अस्ट्रेलियाको ब्यापारीक राजधानी सिड्नीका कोभिड प्रभावित क्षेत्रमा पछिल्लो केहि सातादेखि लागेको कर्फ्यू बुधबार रातिबाट हट्ने भएको छ ।
न्यु साउथवेल्स राज्यमा भ्याक्सीनको पहिलो मात्रा १६ वर्ष माथिका ८० प्रतिशत र दुबै मात्रा ४८ प्रतिशतले पुरा गरेपछि प्रीमियर ग्लाडीस बेरिजिक्लियनले सिड्नीको वरपरका १२ वटा प्रभावित क्षेत्रमा लगाइएको कर्फ्यू हटाइने घोषणा गरेकी हुन्।
बुधबार नियमित पत्रकार सम्मेलनमा सहभागि हुँदै राज्यकी मुख्यमन्त्री ग्लाडीस बेरिजिक्लियनले संक्रमण संख्या १२ सय ५९ भए पनि भ्याक्सीन लगाउने संख्या बढेका कारण रात्रिकालीन कर्फ्यू हटाइएको बताइन्।
सोही समयमा कोभिडका कारण न्यु साउथवेल्समा १२ जना ब्यक्तिले ज्यान गुमाएका छन्। ज्यान गुमाउने अधिकांश भ्याक्सीन नलगाएका प्रौढ ब्यक्ति रहेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाकारी दिएको छ।
न्यु साउथवेल्स राज्यमा खोपका लागि १६ वर्ष माथिका योग्य ८० प्रतिशतले खोपको पहिलो मात्रा लगाइने बताउँदै उनले कर्फ्यू भोलि बिहानदेखि हट्ने जानकारी दिएकी हुन्। ‘यदि तपाईँ ती स्थानीय क्षेत्रमा हुनुहुन्छ भने, त्यहाँ लागू हुने हरेक नियमको पालना गर्नुहोस्,’ बेरिजिक्लियनले भनिन्।
१६ वर्ष माथिका ७० प्रतिशत योग्य बासिन्दाले कोभिड–१९ विरुद्धको दुबै डोज खोप लगाइसकेपछि क्याफे, हजामको पसल र जिमहरू सीमित क्षमतामा खुल्ने व्यवस्था हुने पनि उनले बताइन्।
अबका दिनमा खोप लगाएका मानिसले मात्रै प्रवेश पाउने स्थलहरू भनेर राज्यले स्वास्थ्य आदेशहरू जारी गरिने प्रीमियर ग्लाडिसले जानकारी दिइन्। ‘म यो स्पष्ट पार्न चाहन्छु, यदि तपाईँले खोप लगाउनु भएको छैन भने तपाईँ रेस्टुरेन्ट जान पाउनुहुने छैन, क्याफे पनि छिर्न पाउनु हुनेछैन,’ उनले भनिन्।
यसैबीच भिक्टोरियामा कोरोनाभाइरस सामुदायिक संक्रमणबाट थप ४२३ नयाँ केस दर्ता भएका छन्। सोही अवधिमा राज्यमा थप दुई जनाको कोभिड–१९ संक्रमणका कारण मृत्यु भएको राज्य सरकारले जनाएको छ।