आगामी महिना माल्दिभ्समा हुने साफ च्याम्पियन्सीपको तयारीमा नेपालले आज दोस्रो अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल भारतविरूद्ध खेल्दैछ।
पहिलो खेल बराबरीमा सम्पन्न भएपछि दोस्रो खेलमा दुबै टिम जितको लागि मैदानमा उत्रनेछन्। खेल र जुवा हाम्राजस्तो मुलुकमा अवैध भए पनि विकशित पश्चिमा देशमा यो कानुनी सौदाबाजीका रुपमा रहेको पाइन्छ।
यस्तै अवैध खेल मिलेमतो प्रकरणमा नेपाली फुटबलर मुछिएर सफाइ पाएको घटना ताजै छ।
यसरी नेपाललगायत दक्षिण एसियाका कयौं देशमा अवैध मानिएको खेलकुद जुवामा नेपालीको लुकिछिपी संग्लनता बाक्लै पाइन्छ।
विराटनगरतिर पानी पर्छ कि, पर्दैन वा घाम लाग्छ कि लाग्दैन भन्ने विषयमा समेत परम्परागत बाजी लगाउने नेपालीको पुरानो प्रचलन रहेको स्थानीय केदार पोखरेलले बताउँछन्। आधुनिक जमानामा खेलकुदमा बाजी निकै ठूलो जुवाका रूपमा स्थापीत भइसकेको छ। दिनहुँ अस्ट्रेलिया, अमेरिका र युरोपियन मुलुकमा अर्बौ डलरको खेल हुन्छ खेलुकदमा।
खेलको स्तर र टिमको वरियताक्रम अनुरुप पैसाको मापन गरिन्छ। यसरी खेलको हार जितसँग जुवाको सम्वन्ध हुँदा कहिलेकाँही खेलमा यसले प्रभाव पार्ने यसका विश्लेषकको राय छ। तर पनि पश्चिमा मुलुकमा यो सरकारी मान्यता प्राप्त बेटीङका रुपमा स्थापीत भइसकेको छ। यहाँ कुनै आश्चर्यको विषय वा अवैध खेलाका रुपमा लिइँदैन।
हाम्रोजस्तो देशमा भने यो सट्टेवाज र अवैध जुवाको रुपमा रहदा लुकिछीपी अन्तर्राष्ट्रिय क्रिकेट र फुटबलमा ठूलो पैसा लगाइने गरेको छ।
क्रिकेट खेलभित्र पनि यसका हजारौ बाजीका दाउ हुने गर्छन्, प्रतिस्पर्धी टिमबीच टस कसले जित्नेदेखि सुरू हुने खेलजुवा छक्का प्रहार गर्ने खेलाडी र ओभर ओभरको प्रतिस्पर्धा अनि हार र जित त्यसपछि खेलाडीको सर्वाधिक रनसम्म रहन्छन्।
फुटबलमा भने जित हार बराबरी, मध्यान्तर अगाडिको स्कोर र मध्यान्तरपछिको स्कोर, फूल स्कोर, गोलकर्ता र अतिरिक्त समयसम्मका अनेकन बाजी राख्ने ठाउँ हुन्छन्।
आज नेपालले दोस्रो मैत्रिपूर्ण खेल भारतसँग दशरथ रंगशालामा खेल्दैछ।
अस्ट्रेलियाको एउटा ठूलो खेलकुद बेटिङ साइडले यसलाई पनि सूचीकृत गरेको छ।
पहिलो खेलमा भारतको १.५७ डलर र नेपालको हकमा ७ डलर राखेर मैत्रिपूर्ण खेलको स्थिति मूल्यांकन गरेको थियो। यदि नेपालले जितेको भए राखेको सात दोब्बर पाइन्थ्यो भने भारतले जिते एकको एक डलर सन्ताउन्न सेन्टको स्थिति थियो।
खेल बराबरीमा रहे पैसा लगाउनेले एकको साढे तीन प्राप्त गर्ने थिए। यसमा कति लगानी भयो र कसले बाजी मारे त्यो भन्न मुस्कील छ। तर पहिलो खेलमा नेपालको उत्कृष्ट प्रर्दशन पछि जुवामा पनि स्थिति सुधार आएको छ।
अहिले एकको साढे तीनको अवस्थामा नेपाली टिमको अवस्था छ। यो तर सामान्य उदाहरण हुन्। इंगलिस प्रीमियर लिग फुटबल, युरोपियन कप, विश्वकप छनोटलगायत युरोपियन लिगहरू बाजीगरका आकर्षक खेल हुन्।
त्यसो त क्रिकेट बाजीमा सर्वाधिक लगानी हुने खेलका रूपमा लिइन्छ। अस्ट्रेलियाको हकमा भने एनआरएल र एएफएल अस्ट्रेलियन ओपन टेनिस आकर्षक खेल भित्र पर्छन्।
नेपालबाट लुकिछिपी बेटिङ गर्नेका लागि हुन्डीवालाको एउटा समूह गिरोहका रुपमा सक्रिय रहेको एक भुक्तभोगी बताउँछन्।
‘यताको बेटिङ रेट हेरेर नेपालमा दश बीस सेन्टको कमिसन काटेर भाउ दिइन्छ र पैसा जम्मा गराइन्छ’, ती व्यक्तिले सेतोपाटीसँग भने, ‘सो पैसा हुन्डीमार्फत नेपालमै प्रयोगमा ल्याइन्छ। जितेको खन्डमा यताबाट हुन्डीमार्फत जम्मा गरिदिने र हारे कमिशन खाने काम गरिन्छ।’
यसरी नेपालमा अवैध खेल सट्टावाजी चलिरहेको छ। विदेशमा वैधता पाएको यो जुवाका विभिन्न मान्यताप्राप्त आधिकारीक साइटमार्फत जुनै बेलामा पनि जुनसुकै खेलमा जतिसुकै बेटिङ गर्न पाइन्छ।
यसरी हाम्रो जस्तो खेलकुद जुवालाई अवैध र अपराधिक गतिविधि मानिने नेपालमा पनि हुन्डीमार्फत बकाइदा अन्तर्राष्ट्रिय खेलुकदमा सट्टावाजी चलिरहेको छ।
सिड्नीमा लामो समयदेखि बसोबास गर्दै आएका जनसम्पर्क समितिका संस्थापक दिनेश जोशी विदेशमा यस्ता स्पोर्टस बेटिङहरू सरकारको निगरानी र करको दायरामा चल्ने भएकोले जसका लागि पनि यो खुला र वैध रहेको बताउँछन्।
‘नेपालको अवस्थामा भने यो अवैध भएकोले लुकिछीपी र अवैध बाटोमार्फत पैसा कमाउने सक्रिय रहन्छन्’, जोशीले प्रतिक्रिया दिए ।