गैर आवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थपिएको छ ।
शनिबार राती बसेको संघको बैठकले विधानको धारा १३ को उपधारा २ अनुसार वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप्ने निर्णय गरेको प्रवक्ता डीबी क्षेत्रीले सेतोपाटीलाई जानकारी दिए।
बैठकमा अध्यक्ष कुमार पन्तले परराष्ट्र मन्त्रालयको पत्रकै कारण १० औं महाधिवेशन समयमै गर्न नसकिएको बताए। उनले मन्त्रालयकै कारण वर्तमान कार्यसमितिले आफ्नो म्याद थप्न बाध्य भएको भन्दै आगामी नोभेम्बर ३० भित्र संघको निर्वाचन गर्ने बताए।
यस्तै बैठकले महाधिवेशन प्रतिनिधिका विषयमा आएका गुनासा सम्बोधन गर्न संघका पूर्वअध्यक्षसँगको परामर्शमा एक स्वतन्त्र समिति गठन गर्ने निर्णय गरेको छ।
संघका सचिव गौरी जोशीका अनुसार बैठकले निर्वाचनका लागि परराष्ट्रसँग सम्वाद र सहमतिका गर्ने निर्णयसमेत गरेको छ।
बैठकमा केन्द्रीय पदाधिकारी, सल्लाहकारसहित एक सयभन्दा बढी सदस्यले आ-आफ्ना भनाई राखेका थिए।
संरक्षक परिषद विवादमा
संघको ८० औं बैठकमा बोल्ने अधिकांश पदाधिकारीले प्रतिनिधि विवादका सम्बन्धमा संरक्षक परिषदले कार्यसमितिको अधिकारसमेत खोजेको आरोप लगाए।
‘संरक्षक परिषदलाई हामीले सहयोग मागेका थियौं तर उहाँहरुले कार्यसमितिको सम्पूर्ण अधिकार लिन खोज्नुभयो। निर्वाचित कार्यसमितिको अधिकार हनन् गर्न खोजियो,’ उनीहरुको आरोप थियो।
यसअघि संघका प्रमुख संरक्षक शेष घलेले विवाद समाधानका लागि कार्यसमितिको सम्पूर्ण अधिकार दिनुपर्ने माग गर्दै पत्र पठाएको अध्यक्ष कुमार पन्तले बैठकमा जानकारी गराएका थिए।