पछिल्लो समय सिड्नीबासीका लागि स्वतन्त्रता निकै महत्वपूर्ण बनेको छ।
करिब साढे दुई महिनादेखि रोगको डर र सरकारको करले खुम्चिएका सिड्नीबासी सरकारले प्रतीबन्ध हटाउने भएपछि निकै हर्षित देखिएका छन्।
त्यसमाथि पनि नेपालीको महान चाड दशैंको मुखमा सरकारले जारी प्रतिवन्ध फुकुवा गर्ने भएपछि नेपालीमा समेत खुसी छाएको छ। एउटै परिवार र घरभित्र सिमित भएको चाडलाई अब दुई तीन परिवारबीच रमाईलो गरेर मनाउन पाईने भएको छ।
कोरोनाविरूद्धको दुबै खोप लगाउनेको संख्या ७० प्रतिशत कटेपछि न्यु साउथवेल्स राज्य सरकारले लकडाउन खुकुलो बनाउन लागेको हो।
आउँदो सोमबार अर्थात् अक्टोबर ११ देखि ग्रेटर सिड्नीमा लकडाउनका प्रतिबन्ध हटाइने भएको छ। दुबै खोप लगाएका मानिसका लागि मात्रै यो प्रतिबन्ध खुकुलो पारिने भएको हो।
अबको तीन हप्तामा खोपको दर ८० प्रतिशत पुगेपछि प्रतिबन्ध थप खुकुलो पारिने नयाँ प्रिमियर डोमेनिक पेरोटेटले बताए।
न्युसाउथवेल्सको रिजनल एरियामा एउटा खोप लगाएको मानिस पनि काममा योग्य हुनेछ तर उसले नेभेम्बर १ तारिखभित्र दुबै खोप लगाइसक्नुपर्नेछ।
त्यस्तै अक्टोबर २५ बाट विद्यार्थीको पठन पाठन सुचारू हुनेछ। तर कक्षा ११ र केही साना कक्षा भने १८ तारिखबाट सुरू हुनेछ।
न्युसाउथवेल्स राज्यमा १६ वर्षभन्दा माथिका खोप लगाउने मानिसको संख्या ७०.३ प्रतिशत कटेको छ।
सोमबारदेखि सिड्नीबासीले यस्ता सहुलियत प्राप्त गर्नेछन्।
- घरमा बढीमा १० जनासम्म आफन्त साथीभाइ बोलाउन पाइउनेछन्। (जसमा १२ वर्षभन्दा साना बालबालिका गन्ती नहुने)
- सिमीत दूरीको यात्रा प्रतिबन्ध हटेर ग्रेटर सिड्नीभर आवतजावत गर्न पाइनेछ।
- खुल्ला स्थानमा बढीमा ३० जनासम्म भेला हुन पाइनेछ।
- बिहे र मलामीमा १ सय जनासम्म सहभागी हुन पाइनेछ।
- पौडी पोखरीहरू खुल्नेछन्।
- सार्वजनिक कार्यक्रममा (सामाजिक दुरी) सहित ५ सय जनासम्म सहभागी हुन पाइनेछ।