भनिन्छ, साझेदारी लामो समयसम्म टिक्न गाह्रो हुन्छ। त्यहीँ माथि पनि लगानी र व्यवसायीक साझेदारीको गाँठो लामो समयसम्म कस्न त झन कठिन नै मानिन्छ।
यस्तै भनाइ र गराइबीच एउटा जोडीले अस्ट्रेलियामा आफ्नो व्यवसायीक साझेदारीमा झन्डै दुई दशकको यात्रा तय गर्दै सफलताको उडान भरेका छन्।
यी हुन अस्ट्रेलियाका युवा व्यवसायी सन्जिव शर्मा र बद्री अर्याल। एक्सपर्ट एजुकेशन एन्ड भिसा सर्भिसेजका निर्देशकद्धय शर्मा र अर्यालको पेशागत संघर्ष सन् २००३ मा प्रारम्भ भए पनि सन् २०२१ सम्म आइपुग्दा सफलताले शिखरनै चुमेको छ।
सिड्नीको संघर्षका दिनबाट सिकेर शैक्षिक व्यवसायमा होमिएका यी दुई जुझारू युवाले १८ वर्षको आपसी तालमेल र साझेदारीलाई एउटा उदाहरणका रूपमा पेश गरेका छन्।
एउटा कोठाबाट सुरू भएको एक्सर्पट एजुकेशन यिनै परिश्रमी हातको मिहिनेतले अहिले १३ वटा देशमा ४० भन्दा बढी उपशाखामा फैलिएको छ।
त्यति मात्र होइन यसले शैक्षिक उद्योग र नेपालको जलस्रोतमा पनि आफ्नो परिश्रमी हातलाई अगाडि बढाएको छ। जसको रूप र आकार भने अझै बाहिर आइसकेको छैन।
अस्ट्रेलियाको शैक्षिक परामर्श क्षेत्रमा अलग र फरह पहिचान बनाएको एक्सपर्टको मुख्य कार्यालय सिड्नी भए पनि यसले भारत, चीन, नेपाल, बंगलादेश, हङकङ, मंगोलिया, श्रीलंका, म्यानमार, भियतनाम र अफ्रिकामासमेत आफ्नो शाखा सञ्चालन गरेर सेवा दिँदै आएको छ।
जसलाई नेपाली शैक्षिक परामर्श क्षेत्रकै एउटा महत्वपूर्ण अध्यायका रुपमा लिइन्छ। व्यवसायलाई स्तरीयताको कसीमा उजिल्याउन यी युवा जोडीले निकै मिहिनेत र परिश्रम खर्चिएको देखिन्छ।
सन्जिव र बद्रीको जोडीलाई अस्ट्रेलियाको व्यवसायीक घरानामा राम लक्ष्मणको जोडीका रूपमा पनि हेरिन्छ। एकल व्यवसायमा सफलता प्राप्त गरेको ब्रगेल्ती कहानी भए पनि साझेदारीमा यति लामो समयसम्मको समझदारी र सफलता भने कमै भेटिन्छन्।
‘शैक्षिक पेशा गर्विलो र चोटिलो पनि छ। राम्रो गर्यो स्याब्यासी र तालीको ओइरो लाग्छन्। अलिकति बिग्रियो, गालीले खोइरो खन्न थाल्छन्। त्यसैले हजारौं युवाको भविश्यसँग जोडिएको यो पेशामा इमानदारीतानै सबैभन्दा ठूलो औजार हो जसले विश्वास दिलाउन सकिन्छ’, निर्देशन सन्जिव शर्माले भने।
सन् १९९६ को अगष्टमा आइटी पढ्न अस्ट्रेलिया आएका सन्जिवले त्यतिबेलाको समयको चित्रण अनौठो रूपमा गरे। ‘कालो कपाल भएको मान्छे देख्न गाह्रो हुने समय थियो, सञ्चारको कुनै प्रविधि थिएन। मुलुकसँग जोडिन पब्लीक बुथमा गएर फोन गर्नुपर्थ्यो। काम खोज्न डोर टु डोर जानुपर्थ्यो। चाडबाड त परै जाओस् भेटघाट पनि कठिन हुन्थ्यो,’ उनले भने।
दाङ घोराहीका धर्मराज शर्मा र शिवा शर्माको जेठा छोरा सञ्जिव कलिलै उमेरमा विदेश हानिए। ‘एउटा नेपालीले अर्को नेपालीलाई भेट्दा आफन्त भेटेको जस्तो माया प्रेम साटिन्थ्यो,’ श्रीमती शर्मिला, छोरी सान्या र छोरा शेनका साथ रमाइरहेका सन्जिव भन्छन्, ‘त्यति बेलाको बलियो चिज भनेको जति नेपाली थियौं सबैबीच चिनजान र भाइचारा कायम थियो। त्यतिबेला नेपालीपन र मनलाई जोड्न नेप्लीज अस्ट्रेलियन वेलफेयर सोसाइटी(नवाज) मार्फत दशैं तिहार र तिज कार्यक्रम गरेर सामुहिक पर्व मनाउथ्यौं।’
नवाजमार्फत समाजिक क्षेत्रमा लागिपरेका सन्जिवले एनआरएनको आइसीसी सदस्यसम्म रहेर आफ्ना दायित्व पुरा गरेका थिए। तर अहिले कुनै सामाजिक पदमै नभए पनि अस्ट्रेलीयाभर हुने सामाजिक क्रियाकलापमा आफ्नो व्यवसायीक घराना एक्सपर्टको भूमिकामार्फत सहभागिता जनाउँदै आएका छन्।
‘हामीले पनि एउटा अन्तर्राष्ट्रिय विद्यार्थीका रूपमा अस्ट्रेलियामा संघर्षको तिता मिठा अनुभव बोक्दै गर्दा सेवामुलक यो शैक्षिक परामर्श पेशालाई विश्वासिलो रुपमा अगाडि बढाउने निधो गरेका थियौं, उनले सेतोपाटीसँग भने, ‘उनीहरूको पनि सफलताको वाटो कोरिने र हाम्रो पनि ब्रेड र बटरको ब्यबस्थापन हुने सोचका साथ प्रारम्भ गरेको एकसपर्ट आजको दिनसम्म आइपुग्दा एउटा शैक्षिक परामर्शको अन्तर्राष्ट्रिय ब्रान्ड बन्न सफल भएको छ, त्यसमा हामीले गर्व गरेका छौ।’
साझेदारीका लागि महत्वपूर्ण औजारनै समझदारी भएको उनले दाबी गरे। ‘अहिले म अर्को व्यवस्थापनमा लागेको छु, बद्रिजीले एक्सपर्ट हेर्नुहुन्छ। हामीबीचको सहमतीनै सफलताको अर्को औजार हो’, उनले भने, ‘विधि र प्रविधिमा विश्वास गर्ने हामीले आजसम्म कुनै असहज परिस्थितिको सामना गर्नुपरेको छैन।’
सम्भावनाका खोजीमा परदेसिएको भन्दै उनले हिजोका दिनमा भोगेको संघर्ष र साँचेका अनुभवलाई संगालेर यस पेशा रोजेका अर्का सञ्चालक बद्री अर्यालले भने। ‘दुई दशक अगाडि हाम्रो पालामा हामीले भोग्नुपरेको नियती र रोज्नु परेको आँटोमा नयाँ पीढी हिँडनु र भोग्नु नपरोस् भन्ने हाम्रो मान्यता हो’, एक्सपर्टका निर्देशक अर्यालले भने, ‘नेपालबाट आएपछि कता जाने, के गर्ने र काम खोज्ने कि पढाइ रोज्ने जस्ता विषयमा अप्ठयारो थियो तर अहिले नेपालमै बसेर पनि विध्यार्थीले यहाँको अवस्था र व्यवस्थाका बारेमा सहजै अध्ययन गर्न र नजिकबाट बुझ्न पाएका छन्, यो नै महत्वपूर्ण विषय हो।’
शैक्षिक परामर्श पेशा गर्विलो र सम्मानित पेशा पनि हो तर यसका कमि कमजोरी पनि छन्। युवा ढुकढुकीलाई शैक्षिक व्यवस्थापनको सल्लाह सुझाव दिनु भनेको आफैंमा गन्तब्य निर्धारण गर्ने बाटो कोर्नु पनि हो। त्यसैले यसमा गम्भीर र सजग हुनु जरूरी हुने उनले बताए।
‘सही र सफल बाटो मार्गदशन गर्नु शैक्षिक परामर्शदाताको कर्तब्य पनि हो, यसमा हामी चुक्नु हुन्न। एक्सपर्टको ब्रान्ड निमार्णमा हामीले यसलाई महत्वपूर्ण मन्त्रका रुपमा ग्रहण गरेका छौ’, अर्यालले सुनाए।
अटुट साझेदारी र सफलताका विषयमा अर्यालको स्पष्ट खाका छ। एकले अर्कालाई विश्वास र भरोसा गर्नुनै साझेदारी भित्रको समझदारी हो र एक्सपर्टको सफलताको पछाडि पनि यीनै कुराले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।
सन् १९९६ को अप्रिलमा उच्च अध्ययनको सिलसिलामा सिड्नी आएका चितवनका अर्यालको अनुभव र अनुभूति पनि उस्तैउस्तै छन्। ‘ब्यापारभन्दा पहिले हामी साथी हौं। त्यसैले पनि हामीमा व्यवसायभन्दा अगाडि दोस्तीको हात र साथ छ।’
स्व. शिवप्रसाद उपाध्याय र माता शेषकुमारी अर्यालको छोरा बद्रीले आइटीको उच्च अध्ययन सकेर माइग्रेसन लमा आफूलाई अगाडि बढाएका थिए। नयाँ पेशामा आउँदा प्रारम्भका दिनमा केही अप्ठयारो हुनु सामान्य मान्छन् अर्याल।
‘सेवा र कामका बारेमा बुझाउन केही कठिन भएको थियो। तर बिस्तारै मानिसले बुझ्न थाले र आवश्यक महशुस गरे।’
श्रीमती जाना र छोरा सुयोग तथा रिसभका साथ सिड्नी बस्दै आएका बद्रीले सामाजिक क्षेत्रमा नवाजको संस्थापक उपाध्यक्षवाट यात्रा सुरू गरे।
अस्ट्रेलियाको शैक्षिक परामर्श क्षेत्रमा साझेदारीको उडान भर्दै युवा पुस्ताका यी दुई अभियन्ताले अस्ट्रेलियामा मात्र नभइ एसियामै व्यवसाय विस्तार गरेर नामसँगै मान र सम्मान पनि पाएका छन्।
सम्भावनाको खोजीमा बिदेसिएका आम नेपालीको लागि यो सिड्नीको साझेदारी अभियानको सफलताले एउटा शन्देश पनि दिएको छ। संसारको जुनसुकै कुनामा पनि शिप र शिक्षाको आर्जन गरेर मिहिनेत परिश्रम गर्ने हो भने सफलताले तपाईँलाई चुम्ने पक्का छ।