उच्च अदालत पाटनको पछिल्लो निर्णयले अन्यौलमा परेको गैर आवासीय नेपाली संघ (एनआरएन) निर्वाचन तोकिएकै मितिमा हुने पक्का भएको छ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय श्रीमणकुमार गौतम र नरिश्वर भण्डारीको संयुक्त इजलासले आइतबार एनआरएनएको निर्वाचन नरोक्न अन्तरिम आदेश दिएको हो।
न्यायाधीशद्वय गौतम र भण्डारीको इजलासले परराष्ट्र मन्त्रालयको असोज २२ र मंसिर ३ गतेको निर्णय र पत्र पनि कार्यान्वयन नगर्नू भन्ने आदेश दिएको छ।
आइतबारको संयुक्त इजलासले यसअघि न्यायधीश नृपध्वज निरौलाले गत आइतबार जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाईनै निरन्तरता दिने निर्णय गरेको हो।
एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय समितिको समायवधि र नयाँ निर्वाचन प्रक्रियाबारे परराष्ट्र मन्त्रालयले दिएको निर्देशन कार्यान्वयन नहुने भएपछि निर्वाचनका लागि कानुनी बाटो खुला भएको हो।
पाटन उच्च अदालतको फैसलापछि एनआरएनएका अध्यक्ष कुमार पन्त नेतृत्वको अन्तर्राष्ट्रिय समन्वय समितिले निर्वाचनका प्रक्रिया अगाडि बढाउन बाटो खुलेको छ।
एनआरएनको तर्फवाट भीमार्जुन आचार्य, शेर बहादुर केसी र सतिषकृष्ण खरेल तथा विपीन सुवेदीले बहस गरेका थिए।
यस्तै एनआरएनको संरक्षक परिषदका शेष घलेको तर्फबाट शम्भु थापा, सुनिल कुमार पन्त र सुनिल कुमार पोखरेलले बहस गरेका थिए भने मन्त्रालयको तर्फबाट सरकारी वकिलको कार्यालय पाटनका सह-न्याधिवक्ता कृष्ण मोहन कोईराला, सह-न्याधिवक्ता मुना पौडेलले बहस गरेका थिए।
परराष्ट्रले असोज ११ र कात्तिक १७ गते पत्राचार गरी निर्वाचन रोक्न र संरक्षक परिषदलाई निर्वाचन गराउन निर्देशन दिएको थियो।
ती सबै निर्देशनलाई यसअघि आइतबारसम्म कार्यान्वयन नगर्ने उच्च अदालतले आदेश दिएको थियो। आईतबारको अदालतको निर्णयपछि अब भने परराष्ट्रका निर्देशन र पत्रहरु निस्तेज भएका छन्।
एनआरएनएको निर्वाचनमाथि परराष्ट्र मन्त्रालयले निरन्तर हस्तक्षेप गर्दा नेतृत्व छनोट प्रक्रिया अनिश्चित बनिरहेको संघको आरोप थियो ।
महाधिवेशन प्रतिनिधिसम्बन्धी विवाद रहेको भन्दै परराष्ट्रले पटक पटक चुनावी तालिका स्थगित गर्न निर्देशन दिएको थियो।
परराष्ट्रले संघलाई गरेको पत्राचारअनुसार निर्वाचन गराउने जिम्मेवारी एनआरएनएको संरक्षक परिषद्लाई तोकिएको थियो। तर अदातलको फैसला पछि संरक्षक परिषद निर्वाचन गराउनबाट बन्चित भएको छ।
पाटन उच्च अदालतको फैसलालाई गैरआवासीय नेपाली संघले स्वागत गरेको छ।
संघका अध्यक्ष कुमार पन्तले स्वागत गर्दै भनेका छन्, ‘हस्तक्षेपरहित सबैको एनआरएन बनाउने कदमका निम्ति आजको दिन ऐतिहासिक हो। सबैमा हार्दिक बधाई तथा न्यायलयप्रति हार्दिक आभार।’
गैरआवासीय नेपाली संघको नयाँ नेतृत्वको लागि आगामी डिसेम्बर २६ र २७ तारिखको लागि निर्वाचनको मिति तय गरिएको छ।
संघको निर्वाचन समितिको तालिका अनुसार आज ६ डिसेम्वरमा पहिलो चरणको मतदाता नामावली प्रकाशन गरिनेछ भने ११ डिसेम्बरमा उम्मेदवारी दर्ता हुने कार्यक्रम छ।