अस्ट्रेलियामा नेपाली कांग्रेसको एकै दिन दुई वटा जनसम्पर्क समितिका अधिवेशन भएका छन्।
पार्टी सभापति शेर बहादुर देउवाले एउटा जनसम्पर्क समितिको उद्घाटन गरेकै दिन त्यसको विरोधस्वरुप अस्ट्रेलियाभरकै कांग्रेसीजनले अर्को जनसम्पर्क समितिको अधिवेशन तथा निर्वाचन गरेका हुन्।
पार्टीले आधिकारीक रूपमा निर्वाचन समिति बनाएको भन्दै सभापति देउवाले कृष्ण गिरी पक्षको अधिवेशन उद्घाटन गरेका थिए।
यसैबीच लाखौं पैसा लिएर पनि सदस्यता नदिएको र आम कांग्रेसीजनलाई समेट्न नचाहेको भन्दै डेमोक्रयाट समूहले नयाँ समिति गठन गरेर पार्टी नेतालाई चुनौती दिएका छन्।
नेपालमा बसेर लाो समय कांग्रेसको राजनीतिमा गरेका कयौं अनुहारसमेत सामेल भएको समितिले सोम गुरूङको अध्यक्षतामा अस्ट्रेलियाका सबै राज्य समेटेर नयाँ कार्यसमिति घोषणा गरेको छ।
यता आधिकारीक भनिएको कृष्ण गिरी समूहले भने पार्टीका नेता र प्रतिनिधिको उपस्थितिमा उद्घाटन सत्र सम्पन्न गरेर निर्वाचन पछि गर्ने रणनीति बनाएको छ।
त्यस समूहको अध्यक्षमा संयोजक कृष्ण गिरीसहित सदस्य सुरेश गुरूङ र जनसम्पर्कका संस्थापक दिनेशराज जोशीको उम्मेदवारी परेको छ। यद्यपी उम्मेद्वारको नामावली भने सार्वजनिक गरिएको छैन।
‘आफूले तोकेको सात सय डलर जम्मा गरेर उम्मेदवारी दिए पनि अहिलेसम्म निर्वाचन प्रकृया र उम्मेदवारको नामावलीसमेत थाहा भएको छैन’, अध्यक्षका प्रत्यासी दिनेशराज जोशीले भने।
स्वयम् पार्टी सभापति उपस्थित साधारणसभामा खासै सहभागिसमेत थिएनन्।
अर्को जनसम्पर्क समितिले शनिबारनै प्रेश विज्ञप्ति जारी गर्दै मेलवर्नमा बस्दै आएका चितवनका कांग्रेसी नेता सोमप्रसाद गुरूङको अध्यक्षतामा नयाँ जनसम्पर्क समितिको निर्वाचित भएको घोषणा गरेको छ।
उप सभापतिमा गणेश पौडेल र विवेक थापा छन्। यस्तै विभिन्न राज्यका जनसम्पर्क समितिका संयोजकलाई पदेन उपसभापति बनाइएको छ। यसैगरी महासचिवमा अच्यूत अधिकारी र रविन्द्र गौतम तथा उप महासचिवमा हेम दुलाल, रामजी बस्नेतलगायतका सबै राज्यका प्रतिनिधि छन्।
यस्तै कोषाध्यक्षमा कल्पना बस्याल र सह-कोषाध्यक्षमा आशा श्रेष्ठ चयन गरेको छ।
सदस्यमा भने अस्ट्रेलियामा कांग्रेसी भनेर चिनिने धेरै पुराना अनुहारसमेत समावेश देखिन्छन्। जसमा मेलवर्नका दुर्गा आचार्य, नारायण काफ्ले, देवेन्द्र बस्नेत, सिड्नीका छिरिङ शेर्पा, डिल्ली ढकाल, कञ्चन पोखरेल, बुद्धि डल्लाकोटी, सुरेन्द्र सिग्देल, महेन्द्र लम्साल, प्रकाश हुँमागाईँ, सूर्य खनाल, इर्शाद अहमद, प्रदिप पाठक, सांगे शेर्पा, प्रतिज्ञा अधिकारी, ब्रिसबेनका अभिमन्यु केसी, वसन्त पौडेल, पर्थका राजिव नरसिंह केसी र शुशान्त सुवेदी (मीक्की), नवीन बिडारी, रमेश जोशी, शुरेस पोखरेल, राम कँडेल, प्रेम रावल, गणेश खरेल, राजु ढकाल, बेनिका थापा क्षेत्री, लालप्रसाद कँडेललगायत छन्।
लामो समयदेखि विवादमा रहेको अस्ट्रेलियाको जनसम्पर्क समिति मिलाएर मिलाएर लानुपर्नेमा नेतृत्वले भोटको राजनीति गरेको प्रष्ट हुन्छ।
महाधिवेशनको संघारमा रहेको बेला विधि विधानलाई लत्याएर सदस्यतासमेत नबाढी आफूखुसी गरिएको अधिवेशनमा नेता र स्वयम् पार्टी सभापतिको उपस्थितिले भोटको चलखेल भएको अर्को पक्षले आरोप लगाएको छ।
शेखर कोइराला, रामशरण महत, प्रकाशशरण महतदेखि एनपी साउदसम्मका शीर्ष नेता अस्ट्रेलियाको भातृसंगठनमा बढेको विवाद मिलाउन भन्दै आए पनि विगत आधा दशकदेखि यहाँको कांग्रेसी संगठनले पार पाउन सकेको छैन।
साधारणतया कुनैं पनि पार्टीको विदेशमा एउटा मात्र भातृ संगठन (जन सम्पर्क समिति) हुने गरे पनि अस्ट्रेलियामा कांग्रेसका राज्य पिच्छे आ-आफ्ना जनसम्पर्क समिति छन्।
हरेक राज्यका समितिले आफूनै आधिकारीक र विधिवत समिति भएको दाबी गर्दै अस्ट्रेलियाको कानुन अनुसार राज्यपिच्छे दर्ता गरेका छन्। आठ वर्ष बितिसक्दा पनि नेपाली कांग्रेसले एउटा प्रवासको (अस्ट्रेलिया) जनसम्पर्क समितिलाई पूर्णता दिन नसक्नु लाजमर्दो कुरा हो।