अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले उज्यालो पर्वका रूपमा रहेको दीपावलीका अवसरमा अस्ट्रेलियामा रहेका हिन्दु धर्मालम्बीलाई शुभकामना दिएका छन्।
यसअघि भारतीयको बलियो उपस्थितिका कारण दिवालीका रूपमा अस्ट्रेलियन राजनितीज्ञबीच परिचित यो पर्व विस्तारै नेपालीको दिपावलीका रूपमा सार्वजनिक हुन थालेको छ।
यसअघि अस्ट्रेलियन राजनीतिमा भारतीय प्रभावका कारण दशहरा, दिवालीका नामले परिचित हाम्रा पर्वहरू विस्तारै दशैं र दिपावलीको नाममा शुभकामना आदान प्रदान हुन थालेका छन्।
अस्ट्रेलियामा नेपाली समाजको बलियो उपस्थिति र राजनीतिमासमेत छिटपुट प्रभावको यसरी नेपाली ठेट भाषामा नेताको शुभकामना सार्वजनिक भएको हुनुपर्छ।
‘अँध्यारो रातमा, हाम्रो मनमा अँध्यारोमाथि उज्यालोको विजय, दुष्टमाथि राम्रोको जित र अज्ञानतामाथि ज्ञानको विजयको भाव रहने यो दिपावली पर्वले हामी सबैलाई अगाडि डोर्याउने छ’, प्रधानमन्त्री मोरिसनले आफ्नो शुभकामनामा भनेका छन्।
अघिल्ला वर्षमा आफू दीपावलीका विभिन्न कार्यक्रममा सरिक भएको स्मरण गर्दै उनले सन्देशमा विशेष उत्सवको आनन्द, रंग, समुदाय र खानाका बारेमा आफू परिचित रहेको उल्लेख गरेका छन्।
यस्तै केन्द्रिय अध्यागमन मन्त्री एलेक्स हकले एकता र आनन्द अनि झिलिमीलीको प्रतिकका रूपमा रहेको दिपावलीको शुभकामना ब्यक्त गरेका छन्। उनको विज्ञप्तिमा भने दिवालीनै उल्लेख छ। जुन परम्परागत रूपमा भारतीयको चाडका रूपमा उनिहरुले चिन्ने गर्छन्। हकले दिवाली पर्व हाम्रो राष्ट्रलाई समृद्ध बनाउने जीवन्त सांस्कृतिक विविधताको एउटा भाग भएको बताएका छन्।
मन्त्री हकले बडादसैंका अवसरमा भने असत्यमाथि सत्यको विजयको प्रतिकका रूपमा रहेको भन्दै तोकेरै सम्पूर्ण नेपालीको समृद्धिको कामना गरेका थिए।
उनले नेपाली पर्वका रूपमा किटान गरेरै बडादसैंको उपलक्ष्यमा अस्ट्रेलिया र विश्वभर रहेका नेपालीहरूमा मङ्गलमय शुभकामना व्यक्त गरेका थिए।
यस्तै सत्तासीन लिबरल मात्रै होइन प्रतिपक्ष लेबरका नेता एन्थोनी अल्बानिजले पनि मेलवर्नस्थीत एक शिख मन्दिरमा गएर शुभकामना आदान प्रदान गरेका थिए।
दीपावलीले एकताको सन्देश दिने गरेको भन्दै अल्बानिजले यस चाडले हिन्दु, जैन, सिख तथा केही बौद्ध धर्मावलम्बीलाई एकै सूत्रमा बाँध्ने बताए।
पछिल्लो समय नेपाली चाडपर्वमा अष्ट्रेलियन नेताले दिने शुभकामना र मान्यताले आफूलाई खुसी मिलेको एनआरएन अस्ट्रेलियाका एनएसडब्लु सचिव बिनोद कुँवरले भने। ‘यो साच्चीकै नेपाली समुदायको लागि गर्वको विषय हो, हाम्रो उपस्थिति र प्रभावले यतिबेला समुदायको चाड पर्वमासमेत महत्व पाएको महशुस भएको छ’, उनले भने।
पछिल्लो समय अष्ट्रेलियन राजनीतिज्ञले नेपालीको चाडपर्व र समुदायलाई सम्झिएको चितवन समाज अस्ट्रेलियाका अध्यक्ष पूर्णनाथ घिमिरेले बताए।
‘हिजोको दिनमा सधै अस्ट्रेलियाका राजनीतिक दलको शुभकामना दशहरा र दिवालीका रूपमा आउँथ्यो र हामीलाई नभइ मित्रराष्ट्र भारतप्रतिको सम्मान हो जस्तो लाग्थ्यो तर अहिले बकाइदा बडादशैं र दिपावलीका नाममा अस्ट्रेलियाका प्रधानमन्त्रीले शुभकामना दिँदै गर्दा हाम्रो समाजलाई सम्झेजस्तो अपनत्व महशुस भएको छ’, उनले भने।