मुलुकलाई समृद्ध बनाउने अभियानमा जुटेका गैर आवासीय नेपालीको साझा संस्था एनआरएनमा यतिखेर परराष्ट्रको पत्रले आंतक मच्चिएको छ।
आगामी अक्टोबरमा महाधिवेशनको तिथिमिति तय भइसकेको अवस्थामा केही व्यक्तिको राजनीतिक अभिष्ट पुरा नहुने भएपछि उनीहरूले परराष्ट्र गुहारेका थिए।
सामाजिक तथा परोपकारी भावनामा संसारभर फैलदै गरेको संस्थामाथि पछिल्ला दिन राजनीतिक चलखेल सुरू हुँदा विवादका छिटा देखिन थालेका थिए।
संस्थाको विधिविधाननै पुरा नगरी एकलौटी ढंगले आफ्ना कार्यकर्तालाई महाधिवेशन प्रतिनधि बनाउन नपाएपछि केही व्यक्तिले परराष्ट्रलाई गुहार मागेका थिए।
विवादको चुरो कुरो के थियो भने चार ठूला राष्ट्र अमेरिका, अस्ट्रेलिया, बेलायत र जापानले प्रतिनिधि छनोट प्रकृयामा विधान मिचेर आफूखुसी गरेका थिए।
२५ प्रतिशत प्रतिनिधि छनोटमा खुला निर्वाचन नगराइ ल्याएको नामावलीलाई अन्तराष्ट्रिय समन्वय परिषदको बैठकले अमान्य घोषित गरेपछि उनीहरू एकजुट भएर यसको विरोधमा लागे।
त्यति मात्र होइन पटक पटक खुला निर्वाचन र सहमतिको समयसीमामा पनि केही पहल नभएपछि आइसीसीले यसलाई विधान ब्याख्या समितिमा पठायो। विधान ब्याख्या समितिले विधान मिचेर गरिएको यस्तो कामलाई सहमति दिएन।
तर जापान निर्वाचनको सवालमा केही प्रश्न अनुत्तरीत थिए। त्यसपछि आफ्ना करिब दुई सय प्रतिनिधिको नाम खारेजी हुने भएपछि विवादित मुलुकका मानिसलेनै निवेदन बोकेर परराष्ट्र गुहारेका थिए।
कुरोको चुरो यति मात्रै थियो तर स्वार्थले भरिएको समाजसेवा र राजनीतिक दाउपेचको मेवा खान पल्केकाले यसलाई विवादको आहालमा मुछेर आफू पदमा बहाल हुने षडयन्त्र सुरू गरेको देखिन्छ। गैर आवासीय नेपाली संघको सानो विवादमा पनि निर्वाचन प्रकृयानै रोक्ने चिठ्ठी काटेर पराराष्ट्रले पनि आफूलाई विवादमा तान्ने काम गरेको छ।
गैर आवासीय नेपाली संघ दक्षिण एसियाली मुलुकबाहेकका मुलुकमा रहेका नेपाली नागरिक तथा नेपाली मूलका विदेशी नागरिक अटाउन सक्ने गैरआवासीय नेपालीहरूको अन्तर्राष्ट्रिय सञ्जाल हो।
हालसम्म ८१ देशमा यसका राष्ट्रिय समन्वय परिषद्हरू विस्तारित छन्। यसको केन्द्रीय कार्यकारी संरचना भने अन्तर्राष्ट्रिय समन्वय परिषद् हो, जुन अन्तर्राष्ट्रिय महाधिवेशनबाट पारित नीति र कार्यक्रमलाई कार्यान्वयन गर्न निर्वाचित हुन्छ।
यस्तो परोपकारी संगठनलाई विवादमा मुछेर , राजनीतिमा घोलेर आफू ओभानो देखाउने एक हुल जत्था यतिखेर बालुवाटार र बुढानिलकण्ठको चक्कर काटिरहेका देखिन्छन्।
यसको अर्थ कांग्रेस सरकारका छ र परराष्ट्र मन्त्रालय प्रधानमन्त्री स्वंयको साथमा रहेको बेला यस्ता मुलुकलाई माया गर्ने अन्तर्राष्ट्रिय सामाजिक सन्जालमा परराष्ट्ररूपी आगो झोस्नु हुँदैन भन्ने हो।
बीपी कोइरालाको भनाईलाई उद्दृत गर्ने हो भने, ‘आफ्नै पार्टीका गलत क्रियाकलापविरूद्ध बोल्ने पार्टीका असली सीपाही हुन्’ भनेझै यस्ता गम्भीर त्रुटीमा सम्वन्धित दलका आस्थावान नेताले प्रधानमन्त्रीलाई सही सल्लाह र सुझाब दिने बेला पनि हो यो।
सीमित स्वार्थ बोकेका एक हुल मनुवाको नांगा गतिविधिले सम्पूर्ण संस्थालाई विचारको नाममा विनासतिर धकेलिरहेको नेतृत्वले बुझ्न सकेको छैन। पछिल्ला दिनमा कसैको आशनग्रहण र केहीको भजनकिर्तन र कोहीको अर्थोपार्जनका कारणले पनि एनआरएन उद्धेश्यबाट बहकिएको देखिन्छ।
राजनीतिक दलको चाहभन्दा यतिखेर केही ठुटे प्रवासी यो संस्थालाई राजनीतिक दलको दलदलमा फसाउन तल्लीन देखिन्छन्। जसको पछिल्लो परिणामस्वरूप साना तिना विवादलाई परराष्ट्रमा हुलेर राजनीतिक दलमा फूलमाला चढाउनेको हुललाई लिन सकिन्छ।
कुरो राजनीतिको पनि होइन र आस्थाको पनि होइन तर मुलक भनेपछि जुरुक्कै उठ्ने प्रवासी नेपालीको यो संगठनमा हाम्रो मात्र हाइन राम्रो पनि हुनुपर्छ भन्ने सबैको सोच हुनुपर्छ।
मुलकका हितमा लागिपर्ने सबै प्रवासी विशुद्ध नेपाली हुन्। यीनलाई राज्यले डामेर कम्युनिष्ट, कांग्रेस र माओवादी बनाउनु हुँदैन भन्ने मान्यता हो। असंख्य मानिसबीच एउटा असाधारण र अभुतपूर्व नेतृत्व जन्मन्छ र त्यसले संस्थालाई हाक्ने काम गर्छ। तर पद र प्रतिष्ठाका लागि अपनाइने यस्ता हतकन्डा, तिकडम र निकृष्ट दाउँपेचले कस्तो नेतृत्व जन्माउने हो, यो गम्भीर प्रश्न खडा भएको छ।
यस्तो प्रकरणले संस्था मुख्य उद्धेश्यवाट बिचलीत हुने हो कि, भन्ने चिन्ता र चासो बढेको छ। जुन संगठनको विधानमा राजनीतिक जोडघटाउलाई प्रतिवन्धित गरिएको छ त्यही संस्थामा खुलेआम राजनीतिक खेल प्रारम्भ भएको छ। यो सबैभन्दा चिन्ताजनक विषय हो।
‘बुढी मरीभन्दा पनि अहिले काल पल्क्यो’ भन्ने कुरामा सबैले चिन्ता र चासो ब्यक्त गर्न थालेका छन्। यसरी राजनीतिक आडमा परराष्ट्र गुहार्ने प्रचलन र यसले महाधिवेशन प्रभावित हुँदै जाने हो भने भोलिका दिनमा सबैले यसै गर्नेछन् र यो संस्था परराष्ट्रको एउटा विभागमा परिणत हुने पक्का छ।
अन्तर्राष्ट्रिय समुदायमा एउटा विश्वासिलो साझेदार र मुलुकका लागि सहयोगी संस्थाको विधिविधान र नियम नुबझी ‘निर्वाचन प्रकृया रोक्नू’ भनेर पत्र काट्ने परराष्ट्र र यसमा दाउपेच खेल्ने मनुवाहरु धृतराष्ट्र कहलिने भने पक्का छ।