विसुद्ध सेवाभावमा आजभन्दा २० वर्षअघि स्थापना भएको गैर आवासीय नेपाली संघ (एनआरएनए) मा जति उमेर छिप्पिदै गयो त्यति व्यवस्थित र पद्धतिमा परिपक्क हुनुपर्ने हो। तर, स्थापनाको २ दशक पुग्नै लाग्दा परदेशका धेरै नेपाली आबद्ध भएको यो संस्था चरम विवादमा फँसेको छ। र गम्भीर मोडमा उभिएको छ।
आफ्नो उद्देश्य अनुसार चल्नुपर्नेमा नेतृत्व हडप्ने हानथापमा रस्साकस्सी भइरहँदा एनआरएनए माथि नै गम्भीर शंकाहरु उब्जिरहेका छन्। हरेक २ वर्षमा हुने नेतृत्व परिवर्तनको महाधिवेशन ताका अचाक्लि विवाद मात्रै हुदैनन् । एनआरएनए संस्थाप्रति नै विश्वास घट्दै गएको पाइन्छ।
पछिल्लो समय हातमा गन्ने र मान्ने केही ब्यक्तिको साथमा गैर आवासीय नेपाली संघको तालाचाबी छ। यद्यपी एनआरएनमा संस्थापक अध्यक्ष उपेन्द्र महतोदेखि कुमार पन्तको नेतृत्वसम्म आउँदा यसको सामाजिकरण र फैलावटलाई भने सबैले स्वीकारेका छन्।
विश्वभर छरिएका नेपालीबीच विश्वासिलो साझा संस्था बन्दै गर्दा यसको तालाचाबी केही सिमित ब्यक्तिको हातमा सिमित रह्यो। कोही नेतृत्वमा आए केही विधि बसाएर गए, तर कोहीले भने यसलाई आफ्नो अंशियारझैं बनाए।
निश्वार्थ रूपमा परोपकारी भावनाको नेतृत्व लिँदैगर्दा यसलाई कसैले मन र धनको बहका रूपमा अगाडि सारे। कसैले नाम र कामसँगै राम्राभन्दा हाम्रालाई अगाडि ल्याउने कामको प्रारम्भ गरे।
कुरा स्पष्ट छ, जसले संस्था र एनआरएन भावनालाई मन मुटुमा राखे तिनले यसलाई सबैको हात समातेर एकसाथ अगाडि बढ्ने प्रयास गरे। अरू केहीले यसलाई आफ्नो व्यक्तिगत अभियान र धन अनि व्यवसायको जोड घटाउका लागि चलाए। यसकै पेरिफेरिमा रूमल्लीयो-एनआरएन अभियान र संस्थागत संरचना।
चुनावी मैदानमा कुन समूह कुन संरक्षकको निगाह र विग्रहमा बाँडिएका छन् भन्ने अहिले हेर्दैमा प्रष्ट हुन्छ।
केही नेतृत्वकर्ता त महाधिवेशन प्रतिनिधिसमेत बन्न पाएका छैनन्। कोही सबै हात एकै साथ भन्दै धर्मकर्ममा लागेका छन्। कोही कोही आफैं रडाका मच्चाएर आफैं मिलाउने प्रयाससमेत गरिरहेका छन्। अर्थात, धमिलो पानीमा माछा मार्ने प्रयास गर्नुनै उनीहरूको वास्तविकता हो।
लिगेसी अर्थात, उत्तराधिकारी खोज्ने काममा उनीहरूको रडाकोले यति बिघ्न पिरोलेको छ कि, उनीहरूको जुँगाको लडाई र संस्थामा बल मिच्याई तल्लो तहका पञ्जीकृत सदस्यलाई पत्तै हुँदैन। यति मात्र होइन, अहिले मैदानमा देखिएका पात्रले विधान मिचुन् या आफूखुसी गरून् पछाडिको निर्देशन उनीहरूकै हुन्छ।
धनसँगै मनका पनि महान उपाधि पाएका केही स्वार्थपरक व्यक्तिकै अगाडि पछाडि एनआरएन घुमेको छ। अहिले देखिएको एनआरएनको महाधिवेशनमा कतिपय समूह उनीहरूकै इशारामा चलिरहेका देखिन्छन्। पछिल्लो समय पोर्चुगलमा भएको भिडन्त र अमेरिकामा देखिएको उद्दण्ड यसका केह उदाहरण मात्रै हुन्। तर वास्तविकता भनेको लाखौं सदस्यबाट उठ्ने सहयोगी रकम र परोपकारी भावनाले एनआरएन कर्म चलेको छ।
लगानीका हिसाबले व्यक्तिगत पाँचतारे होटल र बैंकभन्दा मध्यमस्तरका जनताका योजनानै मुलुकको हितका खातिर महत्वपूर्ण सावित भए। तर पनि गुटको राजनीति र हठको खेतीले एनआरएनलाई गाँजेको छ।
संस्थागत बिसंगतीका बिउ रोपिँदै गर्दा राष्ट्रिय समन्वय परिषदले पनि आईसीसीलाई हेप्न र खेप्न सुरू गरिसकेको छ। संस्थाको विधि विधानलाई ठाडो चुनौती दिने र सदस्यता शुल्कसमेत नतिर्ने काम भइरहेका छन्। यस्तो काम पनि ठूला र नेतृत्वमा हालीमुहाली गर्ने मुलुकमै बढी देखिएको छ।
यसको सोझो अर्थ हुन्छ, यी काम पनि कसैको इशारामै भएका छन्। अर्थात, संस्थामा राम्रा होइन हाम्रा मान्छे कसरी बनाउने भन्ने खेलको उपजका रूपमा यसलाई लिइएको छ।
हरेक संस्थामा विवाद हुँदा, विधि विधान मिचिँदा त्यसलाई सहमति र छलफल पछि निरूपण गर्ने कार्यसमिति हुन्छ। तर गल्ती भएका कतिपय मुद्दालाई सिधै संरक्षक समितिमा लगेर बल मिच्याईँ गर्दा यसले थप चलखेल गर्ने वातावरण श्रृजना गर्छ। जसले पुनः राम्रा होइन हाम्रालाई कसरी जिताउने खिचातानीबीच संस्थालाई अनिर्णयको बन्दी बनाउने कामले निरन्तरता पाउँछ।
परोपकारी अभियानमा लागेर आशन ग्रहण र भाषण गर्न पल्केका एक हुल ब्यापारी अहिले गैर आवासीय नेपाली संघको नेतृत्व लडाईँमा मारामारी गर्दैछन्। झट्ट हेर्दा देखिने कुरा यहीँ नै हो। तर पर्दा पछाडिको खेल भने फरक कोणबाट सोच्नुपर्ने हुन्छ।
अन्तर्राष्ट्रिय क्षेत्रमा एउटा विश्वाशिलो साझोदार संस्थाका रूपमा दरिँदै आएको प्रवासी नेपालीको संस्थालाई राजनीतिले बदनाम बनाउने प्रयास गरेको छ।
लाखौं प्रवासी नेपालीको रगत पसिनाले सिँचिएको यो संगठनको इज्जत, प्रतिष्ठा बचाउने हो भने अब केही ठेकेदारको सिन्डीकेट र दलीय इन्डिकेटलाई परास्त गर्न जरूरी छ।