संस्थागत विकास पहिलो आवश्यकता हो’, भट्टले भने।
पछिल्ला विवादमा कुनै पक्षमा नदेखिएका भट्ट संरक्षकको हैसियतले संस्था बलियो बनाउन पक्ष र बिपक्षी होइन, भावनामा एक हुनुपर्ने बताउँछन्।
‘संस्थागत मूल्य र मान्यताका परोपकारी अभियानमा सामेल हुनुपर्ने बेला तेरो र मेरो भन्दै बजारमा छताछुल्ल हुँदैगर्दा संस्थाको गरिमा घटेको छ’, उनले भने।
यो संस्थालाई हुर्काउन, बढाउन र संस्थागत गर्न लाखौं प्रवासी नेपालीको श्रम र साधन उपयोग भएको भन्दै उनले अहिले औलामा गन्न सकिने केही स्वार्थी तत्वबीच नाकको लडाईँले यसको मर्ममाथि प्रहार भएको जिकिर गरे।
‘संस्था बलियो भयो भने हामी बलियो हुन्छौं। तर यहाँ सधै संस्थालाई कमजोर बनाएर ब्यक्ति बलियो बन्ने र राजनीति गर्ने थलोका रूपमा उपयोग गरियो, यो हामी सबैको लागि चिन्ताको विषय हो’, भट्टले भने।
यतिखेर सन्यासीको रूपमा योग साधना र ध्यानले आफू समाजलाई नयाँ दृष्टीकोण दिने अभियानमा होमिएका भट्टले आग्रह गरे ‘यो सबैको साझा अभियान भएकोले संस्था बलियो बनाउनुस्, पक्ष र बिपक्षी बनेर राजनीति नगर्नुहोस्।’