अष्ट्रेलियामा जारी ११ औं संस्करणको बिग बास लिग (बीबीएल) अन्तर्गत आफ्नो पहिलो खेलमा होबार्ट हुरिकेन्स १४ रनले पराजित भएको छ। सिड्नी सिक्सर्सविरूद्ध बुधबार ब्याटर नचल्दा होबार्ट पराजित भएको हो।
सिड्नीले दिएको १ सय ४५ रनको लक्ष्य पछ्याएको होबार्टले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३० रन मात्र बनाउन सक्यो। उसका लागि पीटर ह्यान्सकम्बले सर्वाधिक ४७, डार्सी सर्टले २१, कप्तान म्याथ्यू वेड, कलेव जेवीलले २०/२० र जोर्डन वोक्सले १० रन बनाए।
बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन्। बलिङमा टम करनले तीन, हेडेन केरले दुई, बेन्जामिन मानेन्टी, क्रिस जोर्डन र स्टिभ ओ’फीफले एक/एक विकेट लिए ।
त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको सिड्नीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४४ रन बनायो ।
उसका लागि कप्तान मोइसेज हेनरिकेसले अर्धशतकीय पारी खेले। उनले ४८ बलमा ६ चौका र दुई छक्काको सहयोगमा ७२ रन बनाए। त्यस्तै, टम करनले २७ र जेम्स विन्सले १३ रन बनाए। बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
बलिङमा होबार्टका थोमस रोजर्सले सर्वाधिक तीन विकेट लिए। उनले चार ओभरमा २८ रन दिएर सर्वाधिक तीन विकेट लिएका हुन्। त्यस्तै, नाथन एलिसले दुई, सन्दीप लामिछाने, टिम डेविड र जोएल पेरिसले एक/एक विकेट लिए ।
नेपाली युवा बलर सन्दिप लामिछानेले आफ्नो पहिलो खेलमा पुरै चार ओभर बलिङ गर्दै २४ रन खर्चेर बिष्फोटक ब्याट्सम्यान डान क्रिष्टियनको विकेट लिए।
सन्दीपले आफ्नो पहिलो पहिलो ओभरमा निकै किफायती बलिङ गर्दै मात्र ३ रन खर्चिए।
दोस्रो ओभरमा डानियल क्रिस्टियनलाई ५ रनमा आउट गरेका सन्दीपले एक विकेट लिएर ४ रन खर्चिए। उनले आफ्नो तेस्रो ओभरमा बिना विकेट ७ रन दिए ।
अन्तिम ओभरमा भने सन्दीले २ चौकासहित ११ रन खर्चिए। उनले आफ्नो पहिलो खेलमा समग्र ४ ओभरमा महत्वपूर्ण एक विकेटका साथ २४ रन खर्चिए।