गैर आवासीय नेपाली संघ (एनआरएन) को महाधिवेशन नजिकिदै गर्दा एन आरएन अष्ट्रेलियाको सहभागिताबारे अन्योल भएको छ।
राष्ट्रिय समन्वय परिषद अस्ट्रेलियाले आफ्ना पन्जिकृत सदस्यको विवरण र सदस्यता शुल्क केन्द्रमा नबुझाएसँगै सहभागितामै प्रश्न चिन्ह उठेको हो।
एनआरएन केन्द्रले पटक पटक पन्जिकृत सदस्यको विवरण र शुल्क तिर्न आग्रह गरे पनि एनआरएन अस्ट्रेलियाले अटेर गरेर सदस्यता विवरण र शुल्क बुझाएको छैन।
एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष देव गुरूङले यस विषयमा बैठकमा कुरा नउठेको भन्दै जानकारी नभएको प्रतिक्रिया दिए।
‘आइसीसीले हामीलाई संस्थाको पन्जिकृत सदस्यता विवरण र शुल्क बुझाउन ताकेता गरेको हो भने यो सरासर हाम्रो गल्ती हो। हामीले संस्थालाई अध्याविधि राख्न तुरून्तै आवश्यक पहल गर्नुपर्छ’, गुरूङले भने, ‘नयाँ कार्य समितिको पहिलो बैठक भयो तर यस्तो गम्भीर विषय उठान समेत गरिएन, यो संस्थाकै बदनामी हो।’
यसअघि र अहिलेको पनि उपाध्यक्ष भएको भन्दै गुरूङले आफूले पहिलो पटक यो कुरा थाहा पाएको बताए। ‘पहिलो बैठकमा मैले महाधिवेशन प्रतिनिधि छनोटमा भएको गल्तीको विषयमा फरक मत राखेको थिएँ’, गुरूङले भने’, तर केन्द्रको यस्तो ताकेताबारे मलाई जानकारी भएन।’
निर्वतमान महासचिव डा ज्ञानेन्द्र रेग्मीले संस्थाले समयमै सदस्यता विवरण र शुल्क नबुझाउनु सदस्यमाथिकै अन्याय र धोका भएको प्रतिक्रिया दिएका छन्।
‘हामीले सदस्यता वितरण गर्दा यसको माउ संस्थालाई पाँच डलर छुट्याएर शुल्क निर्धारण गरेको र त्यसै बमोजिम फर्ममा समेत उल्लेख गरिएकोले यो पन्ध्र हजार दुई सय सदस्यमाथि धोखा हो भन्ने मलाई लागेको छ,’ उनले भने।
कुनै पनि संस्थाले आफ्नो केन्द्रको नीति नियम पालना गर्नुपर्ने र अनुशासनमा रहनुपर्ने भए पनि यहाँ उल्टो हुन थालेको रेग्मीले बताए।
‘केन्द्रको निर्देशनलाई धोती लगाएर आफुखुसी मनपरी तबरले संस्था चलाउने प्रवृत्तिले यसको मान मर्दन मात्र भएको छैन, सारा पन्ध्र हजार सदस्यको अधिकारमाथि खेलवाड गर्ने काम समेत भएको छ’, आक्रोशित भएका रेग्मीले सेतोपाटीसँग भने।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को अक्टोबरमा हुने १० औं अन्तर्राष्ट्रिय महाधिवेशन अन्तर्गत हुने निर्वाचनका लागि आन्तरिक तयारी अन्तिम चरणमा पुगेको छ। यसैबीच अस्ट्रेलिया भने आफ्नै राप र तापमा अलमलिन पुगेको छ।
अस्ट्रेलियाको पछिल्लो परिस्थीतिबारे जानकारी गराउँदै आइसीसीका मानार्थ सदस्य डिल्ली ढकालले गैर आवासिय नेपाली संघ आफ्नो उद्देस्यवाट बिचलित भएर अराजकतातर्फ उन्मुख हुन लागेको प्रतिक्रिया दिए।
एनआरएन अस्ट्रेलियाका नवनिर्वाचित सचिब संन्ध्या शाहले पछिल्लो परिस्थितिमा आफूहरू भर्खरै निर्वाचित भएर आएको र यस विषयमा बेखबर रहेको बताइन्। ‘संस्थाको केन्द्रसँगको सम्वन्ध समुधुर हुनुपर्दछ र संस्थालाई अध्यावधि गर्ने कुरामा हामी लागि पर्नेछौ’, उनले भनिन्।
आइसीसी अन्तगर्तका राष्ट्रिय समन्वय परिषदहरुले यसको विधि बिधान र निर्देशनलाई अनुशरण गर्नुपर्ने सामान्य कुरा संस्थाले पालना गर्नुपर्ने पूर्वआइसीसी सदस्य तथा ओसेनिया संयोजकका दाबेदार दिनशराज जोशीले भने।
‘आफैं बुझ्नुपर्ने सामान्य कुरा पनि ताकेता गर्दासमेत अझसम्म सदस्यको बिवरण र शुल्क बुझाइएको छैन भने यो सरासर गलत भएको छ। यसको जिम्मेवारी नेतृत्वले लिनुपर्दछ’, जोशीले भने।
एनआरएन अस्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेलले भने सदस्यता शुल्कबाट पाँच डलर आइसीसीलाई तिर्नुपर्ने भए पनि यति ठूलो रकमको विषयमा कार्यसमितीको निर्देशन र निर्णय आएपछि पठाइने जानकारी दिए।
‘एनआरएन लोगो प्रयोग गरेर सदस्यता प्रदान गर्ने र सदस्यता विवरणमै पाँच डलर अन्तर्राष्ट्रिय समन्वय परिषदमा पठाइने उल्लेख गर्ने तर अहिलेसम्म सदस्यता विवरण र शुल्क नबुझाउनु भनेको कार्यसमितिको गलत नियत भएको एनआरएनकै निर्वतमान केन्द्रिय सदस्य पुर्णनाथ घिमिरेले बताए।
‘यो विषय हेर्दा गलत मनसायले उद्दत भएको देखिन्छ। किनभने भोलि यसै कारण अस्ट्रेलिया कारबाहीको भागिदार बन्यो भने त्यसको जिम्मा कसले लिने र यहाँबाट उठ्ने उमेद्वार र प्रतिनिधीको हालतको जिम्मेबार को हुने, यो निकै गम्भीर विषय हो’ , चितवन समाजका अध्यक्षसमेत रहेका घिमिरेले भने।
पूर्व आइसीसी सदस्य गोकुल घिमिरेले यसअघि पनि सदस्यता शुल्क नतिर्दा अस्ट्रेलिया समस्यामा परेको र सहभागि हुन नपाइने भएपछि पैसा तिरेको स्मरण गर्दै जुन पैसा जसका लागि उठाइएको हो त्यो केन्द्रमा पठाउन किन ढिलासुस्ती गरेको भनि प्रश्न गरे।
जुन उद्धेश्यका लागि पैसा उठाइएको हो त्यसमा तिर्नुपर्ने हो की होइन भनि एनआरएनका पूर्व एनएसडब्लु सह सचिव तिर्थराज कार्कीले प्रश्न गरे।
‘परोपकारी संस्थामा नेतृत्व गर्न आउने मानिसबाटै यति ठूलो बदमाशी हुनु भनेको यो अस्ट्रेलियाको नेपाली समाजमाथिकै खेलवाड हो। यसका सदस्य बनेका १५ हजार दुई सय मानिसको रगत पसिनाको कमाइबाट उठाइएको सदस्यता रकम के गर्न सन्चित गरेर राखिएको हो यो प्रश्न सोध्न मन लागेको छ’, उनले भने।
यस विषयमा एनआरएन केन्द्रका महासचिव हेमराज शर्माले आइतबारसम्म पन्जिकृत सदस्यता विवरण र शुल्क बुझाउने अन्तिम मिति तोकिएको बताए।
‘हामीले पत्राचार र पटक पटक सूचना समेत प्रकाशित गरेर जानकारी दिएका छौ, यदि उहाँहरू यसलाई अटेर गर्नुहुन्छ र कारबाहीको भागिदार बन्नुभयो भने हामी जवाफदेही हुदैनौं’, शर्माले सेतोपाटीसँग भने।