कोभिडबाट विस्तारै तंग्रिदै गरेको अस्ट्रेलियाका विभिन्न सहरमा नेपालीले भव्य रूपमा भाइटीका मनाएका छन्।
तिहारको अन्तिम दिन शनिबार दाजुभाइ, दिदीबहिनीले एकअर्काको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै भव्य रूपमा भाइटीका मनाएका हुन्।
कोभिड माहामारीबाट बिस्तारै तंग्रिन लागेको अस्ट्रेलियामा सरकारले केही खुकुलो पारेसँगै नेपालीले त्यसको भरपुर सदुपयोग गरे। नेपालीको बाक्लो उपस्थिति रहेको सिड्नी, मेलवर्न, ब्रिसबेन, एडिलेड, पर्थ, क्यानबेरा तथा तास्मानियाजस्ता सहरमा देउसी भैलोसहित नेपालीले आफ्नो पर्व भव्य रूपमा मनाएका छन्।
सिड्नीमा नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठानले देउसी भैलो खेलेर नेपाली कला संस्कृतिको जगेर्नामा लागिपरेको बताएको छ। ‘कोभिड माहामारीबाट केही मुक्ति पाएपछि थोरै संख्यामा उपस्थित भएर हामीले केही घरमा देउसी भैलो खेल्यौं’, प्रतिष्ठानकी अध्यक्ष सुजाता बस्नेतले सेतोपाटीसँग भनिन्।
त्यस्तै सिड्नीका विभिन्न फुटबल क्लबले पनि देउसी भैलो खेलेर खेलुकद अभियानका लागि आर्थिक संकलन गरेको छ।
‘मुख्य कुरा भनेको हाम्रो चाडपर्व हो, सात समुन्द्रपारी अस्ट्रेलिया बसेर पनि त्यसलाई मनाउन पाउनु आफैंमा गर्वको विषय हो,’ ग्रानभिल फुटबल क्लबका अध्यक्ष भीम बस्नेतले भने, ‘त्यसमाथि विद्यार्थीका रूपमा अस्ट्रेलिया आएका भाइबहिनीहरूलाई चाडबाड खल्लो नहोस् भनेर हामीले यस्ता कार्यक्रम राख्दै आएका छौं।’
करिब दुई लाख हाराहारीमा रहेका नेपाली यतिखेर अस्ट्रेलियाका विभिन्न सहरमा छरिएका छन्।
‘हाम्रो तिहार झिलिमिली उज्यालोको पर्व मात्र नभई देवीदेवताका साथै गाई, गोरू, कुकुर तथा कागलाई पूजा गरेर जीवजन्तुप्रति सम्मान प्रकट गर्ने चाडका रूपमा रहेको छ,’ सञ्चारकर्मी डिल्ली ढकालले भने, ‘त्यसका साथै भाइटीका गरेर पारिवारिक सम्बन्धलाई प्रगाढ बनाउने यो महत्वपूर्ण पर्व पनि हो।’