औपचारिक सम्बन्ध स्थापना भएको ६१ वर्ष पुरा भइसक्दा पनि नेपाल र अस्ट्रेलियाबीच खासै सम्बन्ध जम्न सकेको छैन।
वैदेशिक सम्बन्ध अगाडि बढाउने क्रममा नेपालले बिपी कोइरालाको पालामा १५ फेब्रुअरी १९६० मा अस्ट्रेलियासँग औपचारिक रूपमा सम्बन्ध स्थापना गरेको थियो।
एक शताब्दी लामो आपसी सम्वन्ध र छ दशकको औपचारिक सम्वन्धमा जोडिएका यी दुई देशबीच आपसी ब्यापार र सहयोगमा ठूलो फड्को मार्न सकेको छैन। अस्ट्रेलिया नेपाली विद्यार्थीका लागि उच्च शिक्षा अध्ययन गर्ने पहिलो रोजाइ बन्दै गर्दा शैक्षिक उद्योगमार्फत अर्बौं नेपाली रूपैया अस्ट्रेलिया भित्रिरहेको छ। तर अस्ट्रेलियन सरकारले भने ‘असएड’ अन्तर्गत एउटा झिनो सहयोगबाहेक नेपाललाई अरू खासै सहयोग गरेको छैन।
६३ हजार नेपाली विद्यार्थी अध्ययन गर्ने र लाखौं नेपाली बसोबास गर्ने अस्ट्रेलिया नेपाल र नेपालीको लागि महत्वको विषय बनेको छ। यसरी इतिहासभन्दा बर्तमानमा महत्वपूर्ण नाता गाँसिएको नेपाल र अस्ट्रेलियाबीचको कुटनीतिक सम्बन्ध झन झन कमजोर हुँदै गएको देखिन्छ।
आवासीय राजदूतावास स्थापना भएको पनि १४ बर्ष बितिसकेको छ। तर पनि दुई देशबीच एउटा पनि उच्चस्तरीय वार्ता हुन सकेको छैन। स-साना भेटघाटमै सिमित कुटनीति विगतको जति गर्बिलो बन्न सकेको छैन। हिजोका दिनमा राजा महेन्द्र अष्ट्रेलियाको राजकीय भ्रमणमा आउँदा दुई वटा हवाइजहाज नेपालले सहयोग पाएको थियो।
अहिले अर्बौंको आर्थिक स्रोतका रूपमा रहेको शिक्षा उद्योगका लागि नेपालले तेस्रो ठूलो संख्यामा अन्तर्राट्रिय विद्यार्थी अष्ट्रेलिया भित्र्याउँदा अष्ट्रेलियाले भने २० औं वर्षदेखि खाइपाइ आएको असएडको दुई मिलियन डलर सहयोगलाई बढाउन सकेको छैन।
संख्यात्मक रूपमा बलियो बन्दै गएको नेपाली समाज र कुटनीतिक सम्वन्धलाई जोडेर आपसी सहयोगलाई गर्विलो र मलिलो बनाउने बेला आएको कुटनीतिक क्षेत्रका पण्डितहरू बताउँछन्।
नेपाली विद्यार्थीका लागि आकर्षणको केन्द्र बनेको लाखौं नेपाली बसोबास गर्दै आएको अष्ट्रेलियामा हाम्रो कुटनीतिक सम्वन्ध आपसी सहयोगभन्दा राजनीतिक खिचातानिमै अलमलिएको छ।
कृषि कामदार, वर्किङ होलीडे भिसा र अन्य आपसी सहयोगका कयैन सम्भावनाका पाटा केलाउन नसक्दा हाम्रो कुटनीति दूतावासको भवन र आफ्ना मान्छेको चयनमै अड्किएको छ। नियुक्त भएका राजदूत पनि राजनीतिक भागबण्डाको शिकार हुँदा बीचमै फिर्ता बोलाउनेजस्ता कामले हाम्रो परराष्ट्र नीतिको कमजोरी छर्लङ्ग पारेको छ।
सन् १९१५ मा प्रथम विश्वयुद्वको समयमा बेलायती सेनाको गोर्खा रेजिमेन्टमार्फत टर्कीको गलीपोलीमा गोर्खाली सिपाहीले अस्ट्रेलिया र न्युजिल्यान्डका पक्षमा लडाइ लडेका थिए। दुई देशबीचको आपसी सम्वन्धको साइनो त्यतिबेलादेखिनै जोडिएको इतिहास छ।
अहिले पनि गलीपोली युद्वको सम्झनामा अस्ट्रेलियाले मुलुकभर मनाइने परेडमा गोर्खा सैनिकलाई विशेष महत्व दिँदै आएको छ। अर्थात पहिलो विश्वयुद्वमा नेपाली बहादुर गोर्खा सेनाको साथ अष्ट्रेलियाले भुलेको छैन।
अस्ट्रेलियाका तत्कालीन प्रधानमन्त्री रोबर्ट गोर्डन मेन्जिसले दिल्लीस्थित अस्ट्रेलियन राजदूत वाल्टर रसेल क्रकरलाई नेपालमा समेत गैरआवासीय राजदूतको जिम्मेवारी दिइएको घोषणा गरेर औपचारिक सम्वन्ध स्थापीत गरेको इतिहासमा देखिन्छ।
राणाकालमा नै भारतमा कुटनीतिक नियोग रहेका विभिन्न मुलुकका कुटनीतिक अधिकारीले नेपाल भ्रमण गर्ने क्रममा दिल्लीस्थित अस्ट्रेलियाली राजदूत आइभिन गिफार्ड म्याके १९४८ को अप्रिलमा नेपाल भ्रमणमा गएका थिए। सम्भवतः नेपाली भूभागमा पहिलो पाइला टेक्ने अस्ट्रेलियालीमा अस्ट्रेलियन राजदूत आइभिन गिफार्ड दम्पत्ती हुन्।
अस्ट्रेलियासँग नेपालको औपचारिक सम्बन्ध स्थापना नहुँदै सन् १९५४ यता नेपाललाई कोलम्बो प्लानअन्तर्गत नेपाली विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको थियो।
विभिन्न विधाका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएर अस्ट्रेलियामा तालिम तथा पढ्ने अवसर प्रदान गरेर नेपालको जनशक्ति विकासमा अस्ट्रेलियाले उतिबेलैदेखि सहयोग गर्दै आएको थियो। तर अहिले सो सहयोगलाई पनि निरन्तरता दिन सकिएको छैन।
अस्ट्रेलियाले नेपालमा तत्कालै राजदूत खटाएको भए पनि नेपालले भने त्यसको ६ वर्षपछि मात्र गैरआवासीय राजदूत खटायो। सन् १९६५ को जुलाईमा नेपालले जापानमा दूतावास स्थापना गरेर १९६६ बाट जापानकै राजदूतले अस्ट्रेलियामासमेत हेर्ने जिम्मेवारी पाए।
१६ मार्च १९६६ का दिन अस्ट्रेलियाका तत्कालीन विदेशमन्त्री पल ह्याजलकले अस्ट्रेलियाका लागि नेपालले पहिलो राजदूतमा भरतराज राजभण्डारीलाई नियुक्त गरेको जानकारी गराउँदै नेपालको निर्णय स्वागत गरे। ३० मार्च १९६६ का दिन अस्ट्रेलियाका नवनियुक्त नेपाली राजदूत भरतराज राजभण्डारीले अस्ट्रेलियाका तत्कालीन गभर्नर जनरल रिचर्ड केसीसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका थिए।
सन् १९७१ को अप्रिलमा राजा महेन्द्रले अस्ट्रेलियाको राजकीय भ्रमण गरेर दुई देशबीचको सम्वन्धलाई प्रगाढ बनाउने काम गरेका थिए। त्यतिबेला अस्ट्रेलियाले दुई वटा साना विमान नेपाललाई सहयोग स्वरुप प्रदान गरेको थियो। जुन भ्रमणको उपलब्धि थियो।
त्यसपछि सन् १९८५ को सेप्टेम्बरको पहिलो साता राजा वीरेन्द्रले पनि अस्ट्रेलियाको राजकीय भ्रमण गरे। ठूलो दलबल र ध्वजाबाहक विमानमा आएका उनले अस्ट्रेलियामा रहँदा क्यानबेरा, ब्रिस्बेन र मेलबर्नलगायतका क्षेत्रको भ्रमण गरेका थिए।
नेपालले भने लामो समयपछि सम्वन्ध बिस्तारको आवश्यकता महशुस गर्दै अस्ट्रेलियाको राजधानी क्यानबेरामा मार्च २००७ मा मात्र नेपाली दूतावास स्थापना गर्यो। अस्ट्रेलियाका लागि पहिलो नेपाली आवासीय राजदूत भने योगेन्द्र ढकाल हुन्।
सन् २०१६ नोभेम्बरमा नेपालका तत्कालीन परराष्ट्रमन्त्री प्रकाशशरण महतले अस्ट्रेलिया भ्रमण गरेका थिए। सोही भ्रमणका क्रममा उनले अस्ट्रेलियन समकक्षीसँग भेटर्वार्ता गरेका थिए। उक्त भेटवार्ता पनि निजीस्तरमै सम्पन्न भएको थियो।
सम्बन्ध स्थापनाको पछिल्लो ६१ वर्षमा दुवै मुलुकका तर्फबाट हालसम्म औपचारिक मन्त्रीस्तरीय तथा प्रधानमन्त्रीस्तरमा औपचारिक भ्रमणसमेत हुन सकेको छैन।
दुई लाखको हाराहारीमा नेपाली बसोबास गर्दै आएको अस्ट्रेलियासँग नेपालको कुटनीतिक सम्वन्ध विद्यार्थीको ओइरो र राजनीतिक रोइलोमा अल्झिएको छ। सम्भावनाका हजार पाटाबीच कुटनितीक क्षेत्रमा विश्वासको वातावरण बनाउन नसकेको नेपालले आफ्नो परराष्ट्र नीतिलाई बलियो बनाउन अझै महत्वपूर्ण थिति बसाउन जरूरी देखिन्छ।